दुवै टिम यसपल्टको विश्वकपमा अपराजित रहेका छन् ।
काठमाडौँ — विश्वकप २०२६ को क्वाटरफाइनलमा उपलब्ध अन्तिम स्थानका लागि बुधबार स्विटजरल्यान्ड र कोलम्बिया भिड्दै छन् । भ्यानकुभरमा हुने खेलसँगै प्रतियोगिताको अन्तिम आठमा स्थान बनाउने सबै टिमको टुंगो लाग्नेछ ।
दुवै टिम यसपल्टको विश्वकपमा अपराजित रहेका छन् । त्यसैले यो खेलमा उच्च दर्जाको प्रतिस्पर्धा चल्ने विश्वास गरिएको छ । स्विटजरल्यान्डले समूह बी जित्ने क्रममा सात अंक बटुलेको थियो ।
अन्तिम ३२ चरणको खेलमा पनि उसले अल्जेरियालाई पराजित गरेको थियो । स्विटजरल्यान्ड लागतार छैटौं विश्वकप खेलिरहेको छ । कोलम्बियाले पनि सात अंकमा समूह के जितेको थियो । त्यसपछि उनले अन्तिम ३२ को चरणमा घानालाई हराएको थियो ।
कोलम्बियालाई प्रतियोगिताकै डार्क हर्स मानिएको छ । सन् २०१४ को विश्वकप समूह चरणमा यी दुई टिमबीचको खेल भएको थियो र त्यसमा स्विटजरल्यान्ड २–० ले विजयी रहेको थियो ।
