बिटल्सको ‘हे जुड’ जस्तै बेलिङ्घम

उनले दुई गोलको मद्दतले विश्वकप २०२६ मा इंग्ल्यान्डले आइतबार नर्वेलाई २–१ ले हराएका मात्र छैन, सन् २०१८ यता पहिलो पटक सेमिफाइनल पनि पुगेको छ ।

असार २८, २०८३

एपी

मायामी — जुड बेलिङ्‌घमले आफ्ना कप्तान ह्यारी केनसँग खुसीले अँगालो मार्दा इंग्लिस समर्थकले पृष्ठभूमिमा बिटल्सको कालजयी गीत गाइरहेका थिए, ‘हे जुड’ । बेलिङ्‌घमको खेल त प्रख्यात इंग्लिस गीतसँग नाचेको जस्तै रह्यो ।

उनले दुई गोलको मद्दतले विश्वकप २०२६ मा इंग्ल्यान्डले आइतबार नर्वेलाई २–१ ले हराएका मात्र छैन, सन् २०१८ यता पहिलो पटक सेमिफाइनल पनि पुगेको छ । यो प्रदर्शनसँगै यस विश्वकपमा बेलिङ्‌घमको गोल संख्या ६ पुगेको छ, केनको बराबरीमै । 

यो फ्रान्सका किलियन एमबापे र अर्जेन्टिनाका लियोनल मेसीभन्दा दुईले मात्र कम हो । नर्वेकै इर्लिङ हालान्डले पनि सात गोल गरेका छन् । तर उनी इंग्ल्यान्डविरुद्ध गोल गर्न चुके र उनको टिम पनि अन्तिम १६ मा पराजित रह्यो र अब घर फर्किंदा हुनेछ ।

१९६६ मा विश्वकप जितेको इंग्ल्यान्डसामु जहिल्यै फाइनल पुग्ने दबाब रहने गरेको छ, अब भने यही अवसरबाट एक खेल मात्र टाढा छ । सेमिफाइलनमा उसको प्रतिद्वन्द्वी पनि जबरदस्त जुरेको छ, अर्जेन्टिनाका रूपमा । नर्वेलाई हराएयता बेलिङ्‌घमले भने, ‘यो खेलका धेरै आयाम रहे । त्यसमध्ये केही प्राविधिक रहे, केही रणनीतिक । जित आफैंमा उत्कृष्ट रह्यो ।’

इंग्ल्यान्डको यो जित र प्रदर्शनमा सबै खुसी भने रहेनन् । त्यसमै एक थिए, प्रशिक्षक थोमस टुचेल । उनको भनाइ रहेको थियो, ‘आजको खेलमा हामीले आफूले आफैंलाई अप्ठ्यारो परिस्थितिमा राख्यौं । खालि नतिजाकै मात्र कुरा गर्ने हो भने यो उत्कृष्ट रह्यो किनभने हामी विश्वकपको सेमिफाइनल पुगेका छौं । तर टिमको प्रदर्शनमा भने म खुसी छैन ।’

उनको यो भनाइले एक प्रकारको सनसनी नै मच्चायो । यसैलाई स्पष्टीकरण दिने क्रममा टुचेलले पछि मिडियालाई भने, ‘इंग्ल्यान्डको प्रदर्शनमा म खुसी पनि छु, गर्व पनि महसुस गरिरहेको छु । तर सबैले के पनि बुझ्नुपर्छ भने म प्रशिक्षक हुँ र आफ्नो टिमबाट धेरै भन्दा धेरै माग राख्ने गर्छु । मलाई लाग्छ, हामीले नर्वेविरुद्ध अझ आक्रामक र तीव्र गतिमा खेल्नुपर्ने थियो ।’

आफ्ना प्रशिक्षकको भनाइमा बेलिङ्‌घम स्वयं सन्तुष्ट रहेनन् र उनले फरक प्रतिक्रिया दिए । खेल सुरु हुँदा दक्षिण फ्लोरिडामा तापक्रम ३३ सेल्सियस थियो र यस्तो मौसममा इंग्ल्यान्डले जति खेल्न सक्यो, त्यही राम्रो रहेको बेलिङ्‌घमको भनाइ थियो । त्यसैले फरक प्रतिक्रिया दिँदै उनले भने, ‘मैदानमा गएर खेल्नु गाह्रो थियो । म यस्तै परिस्थितिमा खेलेका खेलाडीकै पक्षमा छु ।’

नर्वेले ३६ औं मिनेटमा आन्द्रेस सेहरडपको गोलले अग्रता लिएको थियो र माहोल यही टिमको पक्षमा बनेको थियो । तर हालान्ड भने गोल गर्न यही खेलमा चुके र उनलाई दोस्रो हाफको अन्त्यतिर सब्स्टिच्युट पनि गरिएको थियो । नर्वेली प्रशिक्षक स्टल सोलबानेकले त्यसबारे भने, ‘हालान्डलाई निकाल्ने निर्णय गाह्रो थिएन, उनी थाकेर कमजोर भइसकेका थिए ।’

अतिरिक्त समयमा बेलिङ्‌घमले गोल गरेपछि माहोल इंग्ल्यान्डको पक्षमा गएको थियो । उनले नजिकको दूरीबाट दोस्रो गोल गरे र यसमा इंग्लिस समर्थकको खुसीको सीमा रहेन । उनको खेल हेर्न रंगशालामा डेविड बेकह्यामदेखि द रोलिङ स्टोन्सका मिक ज्यागर पनि थिए । तर बेलिङ्‌घमको प्रदर्शन भने बिटल्सको त्यही प्रख्यात गीत ‘हेड जुड’ जस्तै थियो, उनले आफ्ना समर्थकलाई निराश पारेनन् । 

विश्वकप २०२६

एपी

Link copied successfully