प्रत्येक हारपछि उनी जति दुःखी हुन्छन्, त्यो भन्दा बढी पीडा देखिन्थ्यो, उनमा । ‘दुःख नै हुन्छ, यसरी प्रतियोगिताबाट बाहिरिँदा,’ पछि रोनाल्डोले आँसु पुछेर भने ।
What you should know
एर्लिङ्टन — विश्वकपमा आफ्नो अन्तिम खेल खेलेपछि क्रिस्टियानो रोनाल्डोले दुःख मानेर मैदान छाडे । उनको अनुहारमा उदासिनता प्रस्ट देखिन्थ्यो । यसले उनको मनमा के खेलिरहेको थियो, त्यो अनुमान गर्न सकिन्थ्यो । दर्शकदीर्घातिर फर्केर हात उठाए र अभिवादन गरे ।
प्रत्येक हारपछि उनी जति दुःखी हुन्छन्, त्यो भन्दा बढी पीडा देखिन्थ्यो, उनमा । ‘दुःख नै हुन्छ, यसरी प्रतियोगिताबाट बाहिरिँदा,’ पछि रोनाल्डोले आँसु पुछेर भने । उनी अहिले ४१ वर्षमा भइसके । उनी छैटौंपल्ट विश्वकप खेलिरहेका थिए । पोर्चुगल स्पेनको हातबाट अन्तिम १६ को चरणमा १–० ले पराजित रह्यो । उनले भने, ‘मैले फुटबललाई सबथोक दिएँ, मैले सक्दो राम्रो खेल्ने प्रयास गरें । अब म सफा मनले विश्वकपबाट बिदा लिँदै छु ।’
रोनाल्डोले अगाडि थपे, ‘यो फुटबल हो, फुटबलमा खेलाडीको जीवन यस्तै हुन्छ । कहिलेकाहीं खेल जितिन्छ, कहिलेकाहीं हारिन्छ ।’ रोनाल्डो नै आफूले खेलेका सबै ६ विश्वकपमा गोल गर्ने एक्लो खेलाडी हुन्, त्यो पनि लगातार । उनले पोर्चुगलका लागि कुल १ सय ४६ गोल गरे । स्पेनको सामना गर्नु अगाडि उनको भनाइ थियो, यो नै उनको जीवनको अन्तिम विश्वकप खेल नहोस् ।
उनी अझै विश्वकपमा रमाउन चाहन्छन् । तर यस्तो लेखिएकै थिएन, स्पेनविरुद्धको खेलमा हार बेहोरेलगत्तै उनको विश्वकप खेल जीवनमा पूर्णविराम लागेको छ । विश्वकपमा खेलाडीका रूपमा प्राप्त गरेको सबैभन्दा ठूलो उपलब्धि भन्नु नै सन् २००६ को विश्वकपमा सेमिफाइनल पुग्नु रह्यो र त्यही विश्वकपमा उनले डेब्यू गरेका थिए । आफ्नो भविष्यबारे भने उनले केही पनि भनेनन् ।
उनको भनाइ थियो, ‘यो नै मेरो अन्तिम विश्वकप हो । अब के गर्ने हो, त्यसबारे मलाई सोच्नु छ । जीवनमा अगाडि बढ्न हतारमा निर्णय लिनुहुन्न, परिवारसँग पनि कुरा गर्नु छ ।’
रोनाल्डो पहिलो हाफमा गोलको नजिक त पुगेका थिए, तर स्पेनी गोलरक्षक उनाइ सिमोनले आकर्षक बचाउ गरे । उनले स्पेनी पोस्टमा तीन आक्रमण रचेका थिए । पोर्चुगाली प्रशिक्षक रोबर्टो मार्टिनेजले उनीबारे भने, ‘रोनाल्डो सबैका लागि उदाहरण हुन् ।’ उनले थपे, ‘उनलाई
पछ्याउन लायक छ । यसैमा हामी रमाउन पनि सक्नुपर्छ, आखिरमा उनी फुटबलका ठूला नाम हुन् । विश्व फुटबलमा धेरै रोनाल्डो हुने गर्दैन । त्यसैले पनि उनलाई धन्यवाद दिनुपर्छ । उनको सपना नै थियो, विश्वकप जित्ने । त सकेनन् ।’
रोनाल्डो अगाडि पोर्चुगलले कुनै पनि ठूलो प्रतियोगिता जित्न सकेको थिएन । उनी आएपछि सन् २०१६ मा युरो जितेको थियो भने सन् २०१९ र २०२५ मा नेसन्स लिग । विश्वकपमा उनको सबैभन्दा राम्रो व्यक्तिगत प्रदर्शन डेब्युको ८ वर्षपछि प्राप्त भएको थियो, जतिबेला उनले ३३ वर्षको उमेरमा ह्याट्रिक गरे । बढी उमेरमा विशवकपमा ह्याट्रिकको कीर्तिमान लामो समय टिक्यो ।
लियोनल मेसीले यसै विश्वकपमा त्यसलाई तोडेका हुन् । लिग चरणमा स्पेनविरुद्ध नै ३–३ को बराबरीमा रोनाल्डोले तीनै गोल गरेका थिए । यो विश्वकपमा पनि उनले तीन गोल गरे र यससँगै विश्वकपमा उनको कुल गोलसंख्या ११ पुगेको छ ।
