ह्यारी केनले विश्वकप इतिहासमा व्यक्तिगत कुल गोलसंख्या १४ पुर्याएका छन् भने केलियन एमबाप्पेले विश्वकपमा २० गोल गर्दै नयाँ कीर्तिमान बनाएका छन्।
What you should know
काठमाडौँ — इंग्ल्यान्डका स्ट्राइकर ह्यारी केनले यो सिजन क्लब र राष्ट्रिय टोलीबाट ७० गोल गरिसकेका छन् । ३२ वर्षे केनको कप्तानीमा इंग्ल्यान्डले तेस्रो पटक विश्वकप खेलेको हो ।
तर यसपालि इंग्ल्यान्ड २०१८ को जस्तै सेमिफाइनलभन्दा अगाडि बढ्न सकेन । केनले २०१८ र यस विश्वकपमा ६–६ गोल गरेका छन् । उनले यो सँगै विश्वकप इतिहासमा व्यक्तिगत कुल गोलसंख्या १४ पुर्याएका छन् । उनी सर्वाधिक गोल गर्ने सूचीमा संयुक्त रूपमा पाँचौं स्थानमा छन् ।
केनको कप्तानीमा इंग्ल्यान्डले दुई पटक युरो कपको फाइनल खेलेको छ, तर इंग्ल्यान्ड दुवैमा पराजित छ । टोटनहमबाट गोलको वर्षा गर्न सुरु गरेपछि उनी सन् २०१५ मा पहिलो पटक इंग्ल्यान्ड राष्ट्रिय टोलीमा परेका थिए । केनले इंग्ल्यान्डबाट १ सय २१ खेल खेल्दै ८५ गोल गरिसकेका छन् । उनी इंग्ल्यान्डबाट सर्वाधिक गोल गर्ने खेलाडी हुन् ।
क्लब र राष्ट्रिय टोलीबाट गरी उनले ५ सय गोल गरिसके । टोटनहमबाट उनले सर्वाधिक २ सय ८० गोल गरेका छन् । उनी तीन सिजनअघि बायर्न म्युनिख लागेका थिए, जहाँ उनले ९४ खेलमा ९८ गोल गरिसकेका छन् । उनी च्याम्पियन्स लिगमा इंग्ल्यान्डबाट सर्वाधिक गोल गर्ने खेलाडी हुन् । उनको नाममा ५४ गोल छ ।
केलियन एमबाप्पे (फ्रान्स)
इंग्ल्यान्डसँग तेस्रो स्थानको प्लेअफमा खेल्दा फ्रान्सका स्ट्राइकर केलियन एमबाप्पेसँग अर्को एउटा अवसर हुनेछ, विश्वकप २०२६ को सर्वाधिक गोल गर्ने खेलाडी बन्न । एमबाप्पेले यस विश्वकपमा ८ गोल गरिसकेका छन् । उनी सर्वाधिक गोल गर्ने सूचीमा अर्जेन्टिनाका लियोनल मेसीसँगैं शीर्षस्थानमा छन् ।
तर फ्रान्स सेमिफाइनलमा स्पेनसँग पराजित भएपछि एमबाप्पेको गोलको वर्षा ओझेलमा पर्दै आएको छ । फ्रान्सलाई २०१८ मा विश्वकप उपाधि दिलाउने क्रममा एमबाप्पे ४ गोल गर्दै प्रतियोगिताको उत्कृष्ट युवा खेलाडी बनेका थिए ।
त्यतिबेला १९ वर्षे उनले पेरुविरुद्ध गोल गर्दै विश्वकपमा गोल गर्ने फ्रान्सका सबैभन्दा कान्छा खेलाडी पनि भए । उनले फाइनलमा क्रोएसियाविरुद्ध पनि गोल गरे । विश्वकप फाइनलमा गोल गर्ने पेलेपछि सबैभन्दा कम उमेरका खेलाडी भए ।
सन् २०२२ को विश्वकपमा एमबाप्पेले ८ गोल गरे, त्यसमा अर्जेन्टिनाविरुद्धको फाइनलमा गरेको ३ गोल पनि थियो । उनी विश्वकप फाइनलमा ह्याट्रिक गर्ने दोस्रो खेलाडी हुन् । विश्वकप फाइनलमा उनले ४ गोल गरिसकेका छन् ।
यस विश्वकपमा गरेको ८ गोलसहित उनले कुल २० गोल गरिसके । उनी सर्वाधिक गोल गर्ने सूचीमा मेसीको २१ भन्दा १ गोलले मात्र पछाडि छन् । २०१७ मा फ्रान्सको राष्ट्रिय टोलीबाट ‘डेब्यु’ गरेका एमबाप्पेले कुल १ सय ५ खेल खेल्दै ६४ गोल गरेका छन् । उनी फ्रान्सबाट सर्वाधिक गोल गर्ने खेलाडी हुन् ।
