खेलाडीमा हरि गोले, राजीव तामाङ, दीपक हमाल, विजय सिन्जाली र सविता राई छन् । एसियाली खेलकुदकै लागि छनोट भएकी सुस्मिता तामाङ चीनमै रहेकाले त्यतैबाट टोलीसँग सहभागी हुने छिन् । प्रशिक्षकमा प्रकाश महर्जन छन् ।
काठमाडौँ — जापानको आइची/नागोयामा हुने २० औं एसियाली खेलकुदको तयारीलाई उसुको थाउलो टोलीले चीनको कुन्मिङमा प्रशिक्षण गर्ने भएको छ ।
खेलाडीमा हरि गोले, राजीव तामाङ, दीपक हमाल, विजय सिन्जाली र सविता राई छन् । एसियाली खेलकुदकै लागि छनोट भएकी सुस्मिता तामाङ चीनमै रहेकाले त्यतैबाट टोलीसँग सहभागी हुने छिन् । प्रशिक्षकमा प्रकाश महर्जन छन् ।
एसियाड टोलीबाहेक खेलाडी निमा घर्तीमगर र प्रशिक्षक नविन बस्नेत पनि टोलीसँगै चीन जानेछन् । नेपालस्थित चिनियाँ दूतावासको सहयोगमा खेलाडीलाई युनान विश्वविद्यालयमा प्रशिक्षण राख्न लागिएको नेपाल उसु महासंघका महासचिव नवराज ढुंगनाले जनाएका छन् ।
महासचिव ढुंगानाले तत्काललाई खेलाडी एक महिनाका लागि प्रशिक्षणमा राख्ने र थप एक महिनाका लागि पनि त्यही प्रशिक्षण गराउन पहल भइरहेको बताए । उनले एसियाडमा सहभागी हुने सान्सौं खेलाडीको पनि युनानमै प्रशिक्षणका लागि प्रयास भइरहेको बताए ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहता र चिनियाँ दूतावासका कन्सुलर वाङ दोङले शुक्रबार बिदाइ गरे । टोली आइतबार त्यसतर्फ जानेछ ।
सदस्य–सचिव मेहताले वैदेशिक प्रशिक्षणले खेलाडीको मनोबल उच्च बनाउने बताउँदै एसियाडमा उत्कृष्ट नतिजाका लागि शुभकामना दिए । उनले प्रशिक्षणका लागि सहजीकरण गरिदिएकामा चीन सरकारप्रति आभार प्रकट गरे ।
कन्सुलर डोङले युनान विश्वविद्यालयले विगतमा पनि नेपालसँग खेल क्षेत्रमा सहकार्य गरेको स्मरण गर्दै खेलाडीले उच्चस्तरको तालिम प्राप्त गर्ने बताए ।
