नर्वे र आइभोरी कोस्ट विश्वकप फुटबलको अन्तिम ३२ को प्रतिस्पर्धामा अमेरिकाको डालासमा राति १०:४५ देखि प्रतिस्पर्धा गर्दैछन् । विजेता टिमले अन्तिम १६ मा ब्राजिलसँग खेल्ने छ ।
डालास — नर्वे र आइभोरी कोस्ट विश्वकप फुटबलको अन्तिम ३२ को प्रतिस्पर्धामा अमेरिकाको डालासमा प्रतिस्पर्धा गर्दैछन् । नर्वे र आइभोरी कोस्टबीचको विजेताले अन्तिम १६ मा ब्राजिलसँग खेल्ने छ ।
यस खेललाई नर्वेका स्ट्राइकर इर्लिङ हालान्ड र आइभोरीको कोस्टका मजबुत रक्षापंक्तिको प्रतिस्पर्धाको रुपमा पनि हेरिएको छ । हालान्डले पहिलो दुई खेलमै २–२ गोल गरेका थिए । फ्रान्ससँगको अन्तिम खेलमा नर्वेले १० खेलाडी परिवर्तन गर्दा हालान्डलाई पनि ‘रेस्ट’ दिएको थियो ।
नर्वेका प्रशिक्षक स्टेल सोलबाकेनले हालान्डलाई ‘विश्वका एक उत्कृष्ट स्ट्राइकर’ मान्छन् । ‘उनी हाम्रा लागि ठूला नेतृत्वकर्ता हुन्, उनले मैदानमा यसको उदाहरण देखाउँछन्,’ उनले आइभोरी कोस्टसँगको खेललाई लिएर भनेका थिए, ‘जब बल उसको अधिनमा पुग्छ, त्यसपछि निश्चित नै केही हुन्छ भनेर अनुमान गर्न सकिन्छ ।’
नर्वेले पहिलो खेलमा इराकलाई ४–१ ले पराजित गरेको थियो भने सेनेगलमाथि दोस्रो खेलमा ३–२ को विजय हात पारेको थियो । तर टोली अन्तिम खेलमा फ्रान्ससँग ४–१ गोलले पराजित भएको थियो ।
आइभोरी कोस्टले पहिलो खेलमा इक्वेडरलाई १–० ले पराजित गरेको थियो । तर त्यसपछि टोली जर्मनीसँग २–१ ले पराजित भएको थियो । अन्तिम खेलमा कुरासाओलाई २–० ले पराजित गरी समूह ‘ई’ को उपविजेताको रुपमा अन्तिम ३२ मा प्रवेश गरेको थियो ।
