लस एन्जलसमा हुने यस खेलको विजेताले अन्तिम १६ मा नेदरल्यान्ड्स र मोरक्को बीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
लस एन्जलस — क्यानडा र दक्षिण अफ्रिका विश्वकप फुटबल २०२६ को अन्तिम ३२ को पहिलो खेलमा सोमबार बिहान ००.४५ मा प्रतिस्पर्धा गर्दैछन् । लस एन्जलसमा हुने यस खेलको विजेताले अन्तिम १६ मा नेदरल्यान्ड्स र मोरक्कोबीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
दुवै टोली नकआउट चरणमा पहिलो पटक प्रवेश गरेका हुन् । दुवै टोली आ-आफ्नो समूहको उपविजेता भएका थिए र त्यस क्रममा दुवै टोलीले ४–४ अंक बटुलेका थिए ।
सहआयोजक क्यानडा पहिलो खेलमा बोस्निया हर्जगोभिनियासँग १–१ को बराबरीमा रोकिएको थियो भने त्यसपछि जोनाथन डेबिडको ह्याट्रिकमा कतारलाई ६–० ले पराजित गरेको थियो । क्यानडा समूह चरणको अन्तिम खेलमा भने स्विटजरल्यान्डसँग २–१ ले पराजित भएको थियो ।
विश्वकपको पहिलो खेलमै सहआयोजक मेक्सिकोसँग २–० ले पराजित दक्षिण अफ्रिकाले त्यसपछि चेकियासँग १–१ को बराबरीको नतिजा निकालेको थियो । अन्तिम खेलमा दक्षिण कोरियालाई १–० ले पराजित गर्दै दक्षिण अफ्रिकाले नकआउट चरणको यात्रा गरेको हो ।
बायर्न म्युनिखबाट च्याम्पियन्स लिगको सेमिफाइनलमा खेल्दा ह्यामस्ट्रिङ भएका क्यानडाका कप्तान अल्फोन्सो डेभिसले त्यसयता कुनै खेल खेलेका छैनन् । तर बेन्चमा रहेका डेभिसले दक्षिण अफ्रिकाविरुद्ध बेन्चबाट आएर खेल्ने अनुमान गरिएको छ । स्विट्जरल्यान्डसँगको खेलबाट क्यानडाले ४ खेलाडी परिवर्तन गरेको छ ।
