महानगर कप ब्याडमिन्टनमा वडा १५ का खेलाडीहरूले महिला एकल र मिक्स डबल्स उपाधि जितेर प्रतियोगितामा उत्कृष्टता प्रदर्शन गरे ।
What you should know
काठमाडौं — काठमाडौं महानगर कप वडास्तरीय ब्याडमिन्टन प्रतियोगितामा वडा १५ ले दुई विधाको उपाधि जित्दै वर्चस्व कायम गरेको छ ।
काठमाडौं–१५ स्थित एनओसी भूकम्प स्मृति कभर्डहलमा सम्पन्न फाइनल खेलमा महिला एकलतर्फ अजारेन्का शेरचन च्याम्पियन भइन् । मिक्स डबल्सतर्फ अनिश तुलाधर तथा विद्या श्रेष्ठको जोडी च्याम्पियन बन्यो । पुरुष एकलको उपाधि भने वडा १० का बविश थापाले जितेका थिए ।
पुरुष एकल फाइनलमा बबिशले वडा १५ का स्वयम मानन्धरलाई २१–१२, २१–९ को सोझो सेटमा हराए । च्याम्पियन बबिशले ३२ हजार र उपविजेता स्वयमले २० हजार रुपैयाँ हात पारे ।
महिला एकल फाइनलमा वडा १५ की अजारेन्काले वडा ६ की शिस्तता कुइँकेललाई २१–११, २१–९ ले हराइन् । उनले ३२ हजार पुरस्कार प्राप्त गरिन् । उपविजेताले २० हजार रुपैयाँ पाइन् ।
मिक्स डबल्स फाइनलमा अनिश र विद्याको जोडीले सक्षम ढकाल र विभा थापाको जोडीलाई २–१ को सेटमा हराएर उपाधि जित्यो । विजेताले ४० हजार र उपविजेता जोडीले ३० हजार रुपैयाँ पुरस्कार पाए ।
काठमाडौं महानगरपालिका तथा काठमाडौं जिल्ला ब्याडमिन्टन संघको संयुक्त आयोजनामा भएको प्रतियोगितामा पुरुष तथा महिला एकलतर्फ शीर्ष आठ स्थानसम्म र मिक्स डबल्समा पनि शीर्ष आठ टोलीसम्मलाई नगद पुरस्कार प्रदान गरिएको थियो छ । तीनै विधामा कुल २ लाख ८२ हजार रुपैयाँ पुरस्कार वितरण गरिएको थियो ।
विजेतालाई काठमाडौं महानगरपालिकाकी कार्यबाहक मेयर सुनिता डंगोल, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ, नेपाल ओलम्पिक कमिटी (एनओसी)का महासचिव राजीव श्रेष्ठ, काठमाडौं नगरपालिका सामाजिक विकास समितिका सभापति रामकुमार केसी तथा काठमाडौं जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष एवं नेपाल ब्याडमिन्टन संघका सचिव दीपक थापाले ट्रफी, पदक र चेक प्रदान गरेका थिए ।
समापन समारोहमा ब्याडमिन्टनका पूर्व खेलाडी कुमार मोहनबहादुर शाहीलाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’बाट सम्मान गरिएको थियो ।
३६ लाख बजेट खर्च भएको प्रतियोगिता राजधानीकै सबैभन्दा ठूलो सामुदायिक ब्याडमिन्टन प्रतियोगिता भएको आयोजकले दाबी गरेको छ । प्रतियोगिताले ३२ वटै वडालाई एउटै खेलमञ्चमा जोड्ने उद्देश्य बोकेको थियो ।
