सरकारका प्रवक्तासमेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले भने- 'फिफासँग हाम्रो अन्तरक्रिया सुरु पनि भइसकेको छ । हामीले फिफा र एएफसी कपका पदाधिकारीलाई वार्तामा पनि बोलाइसकेका छौं । नेपालको फुटबलप्रति संवेदनशील छौं ।'
What you should know
काठमाडौँ — अखिल नेपाल फुटबल संघ (एन्फा) माथि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले प्रतिबन्ध लगाउनुको कारण अहिलेको सरकारको हस्तक्षेप मात्रै कारक नभएको सरकारका प्रवक्ता सस्मित पोखरेलले बताएका छन् ।
शिक्षा तथा खेलकुदमन्त्रीसमेत रहेका प्रवक्ता पोखरेलले विगतका सरकारदेखि नै एन्फामा हस्तक्षेप गरेकाले फिफाले निलम्बन गरेको बताए । 'अहिलेको सरकारले आएर हस्तक्षेप गरेको भनेर मात्र होइन विभिन्न बेलामा विभिन्न तहबाट सरकारको विभिन्न खालको हस्तक्षेप भइरहेको थियो । यो पटक पनि उहाँहरूले के भनिराख्नुभएको छ भने विश्वकप हेर्न जाने बेला हामीलाई रोक्यो भनेर गुनासो गरिराख्नुभएको छ । विश्वकपमा एन्फाको पदाधिकारीहरू त्यतिखेर जानुहुन्छ जतिखेर नेपालको फुटबल केही न केही, नेपालले विश्वकप खेल्नुपर्छ भन्ने पनि छैन, कुनै न कुनै आशा त देखाउनु पर्यो नि,' पोखरेलले भने ।
एन्फामा भ्रष्टाचार भएको भनेर उजुरी आएको विषयमा छानबिन भइरहेको पनि पोखरेलले बताए । 'अहिलेसम्म बारम्बार सरकारबाट एन्फामा विगतमा हस्तक्षेप भएको थियो । एन्फामा धेरैवटा भ्रष्टाचारका उजुरी पनि हामीलाई परेको छ । धेरै उजुरी परेको हुनाले राखेपको उपाध्यक्षको अध्यक्षतामा छानबिन समिति पनि गठन गरेका छौं । छानबिनको अवस्था आउनेबित्तिकै सम्बन्धित निकायमा पठाउँछौं,' उनको भनाइ थियो ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री पोखरेलले एन्फाले स्थानीय डिभिजनको कुनै पनि प्रतियोगिता नगरेको अवस्था रहेको, भ्रष्टाचार धेरै भइरहेको छ भनेर प्रश्न उठेकाले फुटबलको विकास हुन नसकेको बताए ।
'नेपालमा फुटबलको विकास हुन सकेको छैन । यो भन्दा तल जाने ठाउँ छैन एन्फालाई यो भन्दा तल नेपाल फुटबल कहाँ जान्छ त ठाउँ नै छैन । अब हामीले अगाडि कसरी बढ्ने भनेर व्यक्तिगत रुपमा पनि विभिन्न विज्ञहरूसँग छलफल पनि गरिरहेको छु,' उनले थपे, 'फिफासँग हाम्रो अन्तरक्रिया सुरु पनि भइसकेको छ । हामीले फिफा र एएफसी कपका पदाधिकारीलाई वार्तामा पनि बोलाइसकेका छौं । नेपालको फुटबलप्रति संवेदनशील छौं ।'
आगामी दिनमा एन्फामा राजनीतिक रूपमा नियुक्ति नहुने पनि मन्त्री पोखरेलको भनाइ छ । 'अब बन्ने एन्फामा राजनीतिक रूपमा हैन पूर्वखेलाडीहरूले जसले फुटबलमा योगदान गरेको छ, खेलाडी र खेललाई बुझ्ने व्यक्तिलाई ल्याएर एन्फा बन्छ,' उनले भने ।
फुटबलको विकासका लागि सरकारले गम्भीर कदम चाल्ने पनि मन्त्री पोखरेलले बताए । एन्फालाई राजनीतिक भर्तीकेन्द्र र भ्रष्टाचारको अखडा हुन नदिने पनि उनको भनाइ छ ।
