इंग्ल्यान्डले बुधबार एटलान्टामा डीआर कंगोलाई २–१ ले पराजित गर्यो ।
एटलान्टा — कप्तान ह्यारी केनले गरेको दुई गोलमा इंग्ल्यान्ड उत्कृष्ट पुनरागमन गर्नै विश्वकप फुटबल २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । इंग्ल्यान्डले बुधबार एटलान्टामा डीआर कंगोलाई २–१ ले पराजित गर्यो । इंग्ल्यान्डले अब एजटेका रंगशालामा गएर घरेलु टोली मेक्सिकोसँग क्वाटरफाइनलमा स्थान पाउन खेल्ने छ ।
यस विश्वकपको पहिलो खेलमा पोर्चुगललाई गोलरहित बराबरीमा रोकेर आश्चार्यमा पारको डीआर कंगोले इंग्ल्यान्डविरुद्ध पनि अर्को अप्रत्यासित नतिजा निकाल्ने संकेत गरेको थियो । ब्रायन किबाम्पे किपेन्गाले सातौं मिनेटमा गोल गर्दै कंगोलाई अग्रता दिलाई इंग्ल्यान्डलाई आश्चार्यमा पारेका थिए ।
कंगोका गोलरक्षक लियोनेल एमपान्सीले एकपछि अर्को बचाउ गर्दै इंग्ल्यान्डलाई निराश बनाएका थिए । ७५ औं मिनेटमा केनले गोल गरी इंग्ल्यान्डलाई बराबरीमा ल्याए । एन्टोनी गोर्डनको क्रसमा केनले गरेको हेडलाई एमपान्सीको हातलाई लाग्दै गोल भएको थियो ।
केनले ८६ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । यसपटक पनि उनलाई पास अगाडि बढाइदिने काम गोर्डनले नै गरे । यस विश्वकपमा यो उनको पाँचौं गोल हो ।
नर्वेका इर्लिङ हालान्डले पनि ५ गोल गरेका छन् भने अर्जेन्टिनाका लियोनेल मेसी र फ्रान्सका किलियन एम्बाप्पे ६–६ गोलसहित यस विश्वकपमा सर्वाधिक गोल गर्ने सूचीमा अगाडि छन् । केनले विश्वकपको इतिहासमा आफ्नो कुल गोल संख्या १३ पुर्याइसकेका छन् ।
