फुटसल मेनियामा ४८ विद्यालय भिड्ने, विजेताले २ लाख जित्ने

तारकेश्वर नगरपालिकास्थित टिपटप स्पोर्ट्स हबमा हुने प्रतियोगितामा देशभरका ४८ उच्च माध्यमिक विद्यालयका टोलीले सहभागिता जनाउने आयोजकले जनाएको छ ।

असार १७, २०८३

कान्तिपुर संवाददाता

48 schools to compete in Futsal Mania, winner to win Rs. 200,000

What you should know

काठमाडौँ — ‘प्लस टु अध्ययनरत विद्यार्थीलक्षित गर्दै बिहानी इभेन्ट्सले ३२ साउनदेखि २ भदौसम्म ‘फुटसल मेनिया, नेसनल इन्टर हाइस्कुल फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

तारकेश्वर नगरपालिकास्थित टिपटप स्पोर्ट्स हबमा हुने प्रतियोगितामा देशभरका ४८ उच्च माध्यमिक विद्यालयका टोलीले सहभागिता जनाउने आयोजकले जनाएको छ । प्रतियोगितामा बढीमा २० वर्षका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

हालै कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीसमेत सहभागी हुन पाउने व्यवस्था गरिएको छ । एउटा विद्यालयबाट दुई टोलीसम्म सहभागी हुन पाउनेछन् । बिहानी इभेन्ट्सकी इभेन्ट्स डाइरेक्टर अस्मिता घिमिरेका अनुसार विश्वकपको माहोलबीच विद्यार्थीलाई खेलकुदसँग जोड्ने, खेलभावना, टिम स्पिरिट र नेतृत्व क्षमता विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

‘विश्वकपको रौनक चलिरहेका बेला प्लस टुका विद्यार्थीले पनि त्यसको उत्साह अनुभूत गर्दै प्रतिस्पर्धात्मक वातावरणमा आफ्नो प्रतिभा प्रदर्शन गर्न सकून भन्ने हाम्रो उद्देश्य हो,’ घिमिरेले भनिन्, ‘खेलमार्फत उनीहरूमा स्पोर्ट्सम्यानसिप, टिमवर्क र नेतृत्व क्षमताको विकास होस् भन्ने अपेक्षा गरेका छौं ।’

सहभागी ४८ टोलीलाई १६ समूहमा विभाजन गरिनेछ । राउन्ड रोविन लिगपछि प्रत्येक समूहको विजेता टोलीले प्रि–क्वाटरफाइनलमा स्थान बनाउनेछ । खेल प्रति–हाफ सात मिनेटको हुनेछ ।

कूल पुरस्कार राशि ३ लाख ७५ हजार रुपैयाँ छ । विजेता टोलीले २ लाख, उपविजेताले १ लाख र तेस्रो हुने टोलीले ५० हजार पुरस्कार प्राप्त गर्नेछन् । विजेताले रनिङ सिल्ड पनि जित्नेछ । बिहानी इभेन्ट्सले यसलाई वार्षिक प्रतियोगिताका रूपमा निरन्तरता दिने योजना पनि सार्वजनिक गरेको छ ।

प्रतियोगिताको टाइटल स्पोन्सरमा ‘युनिगो एजुकेशन एक्सपर्ट छ । प्रत्येक टोलीमा न्यूनतम ५ र अधिकतम ८ खेलाडी राख्न पाइनेछ ।

सन् २०१८ मा स्थापना भएको बिहानी इभेन्ट्सले राष्ट्रियस्तरका खेलकुद प्रतियोगिता पनि आयोजना गर्दै आएको छ ।  

कान्तिपुर

Link copied successfully