आयोजक इटहरी पनि पुग्यो सेमिफाइनलमा ।
What you should know
सुनसरी — इटहरीमा जारी कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताअन्तर्गत तेस्रो क्वाटरफाइनल खेलमा इलामको आत्मा पवित्र एफसी मासेबुङले प्रभावशाली प्रदर्शन गर्दै धनकुटा जिल्ला फुटबल संघलाई ५–० गोल अन्तरले पराजित गरेको छ । एकतर्फी जित निकाल्दै इलामे टोलीले प्रतियोगिताको सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।
मंगलबार इटहरी रंगशालामा भएको खेलको सुरुआतदेखि नै इलामले आक्रामक खेल प्रदर्शन गरेको थियो । खेलको चौथो मिनेटमै वर्षा ओलीले गोल गर्दै टोलीलाई अग्रता दिलाएकी थिइन् । त्यसपछि १५ औं मिनेटमा कल्पना जिम्बाले अर्को गोल थप्दै इलामको अग्रता दोब्बर बनाइन् ।
लगातार दबाबमा परेको धनकुटाले खेलमा फर्किने प्रयास गरे पनि इलामको सशक्त मिडफिल्ड र आक्रमणपंक्तिलाई रोक्न सकेन । खेलको २५ औं मिनेटमा वर्षा ओलीले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३–० को मजबुत अवस्थामा पुर्याइन् । पहिलो हाफ सकिनुअघि नै ३७ औं मिनेटमा फेरि गोल गर्दै उनले हृयाट्रिक पूरा गरिन् र इलामलाई ४–० को आरामदायी अग्रता दिलाइन् ।
दोस्रो हाफमा पनि इलामको दबाब कायम रहृयो । खेलको ६३ औं मिनेटमा विमला चौधरीले अर्को गोल थप्दै टोलीको जितलाई ५–० मा पुर्याइन् । त्यसपछि बाँकी समयमा धनकुटाले केही अवसर सिर्जना गरे पनि गोल गर्न असफल रहृयो । वर्षा ओलीले हृयाट्रिकसहित उत्कृष्ट प्रदर्शन गरेपछि उनी खेलको ‘प्लेयर अफ द म्याच’ घोषित भइन् । उनलाई प्रेस युनियन सुनसरीका अध्यक्ष ध्रुव ढकालले नगद ५ हजार रुपैयाँसहित ट्रफी प्रदान गरे । अन्तिम क्वाटरफाइनल खेलमा आयोजक इटहरी फुटबल क्लबले गाईघाट फुटबल क्लब उदयपुरलाई ३–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।
घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गरेको इटहरीले सुरुदेखि नै खेलमा पकड जमाउँदै उदयपुरमाथि दबाब कायम राखेको थियो । लगातार आक्रमण र सन्तुलित खेलमार्फत जित निकाल्दै इटहरीले अन्तिम चारको यात्रा तय गरेको हो । यससँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।
प्रतियोगिताअन्तर्गत बुधबारको पहिलो सेमिफाइनल खेलमा धरानको फेयर फुटबल क्लब र तेह्रथुमको सृजनशील महिला फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । धरानले काँकडभिट्टा महिला फुटबल क्लब झापालाई पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको हो । तेह्रथुमले बेलबारी फुटबल क्लब मोरङलाई पराजित गर्दै धरानसँगको सेमिफाइनल भिडन्त पक्का गरेको हो ।
बिहीबारको दोस्रो तथा अन्तिम सेमिफाइनलमा आयोजक इटहरी र इलामबीच खेल हुनेछ । फाइनल खेल शनिबार हुनेछ । फाइनलको विजेताले नगद २ लाख र उपविजेताले १ लाख रुपैयाँ पुरस्कार पाउनेछ । प्रतियोगिता कोशी प्रदेश खेलकुद विकास बोर्डको संयोजनमा भएको हो ।
