रेनुका सर्वोत्कृष्ट महिला खेलाडीबाट सम्मानित

योङ स्टार फाउन्डेसनले रेनुकालाई वर्ष २०८२ को सर्वोत्कृष्ट महिला फुटबल खेलाडी सम्मानसहित १ लाख रुपैयाँ प्रदान गरेको थियो ।

असार १३, २०८३

कान्तिपुर संवाददाता

Renu awarded as best female player

What you should know

काठमाडौँ — राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान रेनुका नगरकोटे शनिबार सर्वोत्कृष्ट महिला फुटबल खेलाडी अवार्डबाट सम्मानित भएकी छन् ।

योङ स्टार फाउन्डेसनले रेनुकालाई वर्ष २०८२ को सर्वोत्कृष्ट महिला फुटबल खेलाडी सम्मानसहित १ लाख रुपैयाँ प्रदान गरेको थियो ।

योङ स्टार फाउण्डेसनका अध्यक्ष मोहनचन्द्र सिंहले एपीएफ क्लबमा आबद्ध रेनुकालाई अवार्डसहित सम्मान प्रदान गरेका थिए । कार्यक्रममा नेपाली राष्ट्रिय महिला टोलीकी पूर्वकप्तान अनु लामाको आतिथ्यता रहेको थियो ।

फाउण्डेसनले नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) सँगको सहकार्यमा गत वर्षदेखि उत्कृष्ट महिला फुटबल खेलाडीलाई सम्मान प्रदान गर्दै आएको छ ।

घरेलु महिला फुटबलमा गरेको योगदान र प्रदर्शनका आधारमा हरेक वर्ष एक महिला खेलाडीलाई सम्मान गर्दै आएको फाउन्डेसनले जनाएको छ ।

रेनुकाले सन् २०१० देखि नियमित राष्ट्रिय टोली छिन् । उनले टोलीबाट ६३ खेल खेलेकी छिन् । उनले २० खेलमा कप्तानी जिम्मेवारी पाएकी थिइन् ।

सम्मानित रेनुकाले आफ्ना लागि यो सम्मानले एकदमै खुसी दिलाएको बताइन् । ‘महिला खेलाडीको हौसला बढाउन यो अवार्ड सुरु गरिएको पाउँदा धेरै खुसी लागेको छ । मलाई यो सम्मान पाउँदा गौरवान्वित महसुस भएको छ । नेपाली फुटबलमा लगातार योगदान गर्न यसले थप प्रेरणा मिल्ने आशा छ ।’ उनले यस्ता अवार्डले खेलकुदमै लागिरहन प्रेरित गर्ने उनको भनाइ थियो । गत वर्ष यो अवार्ड फुटबलकै प्रीति राई पाएकी थिइन् ।

सोही कार्यक्रमबाट ‘अल्फा सिएरा माइक’ नामक पुस्तक पनि विमोचन गरिएको थियो । पुस्तक फाउन्डेसनका अध्यक्ष मोहनचन्द्र सिंहबाट लेखेका हुन् । उनले आफ्नो नेपाली उड्डयन, खेलकुद  र मिडिया क्षेत्रसँग जोडिएका विषयलाई पुस्तकमार्फत उजागर गरेका छन् । कार्यक्रममा उड्डयन, मिडिया, खेलकुद क्षेत्रका व्यक्तित्वको बाक्लो उपस्थिति रहेको थियो ।

कान्तिपुर

Link copied successfully