जुर्‍यो मेसीले इंग्ल्यान्डको सामना गर्ने साइत

अर्जेन्टिनाका लागि दुई सयपल्टभन्दा बढी खेलेर १ सय २५ गोल गरिसक्दा पनि मेसीले इंग्ल्यान्डको सामना गर्ने अवसर पाएकै रहेनछन् । अर्जेन्टिनाले आइतबारको क्वाटरफाइनलमा स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा हराएपछि ३९ वर्षीय मेसीसामु इंग्ल्यान्डको सामना गर्ने अवसर तयार भएको हो ।

असार २८, २०८३

रोयटर्स

कान्सास — फुटबलको मैदानमा लियोनल मेसीले गर्न नपाएको के नै बाँकी छ होला ? एउटा रहेछ । यी अर्जेन्टिनी कप्तानले अहिलेसम्म इंग्ल्यान्डको सामना नै गरेका रहेनछन्, अब त्यो साइत पनि विश्वकप २०२६ को सेमिफाइनलका रूपमा जुरेको छ । कीर्तिमान आठपल्टको बेलन डे’अर विजेताका लागि पक्कै पनि यो नयाँ अनुभव हुनेछ ।

अर्जेन्टिनाका लागि दुई सयपल्टभन्दा बढी खेलेर १ सय २५ गोल गरिसक्दा पनि मेसीले इंग्ल्यान्डको सामना गर्ने अवसर पाएकै रहेनछन् । अर्जेन्टिनाले आइतबारको क्वाटरफाइनलमा स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा हराएपछि ३९ वर्षीय मेसीसामु इंग्ल्यान्डको सामना गर्ने अवसर तयार भएको हो । मेसी स्विट्जरल्यान्डविरुद्ध भने गोल गर्न चुके ।

यस विश्वकपमा उनी गोल गर्न असफल रहेको यो नै पहिलो पटक हो तर पनि उनी गोल्डेन बुट अवार्डको बलियो प्रत्याशी रहेका छन् । समान आठ गोल गरेर मेसी र उनका फ्रान्सेली प्रतिद्वन्द्वी खेलाडी किलियन एमबापे शीर्ष स्थानमा छन् । खासमा उनीहरूबीच विश्वकप इतिहासमै सर्वाधिक गोल गर्ने खेलाडीको व्यक्तिगत प्रतिस्पर्धा पनि चलिरहेको छ ।

दक्षिण अमेरिकी फुटबल विज्ञ टिम भिकेरी त के भन्छन् भने अर्जेन्टिनाले सेमिफाइनलमा सामना गर्न खोजेको भनेकै इंग्ल्यान्ड हो । उनी भन्छन्, ‘दुई सयभन्दा बढी खेल खेलेर पनि इंग्ल्यान्डको सामना गर्न नपाउनुले मेसीको खेल जीवनमा कहाँ न्याय गर्छ र ? सबैलाई के थाहा छ भने अर्जेन्टिनाको फुटबलमा सबैभन्दा ठूलो शत्रु टिम भन्नु नै इंग्ल्यान्ड हो ।’

विश्व फुटबलमा यी दुई टिम पारम्परिक रूपमै एकअर्काको सबैभन्दा ठूलो विपक्षी टिम रहेका छन् । सन् १९८६ को विश्वकपमा इंग्ल्यान्डविरुद्ध क्वाटरफाइनलमा डिएगो म्याराडोनाले हातले गरेको गोल कसले बिर्सेको छ र ? यो ‘ह्यान्ड अफ गड’ गोल कसैका लागि प्रख्यात छ भने कसैका लागि कुख्यात । म्याराडोनाले त्यस अगाडि सन् १९८० को एउटा मैत्रीपूर्ण खेलमा पनि इंग्ल्यान्डको सामना गरेका थिए ।

त्यसको १२ वर्षपछि डेविड बेकह्यामले रातो कार्ड खाएको दुई–दुई टिमबीचको खेल पनि कम्तीमा नाटकीय थिएन । अहिले पनि इंग्ल्यान्ड र अर्जेन्टिनाबीच २१ वर्षपछि अन्तर्राष्ट्रिय फुटबलमा प्रतिस्पर्धा तय भएको छ । मेसीले १८ वर्षको उमेरमै डेब्यु गरेका थिए र त्यसपछि यी दुई टिमबीच एकैपल्ट मात्र खेल भएको छ । त्यो डेब्युको तीन महिनापछि नै सम्भव भएको थियो ।

सन् २००५ को अगस्टमा मेसीलाई अर्जेन्टिनी टिममा बोलाइएको थियो, युवा विश्वकपमा राम्रो खेलेका आधारमा । तर जेनेभामा भएको मैत्रीपूर्ण खेलमा भने मेसी अर्जेन्टिनी टिममै थिएनन् किनभने डेब्युको ३० सेकेन्डमै उनले रातो कार्ड खाएका थिए र त्यसै कारण प्रतिबन्धको स्थितिबाट गुज्रिरहेका थिए । बुडापेस्टमा भएको खेलमा भिलमोस भान्जाकको फलमा मेसीले चर्को प्रतिक्रिया दिएका थिए ।

त्यस क्रममा उनले दुवै हात हल्लाएर डिफेन्डरतर्फ प्रतिक्रिया दिएका थिए र यस्तोमा रेफ्री रहेका मार्कस मेर्कले उनलाई सिधा रातो कार्ड देखाए । मेसीबिनाको खेलमा भने इंग्ल्यान्ड ३–२ ले विजयी रहेको थियो । अर्जेन्टिनाले दुईपल्ट अग्रता लिएर पनि त्यसलाई कायम राख्न सकेको थिएन । गोरान एरिक्सनको इंग्ल्यान्डका लागि माइकल ओवेनले दुई गोल गरेका थिए । 

विश्वकप २०२६

रोयटर्स

Link copied successfully