प्लेयर्स टु वाच : डेक्लन राइस (इंग्ल्यान्ड)

२७ वर्षे राइस कत्तिको महत्त्वपूर्ण खेलाडी हुन् भने इंग्ल्यान्डले पानामाविरुद्धको तेस्रो खेलमा उनलाई आराम दिएर नकआउट चरणका लागि ‘फ्रेस’ राखेको कारण नै थाहा हुन्छ ।

असार १७, २०८३

कान्तिपुर संवाददाता

Players to watch: Declan Rice (England)

काठमाडौँ — डेक्लन राइसले इंग्ल्यान्डबाट समूहचरणमा क्रोएसिया र घानाविरुद्धको दुबै खेलमा सुरुआत गरेका थिए । यी दुई खेलबाटै इंग्ल्यान्डले नकआउट चरणको यात्रा तय गरेको थियो ।

२७ वर्षे राइस कत्तिको महत्त्वपूर्ण खेलाडी हुन् भने इंग्ल्यान्डले पानामाविरुद्धको तेस्रो खेलमा उनलाई आराम दिएर नकआउट चरणका लागि ‘फ्रेस’ राखेको कारण नै थाहा हुन्छ । डिफेन्सिभ मिडफिल्डमा खेल्ने उनी इंग्ल्यान्डको आक्रामण तयार पार्ने आधार हुन् ।

उनी मिडफिल्डमा खुलेर खेल्न सक्छन् । बल पछ्याउने र ट्याक्लिङ गर्ने ठूलो क्षमताका कारण उनी विश्वका शीर्ष स्तरका मिडफिल्डमा पर्छन् । 

यसै सिजन आर्सनललाई २४ वर्षपछि प्रिमियर लिगको उपाधि दिलाउन ठूलो भूमिका खेलेका उनी चेल्सी एकेडेमीका हुन् । उनी एकेडेमीमा मेसन माउन्टलगायतका खेलाडीसँगै हुर्किए ।

तर चेल्सीले उनलाई रिलिज गरिदियो । २०१५ देखि उनले वेस्ट ह्यामबाट व्यावसायिक फुटबल खेल्न सुरु गरेका थिए । २०२३ सम्म वेस्ट ह्यामको टोलीबाट खेल्नेक्रममा उनले यूईएफए कन्फ्रेन्स लिगको उपाधि जितेका थिए ।

त्यसपछि उनी १० करोड पाउन्ड सरुवा रकममा आर्सनल लागे, जुन इंग्लिस खेलाडीका लागि खर्चिएको सबैभन्दा ठूलो रकम थियो । राइसले २०२२ को विश्वकप पनि खेलेका थिए । २०२० र २०२४ मा इंग्ल्यान्डलाई उपविजेता बनाउँदा उनी प्रमुख खेलाडीको रूपमा रहेका थिए ।

विश्वकप २०२६

कान्तिपुर

Link copied successfully