दुवै टिम लिग चरणमा अपराजित रहेका थिए ।
काठमाडौँ — तीनपल्टको उपविजेता नेदरल्यान्ड्सले विश्वकप २०२६ को अन्तिम ३२ चरणमा मोरक्कोको सामना गर्दैछ । खेल स्टाडियो मोन्टेरीमा मंगलबार बिहान ६.४५ मा सुरु हुनेछ । पछिल्लो विश्वकपमा सेमिफाइनलसम्मको यात्रा तय गरेको मोरक्कोले नेदरल्यान्ड्सामु बलियो चुनौती पेस गर्नेछ ।
लयमा देखिएका दुई टिमबीचको खेल पनि रहनेछ यो । दुवै टिमले लिग चरणमा समान सात अंक बटुलेर प्रभावशाली प्रदर्शन गरेका थिए । ब्राजिल पनि सम्मिलित समूह 'सी'मा मोरक्को दोस्रो स्थानमा रहेको थियो भने नेदरल्यान्ड्स समूह 'एफ'को विजेता हो ।
दुवै टिम लिग चरणमा अपराजित पनि रहे । नकआउट चरणमा नेदरल्यान्ड्स अफ्रिकी प्रतिद्वन्द्वीविरुद्ध पछिल्ला छ खेलमा अपराजित रहेको छ । यो खेलको विजेताले अन्तिम १६ मा सहआयोजक क्यानाडाको सामना गर्नेछ ।
