१५ स्वर्ण, ८ रजत र १० कांस्यका साथ यान्सुब डोजाङ कागेश्वरी मनोहरा नगरस्तरीय तेक्वान्दो प्रतियोगिताको टिम च्याम्पियन बन्न सफल भयो ।
काठमाडौं — यान्सुब तेक्वान्दो डोजाङले प्रथम कागेश्वरी मनोहरा नगरस्तरीय तेक्वान्दो प्रतियोगिताको उपाधि जितेको छ । यान्सुब १५ स्वर्ण, ८ रजत र १० कांस्यसाथ टिम च्याम्पियन बन्यो ।
कागेश्वरी मनोहरा नगरपालिकाको सहयोगमा कागेश्वरी मनोहरा नगर तेक्वान्दो विकास समितिद्वारा आयोजित प्रतियोगितामा चन्द्रसूर्य तेक्वान्दो डोजाङ १४ स्वर्ण, १२ रजत र १३ कांस्यसाथ दोस्रो भयो ।
तेस्रो स्थानको थली तेक्वान्दो डोजाङले ७ स्वर्ण, ४ रजत र १४ कांस्य हात पार्यो । शीर्ष ३ स्थानमा रहने टिमले क्रमशः १५ हजार, १० हजार र ५ हजार पुरस्कार प्राप्त गरे ।
ग्योरोगीको पुरुषमा मूलपानी तेक्वान्दो डोजाङका भिजन तामाङ र महिलामा थलीकी पेमा गुरुङ उत्कृष्ट खेलाडी घोषित भए । पुम्सेको पुरुषमा प्रिन्सकुमार राम र महिलामा रेन्जिङ चौलागाईं उत्कृष्ट चुनिए । दुवै चन्द्रसूर्यका हुन् ।
विजेतालाई कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्की, उपमेयर शान्ता थापा, राष्ट्रिय खेलकुद परिषद्की पूर्वकार्यकारी समितिकी सदस्य नन्दा बस्याल, काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गी, नेप्लिज तेक्वान्दो एकेडेमीका अध्यक्ष अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का, आयोजक समितिका अध्यक्ष राजकुमार श्रेष्ठलगायतले पुरस्कृत गरे ।
सोही अवसरमा छैटौं बागमती प्रदेशस्तरीय जुनियर मेयर कप आमन्त्रण तेक्वान्दो प्रतियोगिताका स्वर्ण विजेता गिरिश श्रेष्ठ, रजत विजेता इशाक तामाङ, आयुश साउद र सीमा जर्घामगर तथा कांस्य विजेता नेरिया श्रेष्ठलाई सम्मान गरिएको थियो । पदक विजेता सबै कागेश्वरी मनोहरा नगरपालिकाका हुन् ।
एकदिने प्रतियोगितामा २५५ खेलाडी विभिन्न ४५ स्पर्धामा प्रतिस्पर्धा गरेको आयोजक समितिका सचिव विश्वास अर्यालले जनाएका छन् ।
