दक्षिण अफ्रिकी फुटबलर एडम्सको निधन

दक्षिण अफ्रिकाबाट विश्वकप खेलेका मिडफिल्डर जेडेन एडम्सको शनिबार २५ वर्षको उमेरमा निधन भएको दक्षिण अफ्रिकी खेलकुद मन्त्री गेटोन म्याकेन्जीले बताएका छन् ।

असार २८, २०८३

एएफपी

जोहानेसबर्ग — दक्षिण अफ्रिकाबाट विश्वकप खेलेका मिडफिल्डर जेडेन एडम्सको शनिबार २५ वर्षको उमेरमा निधन भएको दक्षिण अफ्रिकी खेलकुद मन्त्री गेटोन म्याकेन्जीले बताएका छन् । म्याकेन्जीले एडम्सको निधनका कारण भने खुलाएका छैनन् । 

‘जेडेन एडम्सको निधन भएको खबर सुन्दा मलाई गहिरो आघात र मन भारी भएको छ,’ म्याकेन्जीले विज्ञप्तीमा भनेका छन्, ‘दक्षिण अफ्रिकी फुटबलले एउटा प्रतिभाशाली युवा खेलाडी गुमाएको छ ।’ अफ्रिकन फुटबल महासंघले पनि फुटबलले एउटा युवा खेलाडी गुमाएको जनाएको छ ।

शनिबार बिहान सेन्ट्रल केप टाउनको एक घरमा २५ वर्षे जेडेनको मृत शरिर फेला पारेपछि प्रहरीले त्यसको अनुसन्धान गरिरहेको छ । ‘यस घट्नामा अनुसन्धान भइरहेको छ,’ वेस्टर्न केप प्रहरी प्रवक्ता भान विकले एएफपीलाई बताए । 

उत्तर अमेरिकामा भएको विश्वकपमा एडम्सले दक्षिण अफ्रिकाबाट समूहचरणको सबै खेल खेलेका थिए । एडम्स सम्मिलित दक्षिण अफ्रिका पहिलो पटक विश्वकपको अन्तिम ३२ मा पुगेको थियो । तर नकआउट चरणमा टोली सहआयोजक क्यानडासँग पराजित भएको थियो । केहि घन्टा अघिमात्र आफ्नो हजुरआमा बितेको खबर पाए पनि एडम्सले एटलान्टमा विश्वकपको चेकविरुद्धको खेल खेलेका थिए । 

दक्षिण अफ्रिकाले २०२४ मा आइभरी कोष्टमा भएको अफ्रिका कप अफ नेसन्समा तेस्रो स्थान हात पार्दा पनि एडम्स त्यो टोलीको सदस्य थिए । केप टाउनमा जन्मिएका एडम्स स्टेलेनबोस्च एफसी एकेडेमीबाट आएका थिए । उनी पछिल्लो समय दक्षिण अफ्रिकी टोली मामेलोडी सनडाउन्सबाट क्लब फुटबल खेल्दै आएका थिए ।

विश्वकप २०२६

एएफपी

Link copied successfully