भलिबलकी उषा अन्नपूर्ण स्पाइकर्सको एम्बासडर

सुमिरा स्पोर्ट्स भेन्चरको स्वामित्वमा रहेको अन्नपूर्ण स्पाइकर्स र आउटसाइड हिटर उषाबीच बुधबार राजधानीमा तीनवर्षे सम्झौता भएको हो ।

असार ३१, २०८३

कान्तिपुर संवाददाता

Volleyball player Usha Annapurna Spikers ambassador

काठमाडौँ — चर्चित भलिबल खेलाडी उषा भण्डारीलाई नेपाल भलिबल लिग (एनभीएल) को फ्रेन्चाइज टोली अन्नपूर्ण स्पाइकर्स किंग्सले ब्रान्ड एम्बासडर बनाएको छ ।

सुमिरा स्पोर्ट्स भेन्चरको स्वामित्वमा रहेको अन्नपूर्ण स्पाइकर्स र आउटसाइड हिटर उषाबीच बुधबार राजधानीमा तीनवर्षे सम्झौता भएको हो । सम्झौता अनुसार उषाले टोलीको प्रवर्द्धनात्मक गतिविधि र प्रचार–प्रसारमा सहयोग गर्नुका साथै अन्नपूर्ण स्पाइकर्ससँग मिलेर नेपाली भलिबलको जग (ग्रासरुट) देखि नै यसको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछिन् ।

अन्नपूर्ण स्पाइकर्सका मालिक सुबोध त्रिपाठीले उषासँगको सहकार्यले पहिलो पटक हुन लागेको पुरुष भलिबलको फ्रेन्चाइज लिगको विकासमा सहयोग पुर्‍याउने बताए ।

उनले भलिबल राष्ट्रिय खेल भएकाले नै भलिबल लिगमा पनि योगदान गर्न सकिन्छ भन्ने उद्देश्य रहेको बताए ।

उषाले पहिलो पटक पुरुष भलिबलको लिगमा आफू एम्बासडर बन्दा खुसी लागेको बताइन् । ‘पहिलो म अन्य खेल फुटबल, क्रिकेटजस्ता खेलसँग जोडिएको थिएँ । म आफू पनि गण्डकीमा जन्मिएको र गण्डकीकै टिम अन्नपूर्ण स्पाइकर्सबाट पनि सुरुमै प्र्रस्ताव आएकाले मैले स्वीकारेको हो ।’

Volleyball player Usha Annapurna Spikers ambassador

नेपाल भलिबल लिगमा गण्डकी क्षेत्रको प्रतिनिधित्व गरिरहेको अन्नपूर्ण स्पाइकर्स र तनहुँमा जन्मिएकी उषाबीचको यो सहकार्य अर्थपूर्ण रहेको बताइएको छ । भलिबलप्रेमीको बलियो पकड रहेको गण्डकी क्षेत्र र सोही क्षेत्रकी चेली उषाको आवद्धताले अन्नपूर्णको ब्रान्ड विस्तार गर्न र खेलाडीलाई ग्रासरुटमा जोडिन ठूलो मद्दत पुग्ने जनाइएको छ ।

घरेलु भलिबलमा नेपाल पुलिस क्लबबाट खेल्दै आएकी उषाले माल्दिभ्सका विभिन्न क्लबबाट समेत व्यावसायिक भलिबल खेलिसकेकी छन् । उनको ठूलो फ्यान फलोइङ छ । सन् २०१९ मा मात्र १४ वर्षको उमेरमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) बाट डेब्यु गरेकी उषाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएकी छन् ।

केडिया ग्रुपको आयोजनामा पहिलो पटक हुन लागेको ६ टोली सहभागी नेपाल भलिबल लिग भदौ पहिलो साता हुने जनाइएको छ ।  

कान्तिपुर

Link copied successfully