क्लोप र जर्मनीबीच ‘सम्झौता’

५९ वर्षे क्लोप हाल रेडबुल ग्रुपसँग सहकार्य गरिरहेका छन् । डीएफबीले रेडबुल ग्रुपसँग स्वीकृति लिन बाँकी छ ।

असार २८, २०८३

एएफपी

पेरिस — जर्मन फुटबल महासंघ (डीएफबी) ले जर्मन राष्ट्रिय फुटबल टोलीको प्रशिक्षक बन्न योर्गन क्लोपसँग सहमति नजिक पुगेको शनिबार जनाएको छ । ५९ वर्षे क्लोप हाल रेडबुल ग्रुपसँग सहकार्य गरिरहेका छन् । डीएफबीले रेडबुल ग्रुपसँग स्वीकृति लिन बाँकी छ ।

‘डीएफबीका अध्यक्ष बर्न्ड नेउन्ड्रोफ र उपाध्यक्ष हान्स जोचिम वाट्जकेले जर्मनीको राष्ट्रिय फुटबल प्रशिक्षकमा नियुक्त गर्ने विषयमा योर्गन क्लोपसँग शुक्रबार न्युयोर्कमा विस्तृत छलफल गरेका छन्,’ डीएफबीको प्रेस विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘यी रचनात्मक छलफलका क्रममा सम्भावित सम्झौतालाई सहमतिमा पुगिएको छ, छलफल अर्को साता पनि जारी रहनेछ । दुबै पक्ष यसमा विश्वस्त छ, क्लोप हाल रेडबुलमा कार्यरत रहेकाले यसबारेमा स्पष्ट हुन बाँकी छ, त्यसपछि स्पष्ट सहमतिमा पुग्न सकिन्छ ।’

जर्मनी विश्वकपको अन्तिम ३२ को प्रतिस्पर्धामा पाराग्वेसँग पेनाल्टी शुटआउटमा पराजित भएको केही समयपछि प्रशिक्षक जुलियन नागेल्समनले राजीनामा दिएका थिए । लिभरपुल र बोरुसिया डर्टमन्डमा सफल कार्यकाल बिताइसकेका क्लोप त्यसयता जर्मन राष्ट्रिय फुटबल टोलीको प्रशिक्षक बन्न दाबेदार रहेका छन् ।

क्लोपले २०२४ मा लिभरपुल छाडेका थिए । त्यसपछि इनर्जी ड्रिंक्स रेडबुलमा ग्लोबल फुटबलको प्रमुख भएर कार्य गरिरहेका छन् । रेडबुलअन्तर्गत अस्ट्रिया, जर्मनी, ब्राजिल, अमेरिका र जापानमा क्लब रहेका छन् । गत साता नै क्लोपले जर्मनी प्रशिक्षक बन्नका लागि आफू अझ जोसिलो भएको जनाएका थिए ।

सन् २०१४ मा ब्राजिलमा विश्वकप जितेयता जर्मनीको प्रदर्शन राम्रो हुन सकेको छैन । २०१८ मा रुस र २०२२ मा कतार विश्वकपमा जर्मनी समूह चरणबाटै बाहिरिएको थियो । जर्मनीले युरोपियन च्याम्पियनसिपमा पनि राम्रो प्रदर्शन देखाउन सकिरहेको छैन । २०२१ मा जर्मनी अन्तिम १६ मा इंग्ल्यान्डसँग तथा २०२४ मा घरेलु मैदानमा विजेता बनेको स्पेनसँग पराजित भएको थियो ।

विश्वकप २०२६

एएफपी

Link copied successfully