देशका लागि खेले, संकटमा एन्फाले छाड्यो : बैंककमा न्याय पर्खिरहेका फुटबल खेलाडी आशिष राई

गत वर्ष ३ फागुन (फेब्रुअरी १५)मा दशरथ रंगशालामा चीनको प्रतिनिधि टोलीसँगको मैत्रीपूर्ण खेलको ३६ औं मिनेटमा उनको जिन्दगीको लय अचानक मोडियो । बल नियन्त्रणमा लिएर डिफेन्डरलाई छलाउँदै अघि बढ्ने क्रममा भएको ठक्करले आशिष मैदानमा ढले ।

असार ३०, २०८३

नायक पौडेल

Played for the country, left by ANFA in crisis: Football player Ashish Rai awaiting justice in Bangkok

काठमाडौँ — बाल्यकालमा बुबाले फुटबलका बुटहरू लुकाउँदा आशिष राई खालीखुट्टा रुँदै गाउँका चौरतिर दौडिन्थे । बुबा चाहन्थे- छोरो कुदिरहोस् तर खेलमैदानमा मात्र होइन, जिन्दगीको सुरक्षित बाटोमा । आशिषको मनमा भने एउटै हुटहुटी थियो- एकदिन नेपालको चन्द्र सूर्य अंकित रातो जर्सी लगाएर दशरथ रंगशालाको मैदानमा उत्रिने ।

सुनसरीको एउटा मध्यमवर्गीय परिवारमा जन्मिएका आशिषमा तरहरास्थित हिम शिखर इङ्लिस स्कुल पढ्दै गर्दा फुटबलको भोक जागेको थियो । ‘१४ वर्षको छँदा कोकाकोला कप खेलेको थिएँ,’ आशिष फुटबल यात्रा सम्झिन्छन्, ‘त्यसपछि संकटा क्लब र त्रिभुवन आर्मी क्लबबाट उमेर समूहमा पनि खेलेँ ।’

सन् २०१९ को सहिद स्मारक ‘बी’ डिभिजन लिगमा उनी टुसाल युथ क्लबको टोलीमा आबद्ध थिए । उनको टोलीले तेस्रो स्थान हासिल गर्‍यो । त्यसपछि उनले क्रमशः सन् २०२१/२२ र २०२३ को सिजनमा च्यासल युथ क्लब र न्युरोड टिम (एनआरटी) बाट ‘ए’ डिभिजन लिगको अनुभव बटुले । सन् २०२१ मा काठमाडौं रेजर्सबाट नेपाल सुपर लिग (एनएसएल) खेले । सन् २०२३ को एनएसएल सिजनका लागि उनलाई स्पोर्टिङ इलाम एफसी डी मेचीले १ लाख ३० हजार रुपैयाँमा खरिद गरेको थियो ।

गत वर्ष ३ फागुन (फेब्रुअरी १५)मा दशरथ रंगशालामा चीनको प्रतिनिधि टोलीसँगको मैत्रीपूर्ण खेलको ३६औं मिनेटमा उनको जिन्दगीको लय अचानक मोडियो । बल नियन्त्रणमा लिएर एक डिफेन्डरलाई छलाउँदै अघि बढ्ने क्रममा भएको ठक्करले आशिष मैदानमा ढले । त्यो सामान्य ठक्कर थिएन, उनको देब्रे खुट्टाको घुँडा र पाइतला जोड्ने बलियो हड्डी क्षतविक्षत भयो । निमेषमै एउटा उदीयमान खेलाडीको सुनौलो भविष्यमाथि बज्रपात भयो ।

अहिले उनी थाइल्याण्डको राजधानी बैंककस्थित एक होटलमा छन् । तर विडम्बना, उनको सपना अब देशका लागि खेल्ने वा मैदानमा फर्किने छैन । उनी सुक्सुकाउादै भन्छन्, ‘म अब मैदानमा फर्किने सोच्दा पनि सोच्दिन । मलाई त केवल सामान्य मान्छे झैं हिँड्न मन छ ।’

अस्पतालको स्ट्रेचर र एन्फाको बेवास्ता

मैदानमा खेलाडी घाइते हुनु सामान्य हो तर त्यसपछिको उपचार र व्यवस्थापनमा अखिल नेपाल फुटबल संघ (एन्फा)ले देखाएको उदासीनताले आशिषको खेल जीवन मात्र होइन, हिँड्न सक्ने क्षमतामै पूर्णविराम लगाउने जोखिम बढाएको छ ।

‘मलाई घाइते हुनासाथ ललितपुरस्थित स्टार अस्पताल पुर्‌याइयो । त्यहाँ कुनै प्राथमिक उपचार नगरी, खुट्टामा पट्टी समेत नबाँधी ४ घण्टासम्म स्ट्रेचरमै राखियो,’ उनले भने । आशिषको स्वरमा अझै त्यो दुखाइ र आक्रोश सुनिन्छ । ‘असहृ‌य पीडाले म कराउँदा पनि एन्फाका पदाधिकारी (अध्यक्ष र महासचिव) र डाक्टरहरूको फोन पर्खेर बसे । कसैले निर्णय लिन सकेनन् । पछि बी एन्ड बी अस्पताल रिफर गर्दा त्यहाँका डाक्टरहरू खुट्टाको दयनीय अवस्था देखेर अचम्मित भएका थिए,’ उनले त्यस दिनको कहालिलाग्दो घटना सम्झिए । 

त्यो सुरुवाती ढिलाइ र लापरवाहीको मूल्य आशिषले आजसम्म चुकाउँदै छन् । त्यही हेलचेक्र्याईंका कारण उनको खुट्टामा जटिलता थपियो र दोस्रो पटक शल्यक्रिया गर्नु पर्यो । एन्फाले सामाजिक सञ्जालमा ‘गेट वेल सून’ को पोस्ट त राख्यो तर होस्टेलभित्र आशिषले भोगेको त्रासदी अर्कै थियो ।

तेस्रो तलाको कोठामा बैशाखीको सहारामा बस्नुपर्ने आशिष आफैं भुइँतलाको भासामा ओर्लेर खाना बोक्न बाध्य हुन्थे । कहिले त ‘खाना पुग्दैन’ भन्नेसम्मको रुखो जवाफ पाए । जब उनले आफ्नो पीडा फेसबुकमा लेख्न थाले, एन्फाले उनको कोठाबाहिर सुरक्षागार्ड तैनाथ गरेर कसैलाई भेट्न समेत दिएन । एउटा घाइते राष्ट्रिय खेलाडीलाई आफ्नै संघले बन्दीजस्तो बनाएर राख्यो ।

बैंककको 'लावारिस’ बसाइ

चिनियाँ दूतावासको समन्वयमा चीनको युनानमा उपचार गराएपछि थप पुनर्स्थापना (रिहृयाब) लागि आशिषलाई बैंकक पठाइएको थियो । तर एक महिनादेखि एन्फाले आर्थिक सहयोग पूर्ण रूपमा रोकिदिएपछि बैंकक अस्पतालमा उनको उपचार र रिहृयाब ठप्प छ ।

एन्फाका पदाधिकारीहरू फिफाको प्रतिबन्ध र राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आन्तरिक विवादलाई देखाएर जिम्मेवारीबाट पन्छिरहेका छन् । ‘कार्यालय बन्द छ, पैसा पठाउन मिल्दैन भन्छन् तर म यहाँ कसरी बाँचिरहेको छु कसैलाई मतलब छैन,’ आशिष भन्छन् ।

थाइल्यान्डमा एक महिनाको बसाइ र बचावटका लागि मात्रै आशिषले करिब २ लाख रुपैयाँ खर्च गरिसकेका छन् । उनले नेपालका साथीभाइहरूसँग सरसापट गरेर खर्च जुटाइरेहका छन् । ‘पुराना मेडिकल बिलहरू एन्फामा बुझाउँदा कि त आधा मात्र भुक्तानी पाइयो, कि त पाइदै पाइएन । बिल बोकेर ८–९ पटक धाउँदा पनि कसैले सुनेनन् ,’ उनले भने । 

अहिले उनी बैंककको होटलको वरिपरि आफैंले सक्ने सामान्य कसरत मात्र गरिरहेका छन् । देब्रे खुट्टामा अझै मेटल प्लेट छ, औंलाहरू राम्ररी चल्दैनन् । डाक्टरले अझै एक वर्ष त्यो प्लेट राख्नुपर्छ भनेका छन् । तर रिहृयाब नै नभएपछि खुट्टा कहिले निको हुने भन्ने टुङ्गो छैन । त्यसमाथि, भिसाको म्याद थप केही दिनमा सकिँदैछ । नेपाल फर्किने कि त्यहीँ बस्ने ? उनीसँग न पैसा छ, न त कुनै बाटो ।

‘म अब न्यायका लागि लड्छु,’ उनले भने । 

सुनसरीमा रहेको उनको परिवारलाई आशिषले अझै आफ्नो अवस्थाबारे पूर्ण जानकारी दिएका छैनन् । ‘यो समाचार आएपछि मात्र उहाँहरूले थाहा पाउनुहुनेछ,’ आशिष भावुक बन्छन्, ‘पहिले नै धेरै चिन्ता गरिसक्नुभयो, म उहाँहरूलाई अझ बढी पीडा दिन चाहन्नथे ।’

नेपाल राष्ट्रिय फुटबल खेलाडी संघका अध्यक्ष विक्रम लामा आफैं पनि यस्तै गम्भीर चोटबाट गुज्रिएर मैदानमा फर्किएका खेलाडी हुन् । उनी भन्छन्, ‘मैले सहि समयमा उपचार पाएँ र फर्किएँ । तर आशिषले त्यो साथ पाएनन् । एन्फाले बहानाबाजी गरिरहेको छ । हामीले राखेपसँग गुहार मागेका छौं र नयाँ आर्थिक वर्ष सुरु भएपछि केही सहयोग हुने आशा छ ।’

राखेपका नवनियुक्त उपाध्यक्ष विशाल श्रेष्ठले पनि आशिषको अवस्थाप्रति दुःख व्यक्त गर्दै परिषद्ले दीर्घकालीन समाधान खोज्ने आश्वासन दिएका छन् । Played for the country, left by ANFA in crisis: Football player Ashish Rai awaiting justice in Bangkok

आशिषका लागि समय निकै कम छ । अब उनी चुप बस्ने मुडमा छैनन् । ‘मैले धेरै समय मौनतामा आँसु पिएँ, अब म चुप बस्दिनँ,’ आशिषले दृढतापूर्वक भने, ‘मैले देशका लागि रगत र पसिना बगाएँ र तर संकट पर्दा देशको फुटबल संस्थाले मलाई पराइ बनायो । म अब न्यायका लागि लड्नेछु । मलाई फुटबल खेल्नु छैन, मलाई त केवल आफ्नै खुट्टामा सही तरिकाले उभिनु छ ।’

रातो जर्सी पहिरिएर देश जिताउने सपना बोकेको एउटा २३ वर्षे ठिटो, आज पराई भूमिमा केवल ‘स्वतन्त्रतापूर्वक हिँड्न पाउने’ नैसर्गिक अधिकारका लागि भक्कानिइरहेको छ ।

निलम्बित एन्फाका अधिकारीहरु यो बिषयमा खुलेर बोल्न चाहदैनन् । काठमाडौं पोस्टसँगको कुराकानीमा एक अधिकारीले नाम उल्लेख नगर्न सर्तमा भने, 'हामीले  फिफाबाट प्रतिबन्ध भोग्नुअघि सकेको सहयोग गरेकै हो । प्रतिबन्धका कारण हामी सहयोग गर्न सक्ने अवस्थामा छैनौं ।' 

फिचर

नायक

Link copied successfully