अब दुवै त्यस्तो खेलका लागि तयार हुनुपर्नेछ, जुन खेललाई विश्व फुटबलमै मन नपराइएको प्रतिस्पर्धामा लिइन्छ।
What you should know
मियामी — फ्रान्स र इंग्ल्यान्ड शनिबार विश्वकप २०२६ को तेस्रो स्थानका लागि हुने खेलमा भिड्दै छन् । यो दुवै टिमका लागि प्रतियोगिताबाट उदास हुँदै बिदा लिने अवसर हुनेछ । फ्रान्सेली र इंग्लिस टिम भारी मन लिएर फ्लोरिडा आइपुगेका छन् । उनीहरूको मनमा एकै खाले पीडा रहनेछ, सेमिफाइनलमा बेहोरेको हार । एक प्रकारले दुवै टिम घाइते जस्तै छन् ।
प्रतियोगिता सेमिफाइनल चरण प्रवेश गर्दा कुनै एक टिम सबैभन्दा राम्रो थियो भने त्यो फ्रान्स नै थियो । तर यही टिम स्पेनले खडा गरेको बलियो रणनीतिसामु धराशायी हुँदै २–० ले नमज्जासँग पराजित रह्यो । इंग्ल्यान्डले भने विश्वकपमा एक अर्को बिर्सनलायक परिच्छेद लेख्नेक्रममा अर्जेन्टिनाको हातबाट २–१ को हार बेहोर्यो, त्यो पनि सुरुआती अग्रता लिएर ।
अब भने फ्रान्स र इंग्ल्यान्ड दुवैले आफ्ना खेलाडीमा बाँकी रहेको शक्तिसञ्चय गरेर आफूलाई मानसिक र शारीरिक रूपमा बलियो बनाउनुपर्नेछ । त्यस्तो खेलका लागि तयार हुनुपर्नेछ, जुन खेल विश्व फुटबलमै सबैभन्दा मन नपराइएको प्रतिस्पर्धाका रूपमा लिइन्छ । सेमिफाइनल हारलगत्तै इंग्ल्यान्डका प्रशिक्षक थोमस टचेलले भनेका थिए, ‘मलाई लाग्छ, न हाम्रो न त फ्रान्सका खेलाडीमा यो खेललाई लिएर रुचि हुनेछ ।’
उनी भन्छन्, ‘फ्रान्सको लक्ष्य फाइनल खेल्नु थियो । हामीले पनि फाइनल प्रवेशका लागि सक्दो गरेकै थियौं । सबैको उद्देश्य विश्वकप जित्नु नै हुने गर्छ, तर सबैले यस्तो अवसर पाउने गर्दैनन् । अबको खेलका लागि फ्रान्सको तुलनामा तयारीका लागि हामीले एक दिन कम पाएका छौं । तर त्यस खेललाई हामीले व्यावसायिक टिमकै रूपमा खेल्नेछौं ।’
यस खेलसँगै फ्रान्सेली प्रशिक्षकका रूपमा डिडियर डेसच्याम्पले बिदा लिँदै छन् । टचेलको जस्तै उनको पनि अहिले रणनीतिक निर्णयलाई चर्को आलोचना भइरहेको छ । यस विश्वकप सुरु हुनु अगाडि नै डेसच्याम्पले अब आफूले फ्रान्सेली टिम छाड्ने भनेर घोषणा गरिसकेका थिए । उनले फ्रान्सेली टिममा १४ वर्ष लामो समय बिताए । त्यो सफल पनि रह्यो ।
यी ५७ वर्षीय प्रशिक्षकको नेतृत्वमा फ्रान्सले सन् २०१८ मा विश्वकप जितेको थियो भने सन् २०२२ मा कतारमा भएको विश्वकपमा भने उपविजेतामै सीमित हुनुपरेको थियो । अहिले भने टिमको यात्रा अन्तिम चारसम्म रह्यो । उनले सेमिफाइनल हारपछि भनेका छन्, ‘अब हामीलाई तेस्रो स्थानका लागि खेल्नु छ । त्यसमा हामीले सक्दो राम्रो गर्ने प्रयास नै गर्नेछौं ।’
उनी थप्छन्, ‘अहिले हामी त्यो स्थितिमा छैनौं, जुन हामी चाहन्छौं । हामी अहिले निराश नै छौं । तर हामीसामु यसलाई स्वीकार्नुबाहेकका अर्को विकल्प पनि छैन । हामीले यो स्थितिमा केही पनि गर्न सक्दैनौं ।’
तेस्रो स्थानका यो खेल दुवै टिमका लागि सान्त्वना जित मात्र हुनेछ । तर यही खेल एक अर्को कारणले पनि उत्तिकै उल्लेखनीय रहनेछ । त्यो हो, गोल्डेन बुट अवार्डको होड । फ्रान्सेली कप्तान केलियन एमबाप्पे यस विश्वकपमा संयुक्त रूपमा सर्वाधिक गोलकर्ता सूचीको शीर्षमा छन् । उनीसँगै अर्जेन्टिनी कप्तान लियोनल मेसीले समान ८ गोल गरेका छन् । एमबाप्पेको उद्देश्य इंग्लिस डिफेन्सलाई तोडेर आफ्नो गोल संख्या बढाउने हुनेछ । इंग्ल्यान्डका ह्यारी केन र जुड बेलिङ्घमले पनि समान ६ गोल गरेका छन्, उनीहरू पनि लगभग बढी गोल गर्ने खेलाडी होडमै छन् ।
इंग्ल्यान्डका लागि सबैभन्दा बढी गोल गर्ने खेलाडी केनका लागि सम्भवतः यो खेल विश्वकपको अन्तिम हुन सक्नेछ । बायर्न म्युनिखका फरवार्ड यसै महिना ३३ वर्षका भए । उनले सन् २०३० को विश्वकपमा सहभागिता जनाउनेबारे आशंका रहेको छ । सेमिफाइनल हारपछि उनले आफ्नो खेल जीवनबारे बोल्न चाहेनन् । उनको तर्क थियो, ‘अहिले नै यसबारे कुरा गर्नु अलि चाँडै होला ।’
उनी भन्छन्, ‘अबका प्रत्येक वर्ष कसरी अगाडि बढ्ने हो, त्यसमा धेरैथोक निर्भर हुनेछ । मैले जति समय इंग्ल्यान्डका लागि बिताए, त्यो गर्विलो रह्यो, म सधैं खुसी नै रहें । त्यसैले मलाई लाग्छ, अहिले नै यसलाई यहाँसम्म मात्र भनेर भन्नु हुन्न ।’
अर्कोतफै एमबाप्पेका लागि विश्वकपकै सर्वाधिक गोलकर्ता हुने अवसर पनि हुनेछ । उनले विश्वकपमा समग्रमा २० गोल गरिसके । मेसीले २१ गोल गरेका छन् । दुवै टिमले खेलमा के कस्ता खेलाडी उतार्ने हो, त्यसमा पनि यी सबै समीकरण निर्भर हुनेछ । सम्भवतः इंग्ल्यान्डले आफ्नो टिममा फेरबदल गर्न सक्छ, किनभने नियमित खेल खेलका खेलाडी सबै थाकेका छन् । प्रशिक्षक टचेलले सम्भतवः कोबी माइनुलाई डेब्यु अवसर दिन सक्छन् । डेसच्याम्पले अहिलेसम्म यस विश्वकपमा नखेलेका एनगोलो कान्टेलाई मैदान उतार्न सक्छन् ।
