तेस्रो संस्करणको एनपीएल सुरु हुनुअघि यो सम्झौता गरिएको हो । एनपीएल दसैंपछि हुने नेपाल क्रिकेट संघ (क्यान)ले जनाउँदै आएको छ ।
What you should know
काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फ्रेन्चाइज टोली काठमान्डु गोर्खाजले एक्स्ट्रिम इनर्जी ड्रिङ्क्ससँग प्रायोजन सम्झौता गरेको छ । तेस्रो संस्करणको एनपीएल सुरु हुनुअघि यो सम्झौता गरिएको हो । एनपीएल दसैंपछि हुने नेपाल क्रिकेट संघ (क्यान)ले जनाउँदै आएको छ ।
सम्झौताअनुरुप एक्स्ट्रिम काठमान्डु गोर्खाजको प्रमुख प्रायोजकको रुपमा रहने छ । सहमतिअनुरुप काठमान्डु गोर्खाजको प्लेयिङ जर्सीको अगाडिको भागमा एक्स्ट्रिम लोगो रहने छ । एक्स्ट्रिमसँगको नयाँ सहकार्यमा काठमान्डुले उचाई लिने विश्वास गरेको छ ।
काठमान्डु गोर्खाजका कार्यकारी निर्देशक अनुभव स्वाँर सिरोहिया र एक्स्ट्रिमकी प्रशासन प्रमुख सोनिया राणाले आइतबार आयोजित कार्यक्रममा सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । सम्झौता ३ वर्षका लागि रहेको काठमान्डु गोर्खाजका अप्रेसन हेड श्रवणबहादुर सिंहले जनाए । दुवै पक्षले आर्थिक पाटो भने खुलाएका छैनन् ।
काठमान्डुले लगातार दोस्रो वर्ष एक्स्ट्रिमसँग सहकार्य गर्न लागिएको हो । दोस्रो सिजनको एनपीएलमा एक्स्ट्रिम सहप्रायोजकको रुपमा थियो र काठमान्डुले जर्सीको पछाडिको भागमा एक्स्ट्रिमको लोगो लगाएर खेलेको थियो ।
नेपाली ब्रान्ड भएर एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सले नेपाली खेलकुदमा ठुलो योगदान दिँदै आएको अप्रेसन हेड सिंहले जनाए । ‘एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सले नेपाली खेलकुदमा फरक छाप बनाइरहेको छ, कहीं न कतै एक्स्ट्रिमबिनाको इभेन्ट हामीले देख्न गाह्रो भइसकेको छ, यस्तो प्रभाव जमाएको कम्पनीसँग हामी लगातार दोस्रो वर्ष सहकार्य गर्न गइरहेका छौं, यसले हामीलाई निकै उत्साहित बनाएको छ र राम्रो नतिजाका लागि प्रेरित पनि गरिरहेको छ । यस प्रकारको सम्झौताले कुनै पनि टोलीको व्यवस्थापनलाई राम्रो बनाउन पनि ठुलो सहयोग गर्दछ,’ सिंहले भने ।
एक्स्ट्रिमकी प्रशासन प्रमुख राणाले काठमान्डुसँग जोडिन पाउनु कम्पनीका लागि गौरवको विषय भएको बताए । एक्स्ट्रिम ड्रिङ्क्स नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको प्रमुख प्रायोजक पनि हो । प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगिता, जय ट्रफी दुईदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा एक्स्ट्रिम प्रमुख प्रायोजकको रुपमा रहेको थियो ।
काठमान्डु गोर्खाजका ‘क्रिकेट डाइरेक्टर’ शरद भेषावकरले एक्स्ट्रिमसँगको सहकार्यले टोलीमा ठुलो उर्जा प्रदान गर्ने जनाए । गत सिजनमा काठमान्डु एनपीएलमा चौथो भएको थियो ।
करण केसी मार्की तथा कप्तान रहेको काठमान्डु गोर्खाजले तेस्रो सिजनको एनपीएलका लागि भीम सार्की, शाहव आलम, रशिद खान, मोहम्मद आदिल अन्सारी र सन्तोष यादवलाई ‘रिटेन’ गरिसकेको छ ।
