शनिबार जावलाखेलस्थित भलिबल प्रशिक्षण केन्द्रको कोर्टमा सम्पन्न पुरुषतर्फ फाइनलमा ललितपुर महानगरपालिकाले महांकाल गाउँपालिकालाई ३–० को सेटले पराजित गर्दै च्याम्पियन बन्यो ।
What you should know
काठमाडौँ — बागमती प्रदेशस्तरीय मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगितामा ललितपुर महानगरपालिका र बेथानचोक गाउँपालिकाले उपाधि जितेका छन् ।
शनिबार जावलाखेलस्थित भलिबल प्रशिक्षण केन्द्रको कोर्टमा सम्पन्न पुरुषतर्फ फाइनलमा ललितपुर महानगरपालिकाले महांकाल गाउँपालिकालाई ३–० को सेटले पराजित गर्दै च्याम्पियन बन्यो । ललितपुरले २५–२०, २५–१५, २५–२० को जित निकाल्यो । पुरुषतर्फ माडी नगरपालिका तेस्रो स्थानमा रह्यो ।
महिलातर्फ बेथानचोक गाउँपालिकाले काठमाडौं महानगरपालिकालाई ३–१ को सेटमा पराजित गर्दै उपाधि जित्यो । बेथानचोकले पहिलो सेट २५–१६ ले आफ्नो पक्षमा पारे पनि दोस्रो सेट २१–२५ ले गुमाएको थियो । त्यसपछि तेस्रो सेट २५–२३ र चौथो सेट २५–८ ले जित्दै बेथानचोक च्याम्पियन बन्यो । महिलातर्फ ललितपुर महानगरपालिका तेस्रो स्थानमा रह्यो ।
विजेता दुवै टोलीले समान २ लाख तथा उपविजेता टोलीले एक लाख रुपैयाँ पुरस्कार प्राप्त गरे । पुरुषतर्फ ललितपुरका अशोक श्रेष्ठ र महिलातर्फ बेथानचोककी रिक्जना भोटे सर्वोत्कृष्ट खेलाडी घोषित भए । दुवैले जनही १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
महिलातर्फ उत्कृष्ट स्पाइकर काठमाडौंकी सुनिता बस्नेत, उत्कृष्ट सेटर बेथानचोककी पूर्णकला केसी, उत्कृष्ट ब्लकर काठमाडौंकी सारिका कार्की तथा उत्कृष्ट लिबेरो ललितपुरकी स्मृति राई घोषित भए । उनीहरूले जनही ५ हजार पुरस्कार पाए ।
पुरुषतर्फ उत्कृष्ट स्पाइकर महांकालका बलदेवसिंह धामी, उत्कृष्ट सेटर ललितपुरका सुवास कुँवर, उत्कृष्ट ब्लकर ललितपुरका चिरन खड्का, उत्कृष्ट सर्भर महांकालका अनिल सिंह र उत्कृष्ट लिबेरो ललितपुरका राजन दर्लामी मगर घोषित भए । उनीहरूले पनि जनही ५ हजार पुरस्कार पाए ।
विजेता टोलीका खेलाडीलाई ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, उपप्रमुख मञ्जली शाक्यलगायतले ट्रफी तथा नगद पुरस्कार प्रदान गरे ।
प्रदेशस्तरमा भलिबल खेलको विकास, खेलाडीको क्षमता अभिवृद्धि तथा स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्ने उद्देश्यले ललितपुर महानगरपालिकाको सहयोगमा जावलाखेल भलिबल प्रशिक्षण केन्द्रले प्रतियोगिता आयोजना गरेको हो ।
