लुम्बिनी लायन्सको सीईओमा सन्देश कटुवाल

लुम्बिनी लायन्सका प्रमुख ईश्वर जिसीले आइतबार कटुवाललाई च्याम्पियन टोलीमा स्वागत गर्दै जिम्मेवारी सुम्पिएका थिए ।

असार २१, २०८३

विनोद पाण्डे

Sandesh Katuwal appointed CEO of Lumbini Lions

काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल)को लुम्बिनी लायन्सले सन्देश कटुवाललाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त गरेको जनाएको छ । 

लुम्बिनी लायन्सका प्रमुख ईश्वर जिसीले आइतबार कटुवाललाई च्याम्पियन टोलीमा स्वागत गर्दै जिम्मेवारी सुम्पिएका थिए ।

गत सिजनमा लुम्बिनी लायन्सको सीईओमा भावना घिमिरे रहेकी थिइन् । 

लुम्बिनी लायन्सले भावनालाई यसपटक कार्यकारी निर्देशकको जिम्मेवारी दिएको जनाएको छ । गत सिजन लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई फाइनलमा पराजित गर्दै दोस्रो संस्करणको एनपीएलको उपाधि जितेको थियो । ‘लुम्बिनी लायन्सलाई यस अवसरका लागि धन्यवाद दिन चाहन्छु । विगतमा पनि एनपीएलमा जोडिएकोले अझ सहज हिसाबमा आफ्नो भूमिका निभाउन सकिन्छ भन्ने आशा लिएको छु । बिजनेस म्यानेजमेन्ट र स्पोर्ट्स म्यानेजमेन्टलाई एउटा हिस्सा बनाउँदै कर्पोरेट हाउसमा टिम कल्चर बनाउने उद्देश्य राखेको छु,’ नियुक्तिपछि कटुवालले लुम्बिनीको विज्ञप्तिमा भनेका छन् । 

कटुवाल पहिलो सिजनमा एनपीएलको अर्को फ्रेन्चाइज टोली काठमान्डु गोर्खाजको सीईओ रहेका थिए । लुम्बिनी लायन्सले जनाएअनुसार पूर्व खेलाडी तथा खेल प्रेमी कटुवालसँग कर्पोरेट र बिजनेस क्षेत्रको २० वर्षको अनुभव छ । उनले कान्तिपुर मिडिया ग्रुपमा बिजनेस हेड, यामाहामा सिनियर म्यानेजर र एपेक्स कलेजमा हेड अफ स्ट्रेजीको रुपमा काम गरिसकेका छन् ।

नेपाल स्पोर्ट्स म्यानेजमेन्टले इन्डोर क्रिकेट र फुटबलका लागि भेलोसिटी एरिना स्थापित गर्दा कटुवाल त्यसको एक लगानीकर्तामध्ये थिए ।

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Link copied successfully