अर्जेन्टिना र इंग्ल्यान्डबीच जुरेको ‘ब्लकबस्टर्स’ खेल

अर्जेन्टिना र इंग्ल्यान्डबीचको सेमिफाइनल खेल मैदानभित्र र बाहिर दुवै कारणले सनसनीपूर्ण र रोमाञ्चक मात्र होइन्, तनावपूर्ण पनि हुन सक्नेछ । मैदानभित्रको खेल त अवश्य रोमाञ्चक हुनेछ तर मैदानबाहिर भने फकल्यान्ड युद्धका बाछिटाको तनाव देखिन सक्छ ।

असार २९, २०८३

हिमेश

काठमाडौँ — विश्वकप इतिहासकै एउटा सर्वाधिक हेर्नलायक खेलका रूपमा बुधबार अर्जेन्टिना र इंग्ल्यान्ड भिड्दै छन् । विश्वकप २०२६ को यस सेमिफाइनल खेल मैदानभित्र र बाहिर दुवै कारणले सनसनीपूर्ण र रोमाञ्चक मात्र होइन्, तनावपूर्ण पनि हुन सक्नेछ ।

स्विट्जरल्यान्डलाई अन्तिम आठको खेलमा पराजित गरेपछि अर्जेन्टिना सेमिफाइनल पुगेको हो । त्यस अगाडि इंग्ल्यान्डले नर्वेलाई हराएको थियो । विश्वकप उपाधि रक्षा गर्ने अद्वितीय अवसरबाट गुज्रिरहेको अर्जेन्टिनाका लागि इंग्ल्यान्ड ठूलो तगारो रहनेछ ।

अर्जेन्टिना र इंग्ल्यान्डबीचको पारम्परिक कटु सम्बन्धका कारण पनि यी दुई देशबीचको खेल फरक रहने गरेको छ । कप्तान लियोनल मेसीले पनि आफ्नो खेल जीवनमा पहिलो पटक इंग्ल्यान्डको सामना गर्न लागेका हुन् । यी दुई टिम २१ वर्षपछि आमनेसामने हुन लागेका हुन् ।

विश्वकपमा यी दुई टिम अन्तिम पटक भिडेको सन् २००२ को विश्वकपमा हो । दुवै अवसरमा इंग्ल्यान्ड नै विजयी रहेको थियो । मैदानबाहिर दुई देशबीचको तनाव भने फकल्यान्ड युद्ध हो । सन् १९८२ मा यी दुई देश फल्कल्यान्ड टापुका लागि युद्धमा होमिएका थिए ।

अर्जेन्टिनी सैनिकले टापु नियन्त्रणमा लिएपछि इंग्ल्यान्डले आफ्ना सैनिक त्यहाँ पठाएपछि युद्ध सुरु भएको हो । अर्जेन्टिनी टिमका प्रशिक्षक लियोनल स्कोलानी भने अब हुने खेललाई राजनीतिक दृष्टिकोणबाट हेर्न नहुने मान्छन् र भन्छन्, 'यो त फुटबलको एक अर्को खेल मात्रै हो ।' उनले स्विट्जरल्यान्डविरुद्धको खेलपछि भनेका थिए, ‘यो फुटबलकै एक खेल मात्र हुनेछ, यो नै हाम्रोतर्फबाट सन्देश हो, मलाई खालि यति मात्र भन्नु छ । हामी बलियो प्रतिद्वन्द्वीविरुद्ध खेल्ने भएका छौं ।’

सन् १९८६ को विश्वकपमा अर्जेन्टिनाले क्वार्टरफाइनलमा इंग्ल्यान्डलाई हराएको ४० वर्षपछि अहिले यो खेल हुन लागेको हो । मेक्सिको सिटीमा भएको त्यस खेलमा डिएगो म्याराडोनाले इंग्ल्यान्डविरुद्ध सुरुमा हातले गोल गरेका थिए । त्यसलाई उनले ‘ह्यान्ड अफ गड’ को संज्ञा दिएका थिए । पछि उनले त्यही खेलमा विश्वकप इतिहासकै सबैभन्दा उत्कृष्ट गोल पनि गरे र अर्जेन्टिना २–१ ले विजयी रह्यो ।

त्यसयता यी दुई टिम विश्वकपमा दुई पल्ट एकअर्कोविरुद्ध खेलेका छन् । सन् १९९८ मा अर्जेन्टिना पेनाल्टी सुटआउटमा विजयी रहेको थियो भने इंग्ल्यान्डले त्यसका चार वर्षपछि बदला पनि लिएको थियो । यसपल्ट इंग्ल्यान्डसामु सन् १९६६ यता पहिलो पटक विश्वकप जित्ने अवसर पनि छ ।

-एएफपीको सहयोगमा

विश्वकप २०२६

हिमेश

Link copied successfully