१६ देखि २० असारसम्म हुने १६औं दक्षिण एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा सहभागी हुन ५ पुरुष र २ महिला खेलाडी मंगलबार भुटान जान लागेका हुन्ले ।
काठमाडौं — १६औं दक्षिण एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा भाग लिन ७ खेलाडीसहित ९ सदस्यीय नेपाली टोली मंगलबार भुटानको थिम्पु जाने भएको छ ।
१६ देखि २० असारसम्म हुने प्रतियोगितामा ५ पुरुष र २ महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
पुरुष ७५ केजीमा सगेन्द्र सिंह, ८० केजीमा दीपजंग रोका मगर, ८५ केजीमा सागर श्रेष्ठ, स्पोर्ट्स फिजिक १७० सेमिमुनि आकाश श्रेष्ठ र स्पोर्ट्स फिजिक १७० सेमिमाथि पुकार शाक्यले प्रतिस्पर्धा गर्नेछन् । महिला मोडल फिजिक १५५ सेमिमाथि बिनु जीटी तथा स्विमसुटमा सीता खत्रीले भाग लिने छन् ।
नवौं मिस्टर हिमालय र दोस्रो मिस्टर महानगर शारीरिक सुगठन प्रतियोगितालाई मध्यनजर गरी खेलाडी छनोट गरिएको महासंघले जनाएको छ । अफिसियलमा नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघका सचिव दिनेशकुमार राजभण्डारी र निर्णायकमा जोनसन जोनछेन छन् ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष विशाल श्रेष्ठले सोमबार बिदाइ गरे ।
दक्षिण एसियाली शारीरिक सुगठनको पहिलो संस्करणदेखि निरन्तर सहभागी नेपालले हालसम्म १२ स्वर्ण, १६ रजत र १९ कांस्य जितेको महासंघले जनाएको छ । १५ मध्ये ३ संस्करण नेपालमै भएको थियो ।
