एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड : वर्ष पुरुष र महिला खेलाडीको मनोनयन सार्वजनिक

छनोट समितिका अनुसार वर्ष खेलाडी पुरुषतर्फ क्रिकेटका दुई खेलाडीसहित भारोत्तोलनका एक खेलाडी तथा महिलातर्फ दृष्टिविहीन क्रिकेट, कबड्डी र फुटबलका खेलाडी मनोनयनमा परेका छन् ।

असार १७, २०८३

कान्तिपुर संवाददाता

SPA Sudurpaschim Sports Awards: Nominations for Male and Female Athlete of the Year announced

What you should know

धनगढी — धनगढीमा हुने ‘सातौं एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्डको थप दुई विधाको मनोनयन सार्वजनिक गरिएको छ ।

छनोट समितिका अनुसार वर्ष खेलाडी पुरुषतर्फ क्रिकेटका दुई खेलाडीसहित भारोत्तोलनका एक खेलाडी तथा महिलातर्फ दृष्टिविहीन क्रिकेट, कबड्डी र फुटबलका खेलाडी मनोनयनमा परेका छन् ।

पुरुषतर्फ टी–२० राष्ट्रिय क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी, भारोत्तोलक अशोक भण्डारी र राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर हेमन्त धामी मनोनयनमा परेका छन् ।

महिलातर्फ दृष्टिविहीन क्रिकेटकी पुनम चौधरी, कबड्डीकी मानमती बिष्ट र फुटबलकी मीना देउवा मनोनयनमा परेका छन् । चौधरी पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा उपविजेता बनेको नेपाली टोलीकी सदस्य हुन् ।

कबड्डी खेलाडी मानमतीले चीनमा सम्पन्न छैटौं बिच एसियन गेम्समा नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाउने टोलीको कप्तानी गरेकी थिइन् । फुटबलर मीनाले साफ यू–२० महिला च्याम्पियनसिपमा नेपाललाई उपविजेता बनाउन उत्कृष्ट प्रदर्शन गर्दै ६ खेलमा ७ गोल गरी संयुक्त सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाएकी थिइन् ।

‘सातौं एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्डका लागि यसअघि नै वर्ष प्रशिक्षक, वर्ष युवा खेलाडी, सुदूरपश्चिम आइकन पुरुष र महिलाको मनोनयन सार्वजनिक भइसकेको छ । छनोट समितिका सदस्य नवराज पनेरुका अनुसार वर्ष प्रशिक्षकको लागि क्रिकेटका धिरेन्द्र चन्द, कबड्डीका विष्णुदत्त भट्ट र भारोत्तोलनका जीवन गौतम मनोनयनमा परेका छन् । ‘वर्ष युवा खेलाडी विधामा एथलेटिक्सका वीरेन्द्र नाथ, कबड्डीका सुशील चुनारा र एथलेटिक्सकी संगीता बिक मनोनयनमा परेका छन् ।

सुदूरपश्चिम आइकन पुरुष विधामा क्रिकेटका नारायण जोशी, भारोत्तोलनका अशोक भण्डारी र सुटिङका सुनिल चन्द मनोनयनमा परेका छन् । आइकन महिलामा कबड्डीकी दीपा देउवा, एथलेटिक्सकी पूजा साउाद र तेक्वान्दोकी दीपा जैसी मनोनयनमा परेका छन् ।

अवार्डको मुख्य प्रायोजन सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) छ भने सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले अवार्ड कार्यक्रमलाई मुख्य प्रवर्द्धकका रूपमा आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीसँग सम्झौता गरिसकेको छ ।

कान्तिपुर

Link copied successfully