नेदरल्यान्ड्सको हातबाट ३–१ ले पराजित भएसँगै ट्युनिसियाले यस विश्वकपको लिग चरणमा एउटै खेल जित्न सकेन।
लस एन्जलस — ट्युनिसियाको विश्वकप २०२६ मा खराब प्रदर्शनको क्रम टुंगिएको छ । समूह ‘एफ’ को लिग चरणको अन्तिम खेलमा ट्युनिसिया नेदरल्यान्ड्सको हातबाट ३–१ ले पराजित रह्यो । तीन खेलबाट उसले एकै अंक पनि बटुल्न सकेन । बरू उल्टै ‘माइनस’ १० गोलको अन्तरमा रह्यो ।
यसलाई विश्वकप इतिहासमै एक खराब प्रदर्शनका रूपमा मानिनेछ । ट्युनिसिया आफ्नो पहिलो खेलमा स्विडेनसँग ५–१ ले पराजित रह्यो । लगत्तै अर्को खेलमा जापानले ट्युनिसियालाई ४–० ले हरायो । पहिलो खेल लगत्तै ट्युनिसियाले आफ्ना प्रशिक्षक साब्री लामोचीलाई बर्खास्त गरेको थियो ।
त्यसपछि प्रशिक्षकको भूमिकामा आए, हार्भे रोनार्ड । उनले पनि टिमको भाग्य परिवर्तन गर्न सकेनन् । विश्वकप जित र सफलताको कथा मात्र होइन । यो त हार र असफलताको कथा पनि हो । विश्वकपमा अहिलेसम्मकै खराब प्रदर्शन कुन–कुन हुन् त ? यसैलाई अब पछाडि हेर्दै छौं, ट्युनिसियाको जस्तै खराब प्रदर्शन गरेका ९ टिम ।
१. उत्तर कोरिया (सन् २०१०)
उत्तर कोरियाको सुरुआत धेरै हदसम्म राम्रो रह्यो भन्दा हुन्छ । समूह ‘जी’ को पहिलो खेलमा उत्तर कोरियालाई ब्राजिलले २–१ ले हराएको थियो । त्यसपछि क्रिस्टियानो रोनाल्डोको पोर्चुगलले उसलाई ७–० ले हरायो । लगत्तै खेलमा आइभोरी कोस्टसँग पनि उत्तर कोरिया ३–० ले पराजित रह्यो ।
२. साउदी अरेबिया (सन् २००२)
साउदी अरेबियाको सुरुआत त्यस्तो रह्यो, जस्तो कसैले पनि चिताउन सक्दैन । आफ्नो पहिलो खेलमै जर्मनीले साउदीलाई ८–० ले हरायो । त्यसमा मिरोस्लाभ क्लोजले ह्याट्रिक गरेका थिए । यही खेलमा त हो उनले विश्वकपमा गोलको खाता खोलेको । त्यसपछि साउदी अरेबिया क्यामरुनसँग १–० र गणतान्त्रिक आयरल्यान्डसँग ३–० ले हार्यो ।
३. ग्रिस (सन् २००४ं)
ग्रिसले त लिग चरणका तीन खेलमा एकै गोल गर्न सकेन र खाली विपक्षी टिमबाट गोल मात्र खायो । अर्जेन्टिना र बुल्गेरियाविरुद्धका सुरुआती दुई खेलमा ग्रिस समान ४–० ले पराजित भयो । त्यसपछि अन्त्तिम खेलमा पनि नाइजेरियासँग २–० ले खेल गुमायो । उल्लेखनीय एउटा तथ्य के भने नाइजेरियाले नै यो समूह जितेको थियो ।
४. एल साल्भाडोर (सन् १९८२)
एल साल्भाडोरको नाममा विश्वकपकै सर्वाधिक हारको कीर्तिमान छ । आफ्नो पहिलो खेलमै एल साल्भाडोर हंगेरीसँग १०–१ ले पराजित भयो । यो नै विश्वकपमा अहिलेसम्मको सबैभन्दा ठूलो हारको अन्तर रहेको छ । त्यसपछि यही टिम बेल्जियम र अर्जेन्टिनासँग पनि पराजित रह्यो । संयोगले हंगेरी पनि यो समूहबाट अर्को चरण पुग्न भने सकेन ।
५. न्युजिल्यान्ड (सन् १९८२)
न्युजिल्यान्डले विश्वकपमा डेब्यु गरेको यही बेला हो । टोलीको यो यात्रा वास्तवमै बिर्सनलायक रह्यो । न्युजिल्यान्डले आफ्नो पहिलो खेल स्कटल्यान्डसँग ५–२ ले गुमाएको थियो । त्यसपछि न्युजिल्यान्ड तत्कालीन सोभियत संघसँग ३–० र ब्राजिलसँग ५–० ले नराम्रोसँग पराजित भयो ।
६. मेक्सिको (सन् १९७८)
यो खराब प्रदर्शन सूचीमा सबैभन्दा अनपेक्षित नाम यही मेक्सिकोको रहेको छ । सुरुमै मेक्सिको ट्युनिसियासँग ३–१ ले हारेको थियो । त्यसपछि खेलको नतिजा झन स्वीकार्य थिएन । मेक्सिकोमाथि तत्कालीन पश्चिम जर्मनीले ६–० र पोल्यान्डले ३–१ को जित दर्ता गरेको थियो ।
७. जायर (सन् १९७४)
त्यतिबेला डीआर कंगोको नाम थियो, जायर । टोलीका लागि विश्वकपको त्यो अनुभव मीठो रहेन । पहिलो खेलमै जायर तत्कालीन युगोस्लाभाकियासँग असाध्यै नराम्रो ढंगले ९–० ले पराजित भयो । त्यसपछिका खेलमा टोलीले आत्मसात् गरेको नतिजा हो, स्कटल्यान्डसँग २–० र ब्राजिलसँग २–० हारको ।
८. हाइटी (सन् १९७४)
डीआर कंगोले जस्तै हाइटीले पनि ५२ वर्षअगाडि विश्वकप खेलेको थियो । तर कंगोका लागि पनि प्रदर्शन सुखद रहन सकेन । टोलीले पनि उत्तिकै १४ गोल खाएको थियो र प्रदर्शन बिर्सनलायक नै रह्यो । त्यसमा इटालीसँग ३–१, पोल्यान्डसँग ७–० र अर्जेन्टिनासँग ४–१ को हार रहेको छ ।
९. दक्षिण कोरिया (सन् १९५४)
विश्वकपमा सबैभन्दा खराब प्रदर्शनको कीर्तिमान अचम्मले दक्षिण कोरियाको नाममा छ । यसमा अहिलेको एसियाली शक्तिलाई पटक्कै रूचि रहने छैन । आफ्नो पहिलो विश्वकप खेलमै दक्षिण कोरिया हंगेरीसँग ९–० ले हारेको थियो । त्यसपछि दोस्रो खेलमा टर्कीको हातबाट ७–० ले पराजित रह्यो । त्यतिबेला तीन टिमको समूह थियो ।
