पेनाल्टी शुटआउट : चर्को दबाबको खेल

अबको स्थिति विश्वकप २०२६ मा ‘हार्‍यो कि घर जाने’ चरणमा पुगिसकेको छ । यसले प्रत्येक टिममाथि अत्यधिक दबाब सिर्जना गरेको छ ।

असार १८, २०८३

एपी

Penalty shootout: A high-pressure game

What you should know

लस एन्जलस — अबको स्थिति विश्वकप २०२६ मा ‘हार्‍यो कि घर जाने’ चरणमा पुगिसकेको छ । यसले प्रत्येक टिममाथि अत्यधिक दबाब सिर्जना गरेको छ । यी सबै प्रकारका दबाबमध्ये सबैभन्दा चर्को रहने गर्छ, टाइब्रेकर । फेरि यो त्यति बेला आवश्यक हुन्छ, जतिबेला खेलाडी थाकेर चुर भइसकेका हुन्छन् । एकातर्फ प्रहार गर्ने खेलाडी, अर्कोतर्फ गोलरक्षक । यो त ‘वान टु वान’ को स्थिति हुने गर्छ । 

अहिले प्रतियोगिताको अन्तिम ३२ को चरण चलिरहेको छ । दुई खेल टाइब्रेकरमा गएको छ । त्यसमध्ये एकमा मोरक्कोले नेदरल्यान्ड्सलाई हरायो भने अर्कोमा पाराग्वेले जर्मनीलाई । टाइब्रेकरमा चुक्नुको अर्थ हुन्छ, खेलाडीको हुनसम्मकै अपमान । अनि गोलरक्षकको एक बचाउ कति धेरै महत्त्वपूर्ण हुन्छ भने यसले हजारौं र लाखौं समर्थकमा खुसी ल्याउने गर्छ । 

यस्तो पेनाल्टी शुटआउटमा सहनुपर्ने दबाब खासमा गैरमानवीय जस्तै हुन्छ । नर्वेजियन स्कुल अफ स्पोर्ट्स साइन्सका प्रोफेसर गेर जोर्डेटका अनुसार टाइब्रेकरमा पेनाल्टी प्रहार गर्नेमाथि सबैको ध्यान केन्द्रित हुन्छ । उनले टायब्रेकरमै केन्द्रित भएर एउटा पुस्तक पनि लेखेका छन् । उनी भन्छन्, ‘हाम्रो अनुसन्धानले के भन्छ भने पेनाल्टीमा खेलाडीले सामना गर्नुपर्ने दबाब अन्ततः चिन्तामा परिणत हुन्छ ।’

अनि जति धेरै पेनाल्टी प्रहार हुन्छ, त्यति धेरै दबाब बढ्नै जान्छ । जति धेरै दबाब बढ्छ, चिन्ता झन् बढी हुन्छ । सन् २०२२ को विश्वकपमा ५ खेलको निर्णय टाइब्रेकरमा भएको थियो । त्यसमध्ये सबैभन्दा ठूलो खेल त फाइनल नै थियो, जसमा अर्जेन्टिनाले फ्रान्सलाई हराएको थियो । इंग्लिस विंगर नोनी माडुके भन्छन्, ‘माथिल्लो स्तरमा टाइब्रेकरमा दबाब वास्तवमै असह्य खालकै हुन्छ ।’

प्रहारकर्ता र गोलरक्षकबीचको दूरी लगभग १२ यार्ड हुन्छ । सन् १९७० देखि मात्र पेनाल्टी शुटआउटको नियम आएको हो र त्यसयता विश्व फुटबलको ठुल्ठूला खास खेलको निर्णय यसैबाट भएको छ । पेनाल्टी शुटआउटमा निर्णय भएको पहिलो विश्वकप फाइनल थियो, सन् १९९४ को । त्यसमा ब्राजिलले इटालीलाई हराएर विश्वकप जितेको थियो । 

त्यसमा एक खेलाडी पेनाल्टीमा चुके र यही एक कारण नै उनको परिचय बन्यो । ती खेलाडी थिए, रोबर्टो बाजियो । उनको अन्तिम र निर्णायक साबित प्रहार पोस्टमा लागेको थियो । रमाइलो के भने यही एक पेनाल्टी प्रहार पनि फरक–फरक तरिका छन् । कोही तुरुन्तै प्रहार गर्छन्, कोही रोकिएर प्रहार गर्छन् । कसैले बल प्रहार अगाडि लामो न लामो श्वासभित्र लिन्छन् । 

अझ केही लामो दौड लगाएर पनि शक्तिशाली प्रहार गर्छन् । सायद सबैभन्दा लोकप्रियचाहिँ विपक्षी गोलरक्षकले कतातिर ‘डाइभ’ गर्छ भनेर अनुमान गर्ने र त्यसको विपरीत प्रहार गर्ने । पेनाल्टी प्रहारको स्थितिमा धेरै हदसम्म गोलरक्षकभन्दा उनको अगाडि रहेका खेलाडी नै बढी दबाबमा हुने गर्छ । यस्तो किनभन्दा गोलरक्षकले बचाउभन्दा प्रहार गर्नेले गोल गर्ने बढी अपेक्षा हुन्छ । 

अनुसन्धानले के देखाएको छ भने रेफ्रीको सिटी बजेलगत्तै प्रहार गर्नेभन्दा केही सेकेन्ड रोकेर प्रहार गर्नेले गोल गर्ने सम्भावना बढी हुन्छ । जोर्डेट भन्छन्, ‘तुरुन्तै छिट्टै प्रहार गर्ने खेलाडी खासमा धेरै दबाब सहन नसक्ने खालको हुन्छ, त्यसैले उनले खासै धेरै सोच्ने काम गर्दैन र प्रहार गरिहाल्छ ।’ 

सिद्धान्ततः त्यही खेलाडी टाइब्रेकरमा सफल हुन्छ, जसले छोटो समयमा ठीक निर्णय गर्छ । दुविधा कुनै पनि हालतमा ठीक हुन्न । अर्कोतर्फ गोलरक्षकको मानसिकता कस्तो हुने गर्छ त ? गोलरक्षकसामु दायाँ वा बायाँ डाइभ गर्ने या केही नगरेर बीचमा उभिरहने अवसर हुन्छ । नेदरल्यान्ड्सविरुद्ध मोरक्कोको गोलरक्षक यासिन बोनोउले भने अलि फरक गरे, अन्तिम प्रहारमा । उनी उभिरहे तर हल्का दायाँतर्फ केही ढल्के । त्यसै क्रममा उनले क्रिसेन्को सुमेरभलीको प्रहार जोगाए ।

एपी

Link copied successfully