चितवन राइनोज, जनकपुर बोल्ट्स, काठमाडौं गोर्खाज, कर्णाली याक्स, पोखरा एभेन्जर्स र लुम्बिनी लायन्ससँग शीर्षक प्रायोजकका रूपमा एक्सट्रिम इनर्जी ड्रिङ्सको सम्झौता
काठमाडौँ — एग्रो थाई फुड्स प्रालिअन्तर्गत एक्सट्रिम इनर्जी ड्रिङ्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणका लागि ६ फ्रेन्चाइज टोलीसँग शीर्ष प्रायोजन (टाइटल स्पोन्सरसिप) सम्झौता गरेको छ ।
एनपीएलमा आठ फ्रेन्चाइज टोली छन् । नेपाली खेलकुदको व्यावसायिक इतिहासमा निजी क्षेत्रबाट भएको यो सम्भवत: सबैभन्दा ठूलो साझेदारी रहेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
एक्सट्रिम इनर्जी ड्रिङ्सले काठमाडौं गोर्खाज, चितवन राइनोज, जनकपुर बोल्ट्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स र लुम्बिनी लायन्ससँग शीर्षक प्रायोजकका रूपमा सम्झौता गरेको हो ।
एनपीएल क्रिकेटको तेस्रो संस्करणका लागि सोमबार आयोजित एक विशेष कार्यक्रममा ६ वटै टोलीका प्रतिनिधि र एग्रो थाई फुड्स प्रालिकी बिजनेस हेड सोनिया राणाले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
एक्सट्रिम इनर्जी ड्रिङ्स सम्बन्धित टोलीको प्रमुख प्रायोजकका रूपमा तीन वर्ष रहने सम्झौतापत्रमा उल्लेख छ ।
‘टोलीहरूको प्लेइङ जर्सीको अगाडिको प्रमुख स्थानमा एक्स्टि्रम इनर्जी ड्रिङ्सको लोगो रहनेछ,’ विज्ञप्तिमा भनिएको छ ।
यो सहकार्यले नेपाली क्रिकेटको सबैभन्दा ठूलो फ्रेन्चाइज प्रतियोगिता एनपीएलमार्फत ब्रान्डलाई अझ सशक्त रूपमा दर्शकमाझ स्थापित गर्नुका साथै नेपाली क्रिकेटको व्यावसायिक विकासमा समेत महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको कम्पनीले बताएको छ ।
एक्स्टि्रम इनर्जी ड्रिंक र एनपीएल फ्रेन्चाइजहरूबीचको सहकार्य नेपाली क्रिकेटको दिगो विकास, खेलाडीहरूको भविष्य उज्ज्वल बनाउन तथा समग्र क्रिकेट संरचनालाई सुदृढ बनाउन महत्त्वपूर्ण कदम भएको क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दको भनाइ छ ।
नेपाली क्रिकेटकै सबैभन्दा ठूलो र प्रतिष्ठित प्रतियोगिता एनपीएलमा ६ वटा टोलीसँग शीर्ष प्रायोजकका रूपमा सहकार्य गर्न पाउनु आफूहरूका लागि गौरवको विषय भएको एग्रो थाई फुड्स प्रालिका नेसनल सेल्स मेनेजर कृष्ण दहालले जनाए ।
यो साझेदारी केवल ब्रान्ड प्रचारका लागि मात्र नभएर नेपाली क्रिकेटको दीर्घकालीन विकासका लागि रहेको उनले बताए ।
