इंग्ल्यान्डलाई डीआर कंगोको डर

इंग्ल्यान्डले 'अन्तिम ३२' चरणको बुधबारको खेलमा डीआर कंगोको सामना गर्दैछ ।

असार १७, २०८३

कान्तिपुर संवाददाता

England fears DR Congo

काठमाडौँ — अहिलेसम्म युरोपेली फुटबलका २ ठूला महाशक्ति विश्वकप २०२६ बाट बाहिरिसकेका छन् र ती हुन्, जर्मनी र नेदरल्यान्ड्स । यस्तोमा इंग्ल्यान्डलाई डर छ, कतै यही नियति हुने त होइन ? इंग्ल्यान्डले 'अन्तिम ३२' चरणको बुधबारको खेलमा डीआर कंगोको सामना गर्दैछ ।

इंग्ल्यान्डले कुनै ठूलो उपाधि नजितेको पनि ६० वर्ष भइसकेको छ । यस्तोमा प्रशिक्षक थोमस टुचेलले आफ्ना खेलाडीलाई चेतावनी दिएका छन् । कंगोका रूपमा इंग्ल्यान्ड सामु त्यस्तो टिम छ, जसलाई केही पनि गुमाउनु छैन् । उनी भन्छन्- ‘कंगो जस्तो टिमलाई अहिलेको स्थितिसम्म पुग्नु पनि ठूलो हो ।’

जर्मनी र नेदरल्यान्ड्स पेनाल्टी सुटआउटमा पराजित भएपछि एउटा तथ्य यस विश्वकपमा स्थापित भएको छ र यो हो, प्रतियोगितामा सानो एक भुलको अर्थ हो, घर फर्किनु । इंग्ल्यान्डसँग त्यस्ता दुई खेलाडी छन्, जसलाई विश्वस्तरीय भन्न मिल्छ र यी जुड बेलिंघम र ह्यारी केन हुन् ।

कंगोको टिम भने अच्चम ढंगले बनेको छ भन्दा हुन्छ । यसको विश्वकप टिममा २६ खेलाडी छन् । त्यसमध्ये २० खेलाडीको जन्म कंगोमा भएको होइन् । उनीहरूमध्ये धेरै फ्रान्समा जन्मेका छन् । जस्तो, फरवार्ड योना विसा । यो इंग्लिस प्रिमियर लिगकै परिचित नाम हो ।  

डिफेन्डर एरोन वान बिसाका लन्डनमा जन्मेका हुन् । उनले यू–२१ सम्म त इंग्ल्यान्डकै लागि खेले । यस्तै एक्सेल टनजेबेले पनि इंग्ल्यान्डका लागि उमेर समूहको फुटबल खेले । कंगोका प्रशिक्षक सबास्टिन डेसाब्रे मान्छन्, उनको टिमका लागि यहाँसम्मको यात्रा पनि ठूलै उपलब्धी हो ।

त्यसैले जति पनि दबाब हुनेछ, त्यो इंग्ल्यान्डलाई नै हुनेछ ।

विश्वकप २०२६

कान्तिपुर

Link copied successfully