नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली काठमान्डु गोर्खाजले आउँदो सिजनको एनपीएललाई लक्षित गरेर शरदलाई लिएको मंगलबार जनाएको छ ।
What you should know
काठमाडौँ — काठमान्डु गोर्खाजले पूर्व राष्ट्रिय क्रिकेट खेलाडी शरद भेषावकरलाई ‘क्रिकेट डाइरेक्टर’ को पदमा नियुक्त गरेको छ । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली काठमान्डु गोर्खाजले आउँदो सिजनको एनपीएललाई लक्षित गरेर शरदलाई लिएको मंगलबार जनाएको छ ।
शरदले २०२४ मा एनपीएलको पहिलो सिजन चितवन राइनोजबाट खेलेका थिए । अब भने गोर्खाजको क्रिकेट व्यवस्थापन, रणनीति, प्राविधिक पक्ष, खेलाडी व्यवस्थापनको महत्त्वपूर्ण जिम्मेवारीमा रहेर काम गर्न लागेका हुन् ।
शरदको आगमनले काठमाडौं गोर्खाजको प्राविधिक र क्रिकेट व्यवस्थापन अझ मजबुत हुने विश्वास गोर्खाज व्यवस्थापनले लिएको छ । ‘प्रत्येक सिजन हामीले आफ्नो क्रिकेट व्यवस्थापनलाई अझ चुस्त बनाइरहेका छौं, क्रिकेटमा लामो समय बिताउनु भएका शरद जस्तो अनुभवी व्यक्तिको साथमा हामी मैदानभित्र र मैदानबाहिर अझ राम्रो गर्न सक्छौं जस्तो लाग्छ । शरदसँगै काम गर्न पाउँदा निकै उत्साहित छौं,’ काठमाडौं गोर्खाजले विज्ञप्तिमा भनेको छ ।
‘यो पोस्टमा मलाई जिम्मेवारीमा दिएर विश्वास देखाउनु भएकोमा काठमान्डु गोर्खाज परिवारलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु । काठमाडौं मेरो आफ्नै घरेलु सहर हो, यही सहरको प्रतिनिधित्व गर्न पाउँदा आफूलाई भाग्यमानी ठान्छु,’ काठमान्डु गोर्खाजको विज्ञप्तिमा शरदले भनेका छन्, ‘बाल्यकालमा काठमाडौंमा धेरै खेलेको स्मरण छन्, टुँडिखेल, खुलामञ्चदेखि लिएर भण्डारखाल, सिफल लगायत सबै सानो-ठूलो चौरमा खेलेको छु । मैले काठमाडौंमा नखेलेको कुनै पनि मैदान छैनन् होला । यो स्मृतिका कारण पनि काठमाडौंसँग मेरो छुट्टै सामिप्यता छ । यू–१५ देखि सिनियरसम्म बागमतीलाई प्रतिनिधित्व गरेको हुनाले त्यसको पनि अर्को सम्बन्ध छ ।’
शरदले सन् २००२ मा यूएईमा भएको एसीसी यू–१५ एसिया कपबाट अन्तर्राष्ट्रिय क्रिकेट खेल्न सुरु गरेका थिए । त्यसपछि नेपालको यू–१७, यू–१९ हुँदै शरदले २००४ मा पहिलो पटक राष्ट्रिय टोलीबाट खेलेका थिए । शरदले २०१४ मा नेपाललाई पहिलो पटक टी–२० विश्वकपमा पुर्याउन महत्त्वपूर्ण भूमिका खेलेका थिए ।
नेपालले २०१८ मा नेदरल्यान्ड्स गएर पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय खेल्दा शरद त्यो टोलीका सदस्य थिए । प्रथम श्रेणीको क्रिकेटमा नेपाली खेलाडीको व्यक्तिगत उच्च स्कोर ८९ रन रहेको छ, जुन शरदले २००५ मा कीर्तिपुरमा यूएईविरुद्ध इन्टर कन्टिनेन्टल कपमा बनाएका थिए ।
गत वर्ष हङकङ सुपर सिक्समा नेपालको कप्तानी गर्दै शरदले आफ्नो रंगीन खेल जिवनलाई टुग्याएका थिए । घरेलु क्रिकेटमा शरद निकै सफल खेलाडी तथा कप्तान थिए । नेपालका विभिन्न फ्रेन्चाइज प्रतियोगितामा शरदको कप्तानीमा ३ उपाधि जितेको थियो भने ३ मा उपविजेता बनेको थियो । यसको साथै शरदको नेतृत्वमा नेपाल एपीएफ क्लबले टी–२० र ५० ओभरमा गरी दुई घरेलु प्रतियोगिता जितेको थियो ।
शरदले अगाडि भने, ‘फ्रेन्चाइज लिगहरूसँग मेरो जुन अनुभव छ, त्यसलाई भरपुर प्रयोग गरेर काठमान्डु गोर्खाजलाई अगाडि बढाउनेमा म एकदम विश्वस्त छु । आउँदो सिजनका लागि एकदमै उत्साहित छु र यसलाई चुनौतीको रूपमा लिएको छु । आफ्नो तर्फबाट शतप्रतिशत दिएर राम्रो नतिजा ल्याउन प्रयास गर्नेछु ।’
