ब्राजिललाई जापानको चुनौती

ब्राजिल र जापानबीचको विजेताले नर्वे र आइभरी कोष्टबीचको विजेतासँग अन्तिम १६ मा खेल्ने छ ।

असार १५, २०८३

एएफपी

Japan's challenge to Brazil

ह्युस्टन — छैटौं पटक विश्वकप फुटबलको उपाधि जित्ने दाउमा रहेको ब्राजिलले सोमबार राति २२.४५ को खेलमा जापानको सामना गर्दैछ । ब्राजिल र जापानबीचको विजेताले नर्वे र आइभरी कोष्टबीचको विजेतासँग अन्तिम १६ मा खेल्ने छ । 

ब्राजिलले अन्तिम पटक विश्वकप जितेको पनि २४ वर्ष भइसकेको छ । ब्राजिलको यसपटकको यात्रा पनि त्यत्ति सहज भएन । कार्लो एन्सेलोटीको टोलीलाई पहिलो खेलमै मोरक्कोले १–१ को बराबरीमा रोकिदिएको थियो । तर ब्राजिलले मोरक्कोलाई उछिन्दै समूह विजेता भएको थियो । 

ब्राजिलको समूह चरणको यात्रामा भिनिसिय जुनियर प्रमुख खेलाडीको रुपमा रहे । उनले ४ गोल गर्दै ब्राजिलको छबिलाई पुनः दाबेदारमा उभ्याए । तर ह्युस्टनमा हुने खेलमा जापानको चुनौतीलाई पन्छाउन ब्राजिललाई त्यत्ति सहज हुने छैन । गत अक्टोबरमा भएको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा जापानले ब्राजिललाई ३–२ ले पराजित गरेको थियो । ब्राजिलका कप्तान मार्कुन्होजले उक्त खेल आफुहरूका लागि सिक्ने अवसर भएको जनाएका थिए । 

ब्राजिललाई विश्वकपबाट बाहिर पठाउने पछिल्लो गैर युरोपियन टोली अर्जेन्टिना थियो । क्लाउडियो क्यानिजियाको गोलमा १९९० मा इटालीमा अर्जेन्टिनाले अन्तिम १६ को प्रतिस्पर्धामा ब्राजिललाई १–० ले पराजित गरेको थियो । जापान पनि ब्राजिललाई पराजित गर्नेमा विश्वस्त रहेको छ । 

‘हाम्रो टिम एकबद्ध छ, त्यो अनुभव झन बलियो भएको छ,’ जापानका प्रशिक्षक हाजिमे मोरियासुले भने । जापान समूह ‘एफ’ मा नेदरल्यान्ड्स पछाडि उपविजेता रहेको थियो । नेदरल्यान्ड्ससँग पहिलो खेलमा २–२ को नतिजा निकालेको जापानले त्यसपछि ट्युनिसियालाई ४–० ले पराजित गरेको थियो भने स्विडेनसँग अन्तिम खेलमा १–१ को नतिजा निकालेको थियो ।

विश्वकप २०२६

एएफपी

Link copied successfully