अन्तर्राष्ट्रिय फुटबलमा नेपालको औपचारिक प्रवेशको चार दशक यात्रा अधुरा सपना, ऐतिहासिक सफलता र अनेकन विवादका कथाले भरिएको छ । रुडी गुटनडफदेखि गुलिएल्मो एरेनासम्म आइपुग्दा नेपाली फुटबलले विश्वका अनेकौं कुनाबाट आएका प्रशिक्षक भोग्यो– कोही रणनीतिका बादशाह थिए, कोही मिडियाका प्रिय, कोहीचाहिँ खेलाडीसँगै भिड्ने विद्रोही ।
What you should know
काठमाडौँ — एक दिन हामी नेपाली राष्ट्रिय टिमका प्रशिक्षक गुलिएल्मो एरेनासँग ठमेलमा बसेका थियौं । त्यो कफी भेटभन्दा बढी केही थिएन । उनी भन्थे, ‘जे जति कुरा हुन्छ, त्यो मिडियामा छाप्नका लागि होइन ।’ उनी त्यसलाई नेपाली फुटबल मन पराउने दाजुभाइको भेट भन्थे । यति भन्दाभन्दै पनि उनले नेपाली राष्ट्रिय टिमलाई लिएर बनाएका आफ्ना कार्यक्रम मन लगाएर सुनाए ।
खासमा उनी पेप ग्वार्डिओलाका भक्त रहेछन् । उनको योजना रहेछ, नेपाली टिममा पनि ग्वार्डिओलाकै शैली भित्र्याउने । उनी साफ च्याम्पियनसिपको तयारी गर्न चाहन्थे । तर, त्यही बेला नेपाल फिफाको प्रतिबन्धमा पर्यो । जसरी उनी चुपचाप काठमाडौं आएका थिए, त्यसैगरी आफ्नै घर फर्के । भनिरहनु पर्दैन, उनी पक्कै निराश थिए, राष्ट्रिय टिममा केही राम्रो गर्ने योजना तुहिएको थियो ।
पछि समाचार पनि आयो, उनले आफ्नो प्रशिक्षकको जिम्मेवारी छाडेका छन् । उनको नेतृत्वमा नेपालले एकै खेल मात्रै खेल्यो र त्यसमा पनि लाओससँग पराजित रह्यो । उनी धेरै छोटो समय नेपालमा बसे । त्यसैले उनले खासै केही गर्नै पाएनन् । उनी फ्रान्सेली भाषा बोल्ने स्विस प्रशिक्षक थिए । उनीसँगै नेपाली राष्ट्रिय टिमसँग जोडिएका एक अर्को विदेशी प्रशिक्षकको कथामा पूर्णविराम लाग्यो ।
अन्तर्राष्ट्रिय फुटबलमा नेपालको औपचारिक प्रवेश चार दशकभन्दा केही लामो छ र यस क्रममा राष्ट्रिय टिमसँग जोडिएका विदेशी प्रशिक्षकको सूची बनाउने हो भने त्यो लामो हुन्छ । सन् १९८२ मा नेपालले नयाँदिल्लीमा भएको एसियाली खेलकुदबाट आफ्नो अन्तर्राष्ट्रिय यात्रा सुरु गरेको मानिन्छ र त्यसमै नेपाली टिमका प्रशिक्षक थिए, रुडी गुटनडफ ।
नेपालले पाएका यी सबैभन्दा नामी प्रशिक्षक हुन् । उनले जर्मन बुंडेसलिगा क्लबदेखि एक दर्जन राष्ट्रिय टिम सम्हाले । यिनले नै नेपालमा आधुनिक फुटबल भित्र्याएको मानिन्छ । नत्र नेपालले त्यस अघिसम्म सुनेको र हेरेको भनेकै भारतको पश्चिम बंगलातिरको फुटबल मात्रै थियो । उनीसँगै नेपाली फुटबलमा तत्कालीन पश्चिम जर्मनीको योगदानको समय सुरु हुन्छ ।
गुटनफडलगत्तै नेपालमा अर्का जर्मन प्रशिक्षक भित्रिए । उनी थिए, जोन फिगी । उनकै नेतृत्वमा हो, नेपालले सन् १९८४ मा पहिलो दक्षिण एसियाली खेलकुदमा फुटबलतर्फ स्वर्ण पदक जितेको । सन् १९८५ मा नेपालले पहिलो पटक विश्वकप छनोट खेल्दा प्रशिक्षक थिए, प्रसिद्ध जोसेफ प्याट्रिक ‘जो’ किनर । नेपालले उनी जत्तिको प्रशिक्षक पाएकै छैन र पाउने पनि छैन ।
नेपालको टिम सम्हालेको केही वर्षपछि उनले इंग्लिस प्रिमियर लिगमा न्युकासल युनाइटेडको जिम्मेवारी पनि उठाए । त्यही वर्ष नेपालले ढाकामा भएको दक्षिण एसियाली खेलकुदमा फुटबलतर्फ सहभागिता जनाउँदा प्रशिक्षक थिए, ब्राजिली सान्तोस । नेपालले पाएका दक्षिण अमेरिकातिरका उनै एक्ला प्रशिक्षक हुन् । उनी कसरी नेपाल आएका थिए भन्ने रोचक कथा छ ।
उनी प्रशिक्षकभन्दा पनि आफैं खेलाडी थिए, इस्ट बंगाल अथवा मोहन बगानमा आबद्ध हुन यतातिर ट्रायल दिन आएका थिए । तिनैलाई टिपेर प्रशिक्षक बनाइएको थियो । उनी नेपाली खेलाडीसँगै अभ्यास पनि गर्थे । सन् १९८७ मा नेपालले तत्कालीन पूर्वी जर्मनीका प्रशिक्षक पायो । उनको नाम थियो, हेन्ज योर्गन मिचेलेक ।
उनकै नेतृत्वमा नेपालले पहिलो ओलम्पिक छनोट खेलेको थियो । भनिन्छ, उनी प्रशिक्षकभन्दा पनि बढी व्यापारी थिए । उनीपछि सन् १९८९ मा नेपालले एक अर्का जर्मन प्रशिक्षक पाएको थियो । उनी थिए, रेनहार्ट फाबिच । उनको नेतृत्वमा नेपालले सन् १९८९ मा विश्वकप छनोट खेलेको थियो । उनी नै पश्चिम जर्मनीबाट आएका अन्तिम प्रशिक्षक रहे ।
सन् १९९८ मा नेपालले बैंककमा एसियाली खेलकुद खेल्दा नेपाली टिमका प्रशिक्षक थिए, दक्षिण कोरियाका यु कि ह्योङ । उनी पनि आफ्नो देशका लिजेन्ड हुन्, दक्षिण कोरियाको महिला टिम सम्हालिसकेका । उनी खेलाडीलाई असाध्यै धेरै शारीरिक पारिश्रमिक गर्न रुचाउने खालका थिए । उनी कति कडा थिए भने खेलाडीलाई साँच्चै कुट्थे ।
तर, मान्छे आफैंमा असाध्यै भलाद्मी । सन् १९९९ मा गोवामा साफ च्याम्पिनसिप खेल्दा प्रशिक्षक थिए, फ्रान्क स्टिपलर । जर्मनको एकीकरणपछि उनी नेपाल आउने उताका पहिलो प्रशिक्षक थिए । उनी पनि चुपचाप आए, चाँडै हराए पनि । सन् १९९९ मा नेपालमा आठौं दक्षिण एसियाली खेलकुद हुँदा एकदमै चर्चामा बस्न रुचाउने प्रशिक्षक आए– स्टेफन कन्स्टेनटाइन, जो नेपाली मिडियासँग बसेर मस्त गफ गर्न रुचाउँथे । उनी इंग्लिस प्रशिक्षक थिए । सम्भवतः उनी नै नेपाली मिडियासँग हेलमेल बढाउने पहिलो प्रशिक्षक थिए । नेपालबाट फर्केयता उनले भारत र पाकिस्तानदेखि रवान्डासम्मको टिम सम्हाले ।
उनकै कार्यकालमा नेपालमा फुटबल विवाद चरम उत्कर्षमा पुगेको थियो । एकातर्फ अखिल नेपाल फुटबल संघको अध्यक्ष थिए– गणेश थापा, जसलाई फिफाको मान्यता थियो । त्यही बेला अर्को समानान्तर एन्फा पनि थियो, जसले सातदोबाटोको एन्फा कम्प्लेक्सलाई पनि कब्जामा राखेको थियो । त्यस एन्फाको नेतृत्वमा थिइन्– गीता राना । त्यही अलमलबीच उनी केही समय नेपालमै रहे । पछि एकाध अवसरमा उनी फेरि नेपाल आए । त्यति बेला उनी आफ्नो काठमाडौं बसाइबारे असाध्यै चाख मानेर कुरा गर्थे ।
सन् २००५ मा कराँचीमा साफ च्याम्पियनसिप हुँदा अधिकांश खेलाडीले डेब्युको अवसर पाए र ती खेलाडी थिए– एन्फा एकेडेमीको पहिलो पुस्ता । अनि प्रशिक्षक थिए– जापानका तोसिहिरो सिवाजावा । उनी जापानबाट नेपाल आएका पहिलो प्रशिक्षक रहे । लगत्तै सन् २००६ मा नेपालले एएफसी च्यालेन्जकप खेल्दा प्रशिक्षक थिए– श्याम थापा ।
उनलाई नेपाली मान्ने कि भारतीय, त्यो आफ्नो ठाउँमा छ । उनी नेपाली फुटबल विकास गर्न भनेरै आएका थिए । तर लामो समय टिकेनन् । उनको बिदाइ कार्यक्रममा केही पत्रकार मात्रै थिए । त्यति बेला उनीसँग नेपाली फुटबललाई लिएर अनेक गुनासो थिए, आफूले सोचेजस्तो गर्न नसकेकामा अनेक दुःख पनि ।
उनीपछि आउँछन्– अन्तिम जर्मन प्रशिक्षक थोमस फ्लाथ । उनी साल्काको एकेडेमीसँग आबद्ध प्रशिक्षक थिए र पछिल्लो समय आएका सबैभन्दा माथिल्लो दर्जाका प्रशिक्षक पनि । उनले नेपाली मिडियासँग धेरै कम मात्रै हेलमेल गरे । सन् २००८ को साफ च्याम्पियन नेपालले उनकै नेतृत्वमा खेलेको थियो । त्यति बेला उनको एउटा भनाइ असाध्यै प्रख्यात रह्यो । उनी भन्थे, ‘मलाई मर्सिडिजजस्तो खेलाडी चाहिन्छ, मारुतीजस्तो होइन ।’
त्यसपछि आएका प्रशिक्षक उनको ठीक विपरीत स्वभावका थिए– असाध्यै ठूला–ठूला कुरा गर्नुपर्ने । उनी थिए, ग्राहम रोबर्ट्स । उनी नेपाल आएका मध्ये सबैभन्दा नाम चलेका खेलाडी थिए । उनी इंग्लिस क्लब टोटनहमका कप्तान थिए । उनकै नेतृत्वमा हो, टोटनहमले सन् १९८४ मा यूईएफएकप जितेको ।
सन् २०१३ मा पोल्यान्डमा जन्मेका अमेरिकी प्रशिक्षक नेपाल आए । उनको नाम थियो, ज्याक स्टेफानोस्की । उनकै समयमा हो, खेलमितो प्रकरण चलेको । यसको धेरै पछि मात्रै यसबारे जानकारी बाहिर आएको थियो । सन् २०१५ मा नेपालले एक अर्का विदेशी प्रशिक्षक पायो– प्याट्रिक असेम्स । उनकै नेतृत्वमा नेपालले साफ च्याम्पियनसिप खेल्यो ।
ओसेम्स पनि लामो समय नेपाल बसेनन् । त्यति बेला नेपाली फुटबलमा फेरि एकपल्ट विवाद चर्केको थियो, आन्तरिक द्वन्द्व चरम विन्दुमै पुगेको थियो । पछि एन्फाका अध्यक्ष रहेका गणेश थापा आफैं फिफाको दस वर्ष लामो प्रतिबन्धमा परे ।
सन् २०१६ मा एक अर्का जापानी प्रशिक्षक आए, जो असाध्यै गाह्रो मानेर अंग्रेजी बोल्थे । उनी थिए, कोजी ग्योतुकु । उनकै नेतृत्वमा हो, नेपालले एएफसी सोलिडारिटीकप जितेको । सन् २०१९ मा नेपालले योहान कालिनका रूपमा स्विडेन प्रशिक्षक पाएको थियो । उनी सुरुमा मछिन्द्र क्लब सम्हाल्न नेपाल आएका थिए, पछि राष्ट्रिय टिम नै हेर्ने अवसर पाए ।
त्यसपछि पालो आउँछ, कुवेती प्रशिक्षक अब्दुल्लाह अल्मुतेरीको । उनले सन् २०२१ देखि २०२२ सम्म नेपाली टिम हेरे । उनकै पालामा नेपालले आफूभन्दा धेरै माथिको वरीयता टिमविरुद्ध पनि खेल्यो अनि माल्दिभ्समा भएको साफ च्याम्पियनसिपमा फाइनलसम्मको यात्रा पनि तय गरेको थियो । यो नै दक्षिण एसियाली फुटबलको सबैभन्दा ठूलो प्रतियोगितामा नेपालको अहिलेसम्मको उच्च प्रदर्शन हो ।
त्यही प्रदर्शनका कारण उनी एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डमा उत्कृष्ट प्रशिक्षक पनि घोषित भए । त्यति बेला उनी भन्थे, ‘पत्रकारसँग मेरो कहिल्यै कुरा मिलेन तर तिनैले मलाई उत्कृष्ट माने ।’ उनी जति समय नेपालमा बसे, असाध्यै चर्चामा रहे । सामाजिक सञ्जालमा खुब छाउँथे । सुरुमा सबैको प्रिय हुन मन पराउँथे, पछि खेलाडी विद्रोहकै पनि सामना गर्नुपर्यो ।
उनी यसरी चुरोट खान्थे कि मानौं उनी इँटाभट्टाको चिम्नी थिए । उनी खेलाडीको विद्रोह सामना गर्ने पहिलो र एक मात्र प्रशिक्षक हुन् । उनी अनेक नाटक गरिरहन रुचाउँथे । उनीमाथि कारबाहीका लागि एन्फामा एउटा अलग्गै छानबिन कमिटी पनि बनेको थियो । त्यति बेला उनी दाबी गर्थे, ‘मलाई आफ्नो ज्यानकै सुरक्षा चाहिएको छ ।’
सुरु–सुरुमा उनी नेपाल आउँदा कप्तान किरण लिम्बूको भनाइ थियो– यी प्रशिक्षक खेलाडीका बुबाजस्तै छन्, त्यस्तै माया गर्छन् । पछि उनकै नेतृत्वमा विद्रोह हुँदा उनीहरूबीच पानी बाराबारको स्थिति रह्यो । उनी कतिसम्म ज्याद्रो थिए भने खेलाडी विद्रोहकै बेला आफ्ना दोस्रो रोजाइका खेलाडी लिएर एसियाकप छनोट खेल्न कुवेत पुगे । त्यस टिमका अधिकांश खेलाडी पुलिस, आर्मी र एपीएफका थिए ।
सन् २०२२ मा नेपालले बंगलादेशविरुद्ध मैत्रीपूर्ण फुटबल खेल्दा एउटा अनौठो अवसर जुटेको थियो । त्यस खेलमा प्रशिक्षक थिए, प्रदीप हुमागाईं । कुनै समय थ्री–स्टारका यी प्रशिक्षक पछि अमेरिका गए र उतैका भए । त्यसैले उनलाई नेपाली मूलका अमेरिकी प्रशिक्षक मान्ने कि ? उनी पनि प्रायः विवादमा परिरहने प्रशिक्षक हुन् र उनको नेपाली मिडियासँग कहिल्यै राम्रो सम्बन्ध रहेन ।
सन् २०२३ मा नेपालले बेंगलुरुमा भएको साफ च्याम्पियनसिप खेल्दा भने इटालीका प्रशिक्षक थिए, भिन्सेन्जो अल्बर्टोका रूपमा । उनी पनि लामो समय बसेनन् । उनी नेपाली टिम हेर्ने पहिलो इटालीका प्रशिक्षक थिए । लगत्तै सन् २०२५ मा नेपालले अस्ट्रेलियाली प्रशिक्षक पाए । उनी अनेक प्रयोग गर्न रुचाउने प्रशिक्षक थिए तर एन्फासँगको अनुबन्ध बीचमै छाडेर नेपाल फर्केनन् ।
उनको नेतृत्वमा नेपालले एसियाकप छनोटको तेस्रो चरण खेलेको थियो । भनिन्छ, जति बेला उनले नेपाली टिम छाड्ने निर्णय गरेका थिए, त्यति बेला उनको एन्फासँगको सम्बन्ध चिसिइसकेको थियो । उनीपछि नै हुन्, नेपालमा एरेना आएको । उनको नेपाल बसाइ पनि धेरै अर्थमा सुखद रहेन । त्यही ठमेल भेटमा उनको अन्तिम भनाइ थियो, ‘मैले नेपाली फुटबलमा केही गर्ने मौका नै मिलेन ।’
