पहिलो सेमिफाइनलमा फ्रान्स र स्पेन भिड्ने छन् भने अर्कोमा अर्जेन्टिनाले इंग्ल्यान्डको सामना गर्नेछ ।
काठमाडौँ — जुलियन अल्भारेजले गरेको उत्कृष्ट गोलको मदतले अर्जेन्टिनाले आइतबार स्विटजरल्यान्डलाई ३–१ ले पराजित गर्दै विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । यस नतिजासँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पनि पूरा भएको छ ।
पहिलो सेमिफाइनलमा फ्रान्स र स्पेन भिड्ने छन् भने अर्कोमा अर्जेन्टिनाले इंग्ल्यान्डको सामना गर्नेछ । कानसास सिटी स्टेडियममा भएको अन्तिम आठको खेल पेनाल्टी सुटआउटतर्फ अग्रसर भएको बेला अल्भारेजले १ सय १२ औं मिनेटमा गोल गरे र टिम २–१ ले अगाडि रह्यो ।
एटलेटिको म्याड्रिडका अल्भारेजको शक्तिशाली प्रहारले स्विस पोस्टको माथिल्लो भागको सटिक दिशा तय गरेको थियो । अतिरिक्त समयको अन्त्यतिर इज्युरी समयमा लउटारो मार्टिनेजले तेस्रो गोल थपे र अर्जेन्टिनाको जित निश्चित गरे ।
यसअघि निर्धारित समयको खेल १–१ को बराबरीमा टुंगेको थियो । अर्जेन्टिनाले खेलको दसौं मिनेटमा एलेक्स म्याक एलिस्टरको गोलमा अग्रता लिएको थियो । लियोनल मेसीको कर्नरमा हेड गर्दै उनले बललाई पोस्टको दिशा दिए ।
स्विटजरल्यान्ड ६७ औं मिनेटमा बराबरी गोल फर्काउन सफल रह्यो । रिकार्डो रोड्रिग्वेजको सटिक छोटो पासमा डान एडोयले नजिकको दूरीबाट गोल गरेका हुन् । खेलको ७२ औं मिनेटमा ब्रेल एमबोलो दोहोरो पहेँलो कार्डमा मैदान छाड्न बाध्य रहे ।
यससँगै स्विटजरल्यान्ड दस खेलाडीमा सीमित रह्यो । ‘भार’ को मदतले डाइभ गरेका एमबोलोलाई दोस्रो पहेँलो कार्ड देखाइएको हो ।
