विभिन्न १० खेलको तयारी प्रशिक्षणमा रहेका खेलाडी र प्रशिक्षकलाई खेल पोसाक वितरण गरिएको हो ।
काठमाडौँ — राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा रहेका खेलाडी र प्रशिक्षकलाई शुक्रबार खेल पोसाक प्रदान गरेको छ ।
विभिन्न १० खेलको तयारी प्रशिक्षणमा रहेका खेलाडी र प्रशिक्षकलाई खेल पोसाक वितरण गरिएको हो । कराते, बक्सिङ, महिला कबड्डी, महिला भलिबल, तेक्वान्दो, कुस्ती, जुडो, उसु, गल्फ र एथलेटिक्सका खेलाडी र प्रशिक्षकलाई वितरण गरियो ।
राखेपका उपाध्यक्ष विशाल श्रेष्ठ, सदस्य सिक्का सुवाल श्रेष्ठ र सदस्य पवन शाहीले उक्त पोसाक वितरण गरेका थिए । उपाध्यक्ष श्रेष्ठले विशेष तयारी प्रशिक्षण सुरु गर्नु राम्रो काम भएको बताउँदै अब खेलाडीले एसियन गेम्समा प्रमाणित गर्ने बेला आएको बताए ।
हाङझाव एसियाडकी कीर्तिमानी रजत विजेता करातेकी एरिका गुरुङले प्रशिक्षणले खेलाडीमा उर्जा थपेको बताइन् । उनले लामो अवधिको प्रशिक्षणले सजिलो महसुस भएको र एसियाली खेलकुदलाई आफूहरू तयार रहेको बताइन् ।
राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टले पाराका तेक्वान्दो, स्विमिङ, एथलेटिक्स, ब्याडमिन्टन र पावरलिफ्टिङका खेलाडीलाई पनि पोसाक वितरण गरिसकेको जानकारी गराए ।
जापानमा हुने २० औं एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अंकमा पदक हासिल गर्ने लक्ष्यसहित राखेपले १५ माघ २०८० देखि मिसन– २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षण सुरु गरेको थियो ।
