इंग्ल्यान्डले नर्वेको सामना गर्दै, सबैको ध्यान हालान्डमा

इंग्ल्यान्डको आत्मविश्वास पनि कम रहने छैन । उसका दुई प्रमुख खेलाडी कप्तान ह्यारी केन र जुड बेलिंघम लयमा छन् ।

असार २७, २०८३

कान्तिपुर संवाददाता

काठमाडौँ — विश्वकपमा इंग्ल्यान्डको इतिहास मात्र लामो छैन, टिम आफैंमा बलियो देखिन्छ । तर २८ वर्षपछि विश्वकप खेलिरहेको नर्वेको सामना गर्दा इंग्ल्यान्डलाई सजिलो हुने छैन नै, सबैको ध्यान पनि इर्लिङ हालान्डमा केन्द्रित हुनेछ ।

दुई टिमबीचको क्वाटरफाइनल खेल बिहान २:४५ देखि मायामी स्टेडियममा हुँदैछ । यसअघि ब्राजिललाई हराएर उत्साहित नर्वेका लागि त्यस खेलमा हालान्डले दुई गोल गरेका थिए । नर्वे पहिलो पटक क्वाटरफाइनलमा खेल्दैछ ।

हालान्डले सात गोल गरिसकेका छन् र उनी आफैं गोल्डेन बुट अवार्डको होडमा छन् । इंग्ल्यान्डको आत्मविश्वास पनि कम रहने छैन । उसका दुई प्रमुख खेलाडी कप्तान ह्यारी केन र जुड बेलिंघम लयमा छन् ।

इंग्ल्यान्डले यसअघि दस खेलाडीमा सीमित रहेर पनि मेक्सिकोलाई हराएको थियो । इंग्लिस टिमका लागि हालान्ड नयाँ खेलाडी भने रहने छैन् । उनी इंग्ल्यान्डकै म्यान्चेस्टर सिटीबाट व्यवसायिक फुटबल खेल्छन् ।

इंग्ल्यान्ड ६० वर्षयता पहिलो पटक कुनै ठूलो उपाधि जित्ने अभियानमा रहेको छ । मेक्सिकोविरूद्धको खेलमा रातो कार्ड खाएका जारेलु क्वान्सा अनुपस्थिति रहने हुनाले इंग्ल्यान्डको रक्षापंक्ति फरक स्वरूपको हुनेछ ।

अहिलेसम्म यी दुई टिमबीच १२ खेल भएको छ र त्यसमा इंग्ल्यान्डले सात जित र तीन बराबरी निकालेको छ । नर्वे भने दुई खेलमा मात्र विजयी रहेको छ । ठूलो प्रतियोगितामा यी दुई टिम भिड्न लागेको भने यो पहिलो पटक हो ।

विश्वकप २०२६

कान्तिपुर

Link copied successfully