दुईपल्टको विश्वकप विजेता यसपल्ट लिग चरणबाटै बाहिरियो । यसको सबै दोष स्वीकार्न बिएल्सा तयार छन् । स्पेनविरुद्धको खेल उरुग्वेले शुक्रबार १–० ले गुमाएको थियो ।
What you should know
ग्वाडालाराजा — प्रशिक्षक मार्सेलो बिएल्सालाई के लागेको छ भने विश्वकप २०२६ का तीन खेलबाट उरुग्वेले धेरै अंक बटुल्नुपर्ने हो, तर अन्त्यमा त्यस्तो केही भएन । दुईपल्टको विश्वकप विजेता यसपल्ट लिग चरणबाटै बाहिरियो ।
यसको सबै दोष स्वीकार्न बिएल्सा तयार छन् । स्पेनविरुद्धको खेल उरुग्वेले शुक्रबार १–० ले गुमाएको थियो । त्यसमा गोलरक्षक फर्नान्डो मुसलेराको गल्ती बढी जिम्मेवार थियो । त्यसअघि उरुग्वेले केप भार्डे र साउदी अरेबियाविरुद्धको खेलमा निराशाजनक बराबरीमा चित्त बुझाउनुपरेको थियो ।
‘हामीले ७ अंक बटुल्नुपर्ने थियो, तर २ अंकमै मात्र सीमित रह्यौं,’ बिएल्साले भने, ‘हामीले आफ्नो उद्देश्यअनुसार खेल्न सकेनौं । हामीले जति अवसर सिर्जना गर्यौं, त्यसलाई निर्णायक पनि बनाउन सकेनौं ।’
उनले थपे, ‘उरुग्वेका जति पत्रकार र समर्थक छन्, सबैले मलाई नै दोषी मानिरहेका छन् । म के पनि मान्छु भने टिमको यो खराब प्रदर्शनको जिम्मेवारी म नै लिन्छु र यो तथ्यलाई स्वीकार पनि गर्छु ।’
केप भार्डेले गरेको दुवै गोलमा पनि गोलरक्षक मुसलेरा नै जिम्मेवार थिए । स्पेनविरुद्ध पनि बिएल्साले यी ४० वर्षीय खेलाडीलाई ‘सब्स्टिच्युट’ गर्ने निर्णय गरेका थिए । उनले खेलले एक घण्टा छुँदा रियल म्याड्रिडका फेडरिको भाल्भारडेलाई पनि निकाल्ने निर्णय गरे । यो पनि विवादास्पद रह्यो । बिएल्साको यसबारे भनाइ थियो, ‘मुसलेरा आफैंले मध्यान्तरमा आफूबाहिर रहने निर्णय सुनाएका थिए । भाल्भारडेलाई निकालेर फेडरिको भिनासालई छिराउने निर्णय भने मेरो हो, यसले हाम्रो आक्रमण केही तिखो हुने विश्वास थियो ।’
मुसलेरालाई लगातार विश्वास गर्ने बिएल्साको निर्णय अन्ततः गलत साबित भयो तर उनले यसको कारण सन् २०१० को विश्वकपमा उनले गरेको प्रदर्शन रहेको बताए । त्यस विश्वकपमा उरुग्वे सेमिफाइनलसम्म पुगेको थियो । ‘मुसलेराको प्रदर्शन खराब रहेको तथ्य म पनि स्वीकार्छु, तर उनले यो सिजन असाध्यै राम्रो खेलेका छन् र उनको व्यक्तित्व आफैंमा बलियो छ,’ अर्जेन्टिनी प्रशिक्षक बिएल्साले भने ।
बिएल्साकै अनुरोधमा संन्यास लिइसकेका ४० वर्षीय गोलरक्षक मुसरेला उरुग्वेली टिममा फर्केका थिए । अन्त्यमा उरुग्वेको प्रशिक्षकका रूपमा बिएल्साले बिताएका पछिल्लो तीन वर्षबारे निराशा पोखे । यी ७० वर्षीय प्रशिक्षकको निचोड थियो, ‘मैले आफ्नो कार्यकालबारे धेरै भन्न केही पनि आवश्यक छैन । मैले यसबीच केही पनि सम्झनालायक काम गर्न सकिनँ ।’
‘मैले उरुग्वेली प्रशिक्षकको रूपमा केही पनि उपलब्धि हात परेन,’ उनले माने । यस विश्वकपसँगै प्रशिक्षकका रूपमा उनको खेल जीवनले पनि सम्भवतः अन्त्य पाएको विश्वास गरिएको छ । यद्यपि उनी आएयता समग्रमा उरुग्वेको प्रदर्शन भने सुधारिएको थियो । उनले कतार विश्वकपपछि उरुग्वेली टिम सम्हालेका हुन् । यसबीच पुस्ता हस्तान्तरणको समयबाट पनि टिम गुज्रिएको थियो ।
