केपीएल कप: फाइनलमा छिन्नमस्ता र इटहरी भिड्ने

छिन्नमस्ता लायन्सले दोस्रो क्वालिफायरमा आरएमएल स्पोटर्स एकेडेमीलाई २ विकेटले हराउँदै इटहरी सुपर किङ्ससँग उपाधि भिडन्त तय गरेको छ।

असार २१, २०८३

अर्जुन सुवेदी

KPL Cup: Chinnamasta and Itahari to face each other in the final

What you should know

सुनसरी — केपीएल कप अन्तर्राष्ट्रिय आमन्त्रण क्रिकेट प्रतियोगिताको उपाधिका लागि छिन्नमस्ता लायन्स र इटहरी सुपर किङ्सबीच फाइनल भिडन्त हुने भएको छ । 

सुनसरीको भोक्राहानरसिंह गाउँपालिकास्थित डा. खलिल अजाद खेल मैदानमा आइतबार सम्पन्न दोस्रो क्वालिफायरमा भारतको आरएमएल स्पोटर्स एकेडेमीलाई २ विकेटले पराजित गर्दै छिन्नमस्ता उपाधिनजिक पुगेको हो । 

यसअघि पहिलो क्वालिफायरमा इटहरी सुपर किङ्ससँग २ विकेटले पराजित भएको छिन्नमस्ताले दोस्रो अवसरको सदुपयोग गर्दै एलिमिनेटर विजेता आरएमएल स्पोटर्स एकेडेमीलाई हराएर फाइनल यात्रा तय गरेको हो । अब उपाधिका लागि छिन्नमस्ता र इटहरी बीच रोमाञ्चक प्रतिस्पर्धा हुने भएको छ । 

दोस्रो क्वालिफायरमा टस जितेर पहिले ब्याटिङ गरेको आरएमएल स्पोटर्स एकेडेमीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७४ रनको प्रतिस्पर्धात्मक योगफल तयार पारेको थियो । उसकालागि अनुभव सिंहले ५३ रनको अद्र्धशतकीय इनिङ खेले । ३८ बलको सामना गरेका उनले ४ छक्का र ३ चौका प्रहार गरे पनि त्यो जितका लागि पर्याप्त हुन सकेन । मञ्जुल दुबेले नटआउट ४७ रन बनाए । अमरचन्द्रले २९ र चक्रधर द्विवेदीले २५ रन जोडे । बलिङतर्फ पप्पु आदव र फिर्दोस अन्सारीले २–२ विकेट हात पारे । 

जवाफमा १७५ रनको लक्ष्य पछ्याएको छिन्नमस्ताले १९.४ ओभरमा ८ विकेट गुमाएर पूरा गर्दै फाइनल यात्रा तय गर्यो । छिन्नमस्ताको जितमा सन्तोष कार्कीले सर्वाधिक ५७ रनको उत्कृष्ट अर्धशतकीय इनिङ्स खेले । उनले ३४ बलमा ६ चौका र ३ छक्काको मद्दतले टोलीको इनिङ्स सम्हाले । आदिल आलमले २७, राकेश कामतले १९, अभिषेक कार्कीले अविजित १७ तथा नितेश यादवले ६ बलमा १३ रनको आक्रामक योगदान दिए । अन्तिम ओभरसम्म पुगेको खेलमा छिन्नमस्ताले संयमित ब्याटिङ गर्दै रोमाञ्चक जित हात पार्यो ।

आरएमएलका बलरहरूले नियमित अन्तरालमा विकेट लिए पनि अन्तिम समयमा चिन्नमस्ताका तल्लोक्रमका ब्याटरले दबाब झेल्दै टोलीलाई जित दिलाए । बलिङतर्फ दिपेन्द्र यादव र क्षितिज त्रिपाठीले २–२ विकेट लिए । अब प्रतियोगिताको उपाधि भिडन्तमा अपराजित लयमा रहेको इटहरी सुपर किङ्स र पुनरागमन गर्दै फाइनल पुगेको छिन्नमस्ता लायन्स मंगलबार आमनेसामने हुनेछन् । पहिलो क्वालिफायरमा इटहरीले छिन्नमस्तालाई पराजित गरिसकेको छ भने छिन्नमस्ता त्यसको बदला लिादै उपाधि उचाल्ने लक्ष्यमा हुनेछ । 

उपाधि विजेताले २ लाख ५१ हजार नगद पुरस्कार पाउने छ । दोस्रो हुनेले १ लाख २५ हजार र तेस्रो हुने टिमले ५० हजार पुरस्कार प्राप्त गर्ने छ । क्यानको तालिका अनुकुल नहुँदा कोशी प्राइड लिग बेलैमा गर्न नपाएको केपीएल ग्रुपले क्रिकेट खेलको निरन्तरताका लागि नेपाल भारत दुई देशीय आमन्त्रित टी ट्यान्टी क्रिकेट प्रतियोगिताको आयोजना गरिएको केपीएल गु्रपका अध्यक्ष अफजल हुसेनले जानकारी दिए । 

अर्जुन

Link copied successfully