युवा खेलाडीको क्षमता अभिवृद्धि गर्दै अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि प्रतिभाशाली खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा विभिन्न प्रदेश टोलीबीच प्रतिस्पर्धा भएको थियो ।
काठमाडौँ — सहिद स्मृति राष्ट्रिय यू–२० पुरुष तथा महिला सेभेन्स रग्बी प्रतियोगितामा पुरुषतर्फ कर्णाली प्रदेश र महिलातर्फ बागमती प्रदेश च्याम्पियन भएको छ ।
युवा खेलाडीको क्षमता अभिवृद्धि गर्दै अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि प्रतिभाशाली खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा विभिन्न प्रदेश टोलीबीच प्रतिस्पर्धा भएको थियो ।
पुरुषतर्फ ५ र महिलातर्फ ४ प्रदेश टोलीको सहभागिता थियो । आयोजकका अनुसार प्रतियोगिताले युवा खेलाडीलाई राष्ट्रिय स्तरमा आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै आगामी नोभेम्बरमा भारतमा आयोजना हुने यू–२० एसियन रग्बी प्रतियोगिताका लागि नेपाली टोली छनोट गर्न पनि महत्वपूर्ण भूमिका खेल्नेछ ।
पुरुषतर्फ फाइनलमा कर्णालीले बागमती प्रदेशमाथि १५–१० गोलको रोमाञ्चक जित निकाल्यो । महिलाको फाइनलमा बागमतीले कोशी प्रदेशलाई ५–० ले पराजित गरेको हो । पुरुषतर्फ कर्णालीका मनोज ताम्राकार उत्कृष्ट खेलाडी भए । महिलातर्फ बागमतीकी पूजा डंगोल उत्कृष्ट खेलाडी घोषित भइन् ।
विजेतालाई एसिया रग्बीका उपाध्यक्ष तथा राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य–सचिव टंकलाल घिसिङले पुरस्कृत गरे ।
सहिद स्मृति स्पोर्ट्स एकेडेमीको आयोजना, बागमती प्रदेश खेलकुद विकास परिषद्को सहयोग, बागमती प्रदेश रग्बी संघको व्यवस्थापन तथा नेपाल रग्बी संघको समन्वयमा भएको आयोजका अध्यक्ष रञ्जित तामाङले जनाए ।
