अर्जेन्टिना र इंग्ल्यान्ड बीचको खेललाई विश्व फुटबलले पर्खेर बसिरहेको छ । विशेषगरी लामो समयदेखिको यी दुई देशबीचको राजनीतिक तनावले फुटबलमा थप मसला हाल्ने काम गर्दै आएको छ ।
एटलान्टा — लियोनेल मेसीको अर्जेन्टिनाले विश्वकपको सेमिफाइनलमा बिहान ००:४५ मा ह्यारी केनको इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । यी दुई टोलीको खेललाई स्पेन फाइनल खेल्ने प्रतिद्वन्द्वीको रूपमा पर्खिएर बसेको छ ।
अर्जेन्टिना र इंग्ल्यान्ड बीचको खेललाई विश्व फुटबलले पर्खेर बसिरहेको छ । विशेषगरी लामो समयदेखिको यी दुई देशबीचको राजनीतिक तनावले फुटबलमा थप मसला हाल्ने काम गर्दै आएको छ ।
लियोनेल स्कालोनीको अर्जेन्टिना लगातार दोस्रो पटक विश्वकप उपाधि जित्ने दाउमा रहेको छ । यस्तो सफलता पछिल्लो पटक ब्राजिलले सन् १९६२ मा लगातार दुई पटक जितेर बनाएको थियो । मेसीको नेतृत्वमा रहेको अर्जेन्टिना सामू अहिले यस्तै अवसर आएको छ ।
मेसीको कप्तानीमा अर्जेन्टिनाले २०२२ मा कतारमा विश्वकप जितेको थियो, जति खेर त्यसलाई मेसीको अन्तिम विश्वकप हुन सक्ने भनेर अडकल काटिएको थियो । तर सबैलाई आश्चार्यमा पार्दै ३९ वर्षे मेसी अर्जेन्टिनालाई लगातार दोस्रो उपाधि दिलाउनेतर्फ अगाडी बढेका मात्र छैनन्, व्यक्तिगत रूपमा ८ गोल गरेर गोल्डेन बुट दौडको दाबेदार बनेका छन् ।
अहिले उनी अझ महत्त्वपूर्ण जिम्मेवारी निभाइरहेका छन् र अर्जेन्टिनालाई सेमिफाइनल सम्म डोर्याउनेक्रममा नकआउट चरणमा केप भार्डे र इजिप्टविरुद्ध गोल गरेका थिए । तर यसअघिको भन्दा एटलान्टामा अर्जेन्टिनासामु फरक प्रतिद्वन्द्वी रहेको छ, भलै इंग्ल्यान्डले कहिलेकाहीँमात्र चम्किलो प्रदर्शन गर्दछ ।
थोमस टुचेलको टोली धेरैमात्रामा ह्यारी केन र जुड बेलिङ्घममा निर्भर रहेको छ, इंग्ल्यान्डले यस विश्वकपमा गरेको १३ मध्ये १२ गोल यी दुईको नाममा छ । केन र बेलिङ्घम दुवैले ६–६ गोल गरेका छन् र गोल्डेन बुटको दौडमा मेसी र किलियन एमबाप्पेलाई पछ्याइरहेका छन् ।
२००२ को विश्वकप यता अर्जेन्टिना र इंग्ल्यान्ड पहिलो पटक भिडिरहेका छन् । ऐतिहासिक महत्त्व बोकेको खेल भए पनि आफूले कुनै दबाब महसुस नगरेको टुचेलले बताएका छन् । इंग्ल्यान्ड १९६६ यता पहिलो उपाधिको खोजीमा रहेको छ ।
‘मैले कुनै भार महसुस गरेको छैन,’ टुचेलले भने, ‘हामी तनाव र नर्भस महसुस गर्न सक्छौं, तर त्यो सामान्य नै हो । खेलाडीहरूले प्रतिस्पर्धा, जितको भोक र उत्साहका साथ यस खेललाई प्रतीक्षा गरिरहेको मैले पाएको छु, मलाई योचाहिँ मन परेको छ ।’ बिरामी रहेका डेक्लन राइस फिट भएको टुचेलले बताए ।
१९८२ मा इंग्ल्यान्ड र अर्जेन्टिना फोकल्यान्ड टापुका लागि युद्ध लडेका थिए, जहाँ ब्रिटिस सेनाले अर्जेन्टिनालाई पराजित गर्दै उक्त टापु आफ्नो अधिनमा राखेका थिए । अर्जेन्टिनाले उक्त पराजयका बाबजुद पनि उक्त टापु आफ्नो भएको दाबी गर्दै आएको छ ।
फोकल्यान्ड युद्धको चार वर्षपछि भने विश्व फुटबल नै तरंगित भयो, जब डिएगो म्याराडोनाले आफ्नो जादु देखाए । मेक्सिकोमा १९८६ को विश्वकपको क्वाटरफाइनलमा अर्जेन्टिना र इंग्ल्यान्ड आमनेसामने हुँदा म्याराडोनाले पहिला हातले गोल गरे, जसलाई उनी ‘भगवान्को हात’ भनेका छन् । त्यसको लगत्तै उनले एकल प्रयासमा मध्यभागबाट एक्लै बल अगाडि बढाई इंग्ल्यान्डका गोल रक्षक पिटर सिल्टनलाई कुनै मौका नदिई जुन गोल गरे, त्यसलाई विश्वकप इतिहासकै उत्कृष्ट गोल मानिन्छ ।
म्याराडोनाले नै अर्जेन्टिनालाई सो विश्वकप दिलाएका थिए । उनको ६० वर्षको उमेरमा २०२० मै निधन भइसकेको छ । अर्जेन्टिनाका मिडफिल्डर एलेक्सिस म्याकएलिस्टर वर्तमान टोलीमा म्याराडोनाको धेरै प्रभाव रहेको जनाउँछन् ।
‘डिएगोले धेरै पटक राष्ट्रका लागि प्रतिनिधित्व गरेका छन्, उनले १९८६ मा जे गरे हामी त्यो दोहोर्याउने प्रयास गर्नेछौं,’ म्याकएलिस्टरले भने । लिभरपुलका यी २७ वर्षे खेलाडी अर्जेन्टिनाले २०२२ को विश्वकप जित्दा त्यसको सदस्य थिए । म्याकएलिस्टर यो पनि मान्छन्, म्याराडोनासँग जुन स्किल थियो, त्यो अरूभन्दा अलग थियो ।
‘उनी टोलीलाई आवश्यक परेको बेला जस्तो पनि प्रदर्शन दिन सक्थे, अहिले त्यो दोहोर्याउनु असम्भव जस्तै हुन्छ, मेसीले भने म्याराडोनाले जस्तै प्रदर्शन गर्न सक्छन्,’ म्याकएलिस्टरले भने ।
स्कालोनीले युद्ध र राजनीतिसँँग कुनै सरोकार नराखी फुटबलमा उत्रिने जनाए । ‘वास्तविकता के हो भने यो फुटबल खेल हो, म यसमा सबैकुरा मिसाउन चाहँदिन, विशेष गरी धेरै अगाडि भएको कुनै घटनालाई,’ स्कोलोनीले भने, ‘हाम्रो इतिहासमा खराब समय भएको थियो, हामीले त्यस्तो केही गर्न सकेनौं, योचाहिँ फुटबल खेल हो, यथार्थ यही हो ।’
