विश्वकप २०२६ शनिबारदेखि अन्तिम १६ को चरणमा प्रवेश गर्दैछ । यस चरणको पहिलो खेल हुनेछ, सह–आयोजक क्यानडा र मोरक्कोबीच ।
काठमाडौँ — विश्वकप २०२६ शनिबारदेखि अन्तिम १६ को चरणमा प्रवेश गर्दैछ । यस चरणको पहिलो खेल हुनेछ, सह–आयोजक क्यानडा र मोरक्कोबीच । खेल ह्युस्टनमा हुनेछ ।
क्यानडाका लागि विश्वकपमा अहिलेसम्मको यात्रा आफैंमा सफल रहेको छ, टिमले पहिलो पटक नकआउट चरण मात्र प्रवेश गरेको छैन, त्यसको पहिलो खेल पनि जितेको छ ।
क्यानडाले अन्तिम ३२ चरणको खेलमा दक्षिण अफ्रिकालाई एक गोलले हराएको थियो र त्यसमा निर्णायक गोल गर्ने खेलाडी थिए, स्टेफेन इस्टाक्वीले गरेका थिए । अब भने उसको अगाडि असाध्यै बलियो मान्ने मिल्ने प्रतिद्वन्द्वी रहेको छ, मोरक्कोका रूपमा । मोरक्को त्यही टिम हो, जसले चार वर्ष अगाडि कतारमा भएको विश्वकपमा सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो ।
विश्वकपको सेमिफाइनल पुग्ने पहिलो अफ्रिकी देश हुने क्रममा मोरक्कोले स्प्ने र पोर्चुगल जस्ता टिमलाई हराएको थियो । यसपल्ट पनि मोरक्कोको यात्रा उत्कृष्ट रहेको छ । सबैभन्दा पहिले मोरक्को ब्राजिल पनि सम्मिलित समूह जित्न सफल रह्यो । त्यसपछि उसले नेदरल्यान्ड्सलाई हराएको थियो । यसको अर्थ मोरक्को यसपल्टको प्रतियोगिताको पनि डार्क हर्स जस्तै रहेको छ ।
त्यसैले उसको यात्रा यसपल्ट पनि लामै जान सक्छ । मोरक्को टिम आफैंमा बलियो छ नै, उसको टिमको शारीरिक र प्राविधिक पक्ष दुवै उच्च छ । यसको ठीक विपरीत क्यानडाका लागि नकआउट चरणको यात्रा आफैंमा नयाँ रहेको छ । यो टिमको सबैभन्दा बलियो पक्ष भनेकै उत्साह र उमंग रहेको छ । यो नै उसका लागि मोरक्को जत्तिको टिमलाई रोक्ने एक मात्र अस्त्र हुनेछ ।
