भलिबलकी उषालाई सृष्टि वुमेन्स अवार्ड

इन्टरनेसनल इनर ह्विल डिस्ट्रिक्ट ३५० को आयोजनामा शनिबार भएको कार्यक्रममा भलिबल खेलाडी उषा सम्मानित भएकी हुन् ।

असार १३, २०८३

कान्तिपुर संवाददाता

Volleyball player Usha wins Srishti Women's Award

काठमाडौँ — राष्ट्रिय महिला भलिबल टोलीकी स्पाइकर उषा भण्डारी शनिबार इनर ह्विल डा. सृष्टि वुमेन्स एक्सिलेन्स अवार्डबाट सम्मानित भएकी छन् ।

इन्टरनेसनल इनर ह्विल डिस्ट्रिक्ट ३५० को आयोजनामा शनिबार भएको कार्यक्रममा भलिबल खेलाडी उषा सम्मानित भएकी हुन् । सन् १९२५ मा बेलायतको म्यानचेस्टरबाट सुरु भएको यस संस्था हाल विश्वभर १ सयभन्दा बढी राष्ट्रमा फैलिएको छ ।

नेपालमा इनर ह्विल डिस्ट्रिक्ट ३५० अन्तर्गत ४४ इनर ह्विल क्लब छन् । यो महिलाको विश्वमा सबैभन्दा ठूलो सामाजिक संस्था हो । संस्थाले हरेक वर्ष एक नेपाली महिला खेलाडीलाई सम्मान गर्दै आएको छ । संस्थाले गत वर्ष करातेकी खेलाडी एरिका गुरुङलाई सम्मान गरेको थियो ।

उषालाई संस्थाकी अध्यक्ष सृष्टि श्रेष्ठ प्रजापतिले २५ हजारसहित सम्मानपत्र प्रदान गरिन् । यस पटक सम्मानित खेलाडी छनोटमा दक्षिण एसियाली खेलकुदका दोहोरो स्वर्ण विजेता तथा राष्ट्रिय कराते प्रशिक्षक मण्डेकाजी श्रेष्ठ थिए ।

कान्तिपुर

Link copied successfully