विश्वकप २०२६ : बाँकी रहे चार पूर्वविजेता

फिफाको वरीयतामा शीर्ष चार स्थानमा रहेका टिम नै प्रतियोगिताको सेमिफाइनल पुगेका छन् ।

असार २८, २०८३

एएफपी

लस एन्जल्स — विश्वकप २०२६ मा अब चार टिम मात्र बाँकी रहे अनि चारै टिम पूर्वविजेता पनि रहे । त्यति मात्र होइन, फिफाको वरीयतामा शीर्ष चार स्थानमा रहेका टिम नै प्रतियोगिताको सेमिफाइनल पुगेका छन् ।

यस्तोमा अब यी टिमबीच खासै केही अन्तर छैन, न त एक टिमलाई बलियो प्रत्याशी मान्न सकिनेछ । यस्तै भन्छन्, इंग्लिस प्रशिक्षक थोमस टुचेल । उनी भन्छन्, ‘अब यही एक टिम बलियो छ भन्ने नै रहेन । यी टिमबीचको अन्तर भन्नु नै रौं बराबर मात्रै छ ।’

त्यसैले अबका खेलमा जसले पनि जित्न सक्नेछ । यस्तो समीकरण तयार हुनु पछाडि प्रतियोगिताको ‘ड्र’ पनि जिम्मेवार रह्यो । यसको यस्तो समीकरण थियो कि सहभागीलाई ठीक आधा भागमा विभाजन गर्दा दुवैतर्फ पूर्वविजेता समान रूपमा बाँधिएका थिए ।

अब तिनै चार टिमको वरीयताको आधारमा चर्चा गरौं ।

१. अर्जेन्टिना

अर्जेन्टिनाको प्रदर्शनले धेरैलाई दुविधामा पार्न सक्छ । यो टिमले नकआउट चरणमा खेलेका तीनै खेलमा बलियो चुनौती सामना गर्नुपरेको छ । यो अर्जेन्टिनाको कमजोर पक्ष हो कि खेलको अन्त्यतिर जित निकाल्न सक्ने खुबी ? डिफेन्डिङ च्याम्पियन टिम अलिकति उतारचढाव बेहोरेर नै सेमिफाइनलसम्म पुगेको छ । इजिप्टले त अर्जेन्टिनी टिमलाई उदार आयोजकबाट फाइदा मिल्ने गरेको आरोप पनि छ । स्विट्जरल्यान्डविरुद्ध कप्तान लियोनल मेसी गोल गर्न असफल रहे । तर त्यस खेलमा पनि पूरा टिम उनमै केन्द्रित थियो । के केहीको आरोप जस्तै फिफा मेसीको चुनौती प्रतियोगिताका अन्त्यसम्म कायम होस् भन्ने चाहन्छ त ? अब यसको उत्तर खोज्ने पालो इंग्ल्यान्डको ।

२. स्पेन

स्पेनको प्रदर्शन अहिलेसम्म त्यस्तो रहेको छैन, जसले सबैको मन जित्न सकोस् । एक प्रकारले स्पेनले हिसाबकिताब गरेर खेलिरहेको जस्तो देखिन्छ । धेरैलाई लाग्न सक्छ, स्पेनी प्रशिक्षक लुइस डे ला फुन्टेको रणनीति हो, खेल त जित्ने तर सबैको मन जित्न नखोज्ने । सायद पूर्ण फिट नरहेकै कारण लामिन यामलले अपेक्षाअनुसार खेल्न सकेका छैनन् । निको विलियमले पनि राम्रो गर्न सकेका छैनन् । तर पनि युरोपेली च्याम्पियन स्पेनको सेमिफाइनलसम्मको यात्रामा धेरै धक्का देखिन्न । केप भार्डेविरुद्धको पहिलो खेलपछि स्पेनको धेरै आलोचना त भयो तर त्यसयता स्पेन अगाडि बढेको बढ्यै छ । सायद यामलले आफ्नो उत्कृष्ट प्रदर्शन सेमिफाइनलकै लागि साँचेर राखेका छन् कि ?

३. फ्रान्स

यो विश्वकपमा सबैले एउटै टिमको प्रशंसा गरेका छन् भने त्यो फ्रान्सको हो । लगातार तेस्रोपल्ट विश्वकपको सेमिफाइनल पुगेपछि प्रशिक्षक डिडिएर डेस्याम्प्स खुसी नै छन् । तर उनले भने जस्तै सेमिफाइनल पुग्दैमा हात पर्ने केही होइन, प्रमाणित गर्न बाँकी नै पो छ । फ्रान्सको खेल भने धेरैको मन जित्ने खालको छ । सेमिफाइनलमा उसको प्रतिद्वन्द्वी स्पेन रहेको छ र यी दुईको अहिलेसम्मको यात्रा परस्परविरोधी देखिन्छ । फ्रान्स अरूभन्दा एक पाइला अगाडि देखिनुको कारण पनि सबैलाई थाहा छ र यो हो, किलियन एमबापेको लय । प्रशिक्षक डेस्याम्प्स यति भन्दै गर्दा टिमको प्रदर्शनको सबैको उत्तिकै योगदान रहेको दाबी गर्न भने बिर्सिंदैनन् ।

४. इंग्ल्यान्ड

इंग्ल्यान्डले जतिपल्ट ठूलो प्रतियोगिता खेलेको छ, उसको सामु इतिहास तेर्सिन आउने गर्छ । इंग्ल्यान्डले सन् १९६६ मा विश्वकप जितेको थियो र त्यसयता टिमले कहिले अर्को ठूलो प्रतियोगिता जित्ने हो, त्यही प्रश्न उठ्ने गर्छ । टिमको अहिलेसम्मको प्रदर्शन दुई खेलाडीमा टिकेको छ भन्दा हुन्छ । त्यसमा एक हुन्, कप्तान ह्यारी केन । अर्को भने जुड बेलिंघम । टिमका सबै गोल यिनै दुई खेलाडीले गरेका छन् भन्दा पनि हुन्छ । प्रशिक्षक टुचेल भने इंग्ल्यान्डको प्रदर्शनमा अझ सुधार आउनुपर्ने दाबी पनि गर्छन् किनभने उनी नर्वेविरुद्धको जितमा किन हो, धेरै खुसी छैनन्, उल्टै गुनासो गरिरहेका छन् । जे होस्, इंग्ल्यान्डले अर्जेन्टिनाको सामना गर्दा यो खेल यस विश्वकपकै सबैभन्दा ठूलो र महत्त्वको हुनेछ । 

विश्वकप २०२६

एएफपी

Link copied successfully