लियोनल मेसी नेतृत्वको अर्जेन्टिनाको हातबाट नाटकीय ढंगले ३–२ ले पराजित भएसँगै इजिप्ट टिम विश्वकपबाट बाहिरिइसकेको छ ।
What you should know
कायरो — लियोनल मेसी नेतृत्वको अर्जेन्टिनाको हातबाट नाटकीय ढंगले ३–२ ले पराजित भएसँगै इजिप्ट टिम विश्वकपबाट बाहिरिइसकेको छ । तर कायरोमा रहेका समर्थक टिमको प्रदर्शनप्रति गर्व गर्छन्, किनभने यो नै इजिप्टको विश्वकपमा अहिलेसम्मको सबैभन्दा राम्रो प्रदर्शन हो ।
कायरोको एक क्याफेमा अन्तिम १६ को खेल टेलिभिजनबाट हेरेका ३९ वर्षीय इस्माइल फवाज भन्छन्, ‘हामी दुःखी छौं, हाम्रो मुटु छियाछिया भएको छ तर जतिबेला टिमको प्रदर्शन फर्केर हेर्नेछौं, त्यसमा गर्व रहनेछ ।’ उनी थप्छन्, ‘टिमले आफूले सक्दो नै गरेको हो । पक्कै पनि हामी पराजित रह्यौं, तर हामीले इतिहास पनि बनाएका छौं ।’
यही विश्वकपमा इजिप्टले पहिलो पटक कुनै खेल मात्र जितेको थिएन, पहिलो पटक नै समूह चरण काटेर अगाडि बढेको थियो । यसक्रममा इजिप्टले आफ्नो फ्टबल इतिहास नयाँ ढंगले लेखेको हो । क्याफेमा खेल हेरिरहेका इजिप्टियनहरू दुई गोलको अग्रता लिँदा खुसीले झुमिरहेका थिए । खेल टुंगिँदा तिनै समर्थकको आँखामा आँसु भरिएको थियो । तर उनीहरूले विश्व च्याम्पियनविरुद्ध आफ्नो टिमको प्रदर्शनको प्रशंसा पनि गरे ।
दर्शन २७ वर्षीय फारिदा हाम्दीले भने, ‘खेल यसरी टुंगिएको हेर्न हामी कहाँ चाहन्थ्यौं र ? तर टिमले जसरी आफ्नो यात्रा तय गरेको छ, त्यसलाई कसैले मेटाउन सक्दैन । टिमको प्रदर्शनले हामीलाई विश्वास दिलाएको छ, इजिप्टको फुटबल पनि माथिल्लो स्तरकै छ ।’ अन्यथा इजिप्टको विश्वकप इतिहास भन्नु नै खराब प्रदर्शन मात्र नभएर आफूले सक्दो खेल्न सक्ने प्रदर्शनको रूपमा रह्यो । सन् १९३४ मा इजिप्टले विश्वकप खेल्दा प्रतियोगितामा सहभागी हुने यो पहिलो अफ्रिकी देश भएको थियो । तर टिम चाँडै प्रतियोगिताबाट बाहिरियो ।
फेरि दोस्रोपल्ट विश्वकपमा फर्कन इजिप्टलाई ५६ वर्ष लाग्यो । इजिप्टले सन् १९९० को विश्वकप खेलेको थियो, जितविहीन रह्यो । इजिप्टले सन् २०१८ को विश्वकपमा पनि सहभागिता जनायो तर लिग चरणका तीनै खेलमा पराजित रह्यो ।
हाम्दीको विश्लेषण छ, ‘यो विश्वकप अगाडिसम्म इजिप्टका लागि यसमा छनोट हुनु नै उपलब्धि हुने गर्थ्यो । तर अहिले हामी अन्तिम १६ को चरणसम्म पुगेका छौं । अब यो भन्दा राम्रो प्रदर्शनको उद्देश्य राख्नुपर्छ ।’
इजिप्टको प्रदर्शनले ल्याएको खुसी त्यसै देशमा मात्र सीमित रहेन । कायरोबाट केही नभए पनि हजार किलोमिटर टाढा गाजामा पनि हजारौं प्यालेस्टाइनले इजिप्टको खेले हेरे । इजिप्टको सिमानामा विश्वकप हेर्नका लागि कामचलाउ स्थान बनाइएको थियो । युद्धबाट अझै भयभित रहेका प्यालेस्टाइन समर्थकले इजिप्टका प्रशिक्षक होसम हसनको तस्बिर बोकेका थिए । उनीहरू मोहम्मद सलाह र ओमार मार्मोउका पनि समर्थक थिए । आम फुटबलप्रेमीमा महिला र स–साना बालबालिका पनि उत्तिकै थिए ।
रमल्लाहको वेस्ट ब्यान्कमा पनि हजारौं इजिप्ट समर्थक जम्मा भएर आफ्नो देशको खेल हेरेका थिए । त्यसमध्ये एक ६० वर्षीय मोहम्मद सादले भने, ‘प्यालेस्टाइनका लागि इजिप्ट छिमेकी देशभन्दा पनि बढी हो । हामीबीच भाइचाराको सम्बन्ध छ, हाम्रो इतिहास एउटै छ । हामीले धेरै बलिदान दिएका छौं, त्यसैले हामी एकजुट पनि छौं ।’
इजिप्टले यही विश्वकपमा अस्ट्रेलियामाथि जित रचेयता प्रशिक्षक हसनले प्यालेस्टाइन झण्डा पनि फहराएका थिए । यसैक्रममा उनले धेरेको मन जितेका थिए ।
