विद्यालय खेलकुद व्यवस्थित गर्न ५ वर्षे सम्झौता

द्विपक्षीय सम्झौताको मुख्य उद्देश्य देशभरका हिसानमा आबद्ध उच्च माध्यमिक विद्यालय र कलेजमा संस्थागत विद्यालय खेलकुदको व्यवस्थित विकास, प्रवर्द्धन र समन्वय गर्नु रहेको एनएसएसएफले जनाएको छ ।

असार ३०, २०८३

कान्तिपुर संवाददाता

5-year agreement to organize school sports

काठमाडौँ — नेपाल स्कुल स्पोर्ट्स फेडरेसन (एनएसएसएफ) र उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) बीच ५ वर्षे सम्झौता भएको छ । यस द्विपक्षीय सम्झौताको मुख्य उद्देश्य देशभरका हिसानमा आबद्ध उच्च माध्यमिक विद्यालय र कलेजमा संस्थागत विद्यालय खेलकुदको व्यवस्थित विकास, प्रवर्द्धन र समन्वय गर्नु रहेको एनएसएसएफले जनाएको छ ।

औपचारिक समझदारी पत्रमा एनएसएसएफका केन्द्रीय अध्यक्ष विनोद श्रेष्ठ र हिसानका केन्द्रीय अध्यक्ष युवराज शर्माले हस्ताक्षर गरे । दुवै संस्थाहरू मिलेर क्षेत्रीय, प्रादेशिक र राष्ट्रियस्तरका व्यवस्थित खेलकुद प्रतियोगिताहरू आयोजना र सञ्चालन गर्ने, राष्ट्रिय खेलकुद परिषद् (राखेप)बाट आधिकारिक मान्यताप्राप्त गर्ने गरी प्रतियोगिता यू–१९ बास्केटबल च्याम्पियनसिप, एनएसएसएफ हिसान कप, हिसान कमब्याट गेम्स र  स्कुल प्रिमियर लिग आयोजना गरिनेछ ।

प्रतियोगिताबाहेक स्थानीय खेलकुद पूर्वाधारको स्तरोन्नति गर्ने, आबद्ध विद्यालयलाई आधुनिक खेल सामग्री उपलब्ध गराउने र एनएसएसएफ तथा आइएसएफ एकेडेमीको समन्वयमा खेल विज्ञान कार्यक्रम, कार्यशाला र शारीरिक शिक्षा पाठ्यक्रमहरू लागू गर्ने जनाइएको छ । ५ वर्षे साझेदारीको एक महत्त्वपूर्ण पक्ष नेपाली विद्यार्थी–खेलाडीका लागि उत्कृष्ट अन्तर्राष्ट्रिय खेल मञ्चको ढोका खोल्नु हो एनएसएसएफले जनाएको छ ।

सम्झौता कार्यक्रममा एनएसएसएफका उपाध्यक्ष मोहनकुमार कार्की, अन्तर्राष्ट्रिय स्कुल स्पोर्ट्स फेडरेसनका कार्यकारी समिति सदस्य राजकुमार कार्की, हिसानका महासचिव रामहरि सिलवाल, सीएफओ सोविनराज रेग्मी, सदस्य खड्गबहादुर थापा र पदम रानाको सहभागिता थियो ।

कान्तिपुर

Link copied successfully