प्रतियोगिताको विजेता टिमले ट्रफीसहित २ लाख ५१ हजार, दोस्रोले १ लाख २५ हजार र तेस्रोले ५० हजार पुरस्कार प्राप्त गर्नेछ ।
What you should know
सुनसरी — केपीएल कप अन्तर्राष्ट्रिय आमन्त्रण क्रिकेट प्रतियोगितामा इटहरी सुपर किंग्सले विजयी सुरुआत गरेको छ । शनिबार भएको खेलमा भारतको आरएमएल स्पोर्ट्स एकेडेमीलाई ७ विकेटले पराजित गर्दै इटहरीले प्रतियोगितामा बलियो सुरुआत गरेको हो ।
सुनसरीको भोक्राहास्थित डाक्टर खलिल आजाद क्रिकेट खेल मैदानमा पहिले ब्याटिङ गरेको आरएमएल स्पोर्ट्स एकेडेमीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय १३ रन बनाएको थियो । मन्जुल डुडेले २८ रन बनाउँदा अबान जाफ्रीले २४ रन जोडे । अनुभव सिंहले १८ र सन्दीप गुप्ताले १५ रन बटुलेपछि आरएमएलले १ सय १३ रनको सामान्य योगफल खडा गरेको हो ।
जवाफी ब्याटिङमा उत्रिएको इटहरी सुपर किंग्सले ९.२ ओभरमा ३ विकेट गुमाएर १ सय १६ रन बनाउँदै सहज जित हात पार्यो । इटहरीको जितमा अर्जुन घर्ती मगरले विस्फोटक ब्याटिङ गर्दै अविजित ५२ रन बनाए । उनले मात्र १७ बलमा १ चौका र ७ छक्का प्रहार गर्दै टोलीलाई जितसम्म पुर्याए । आकाश सर्राफले २२ बलमा ३० रन जोड्दा सुजन थपलियाले ११ बलमा १७ रनको योगदान दिए । सुमित श्रेष्ठ ५ बलमा १० रनमा अविजित रहे । इटहरीले अतिरिक्तबाट ६ रन प्राप्त गरेको थियो ।
छोटो लक्ष्य पछ्याउँदा आक्रामक ब्याटिङ प्रदर्शन गरेको इटहरी सुपर किंग्सले प्रतियोगितामा आफूलाई उपाधि दाबेदारका रूपमा प्रस्तुत गरेको छ । प्रतियोगितामा नेपाल र भारतका गरी ६ टिमले सहभागिता जनाएका छन् ।
केपीएल ग्रुपको आयोजनामा जारी प्रतियोगितामा नेपालतर्फका इटहरी किंग्स, मिल्स क्रिकेट एकेडेमी विराटनगर र छिन्नमस्ता क्रिकेट क्लब सप्तरीले सहभागिता जनाएका छन् । भारतबाट आरएमएल स्पोर्ट्स एकेडेमी नयाँ दिल्ली, एचपीसीए स्पोर्ट्स क्लब पटना र केसीसी क्रिकेट क्लब वीरपुरको सहभागिता छ ।
प्रतियोगिताको फाइनल असार २३ गते खेलाइने आयोजक केपीएल ग्रुपका अध्यक्ष अफजल हुसेनले जानकारी दिए । प्रतियोगिताको विजेता टिमले ट्रफीसहित २ लाख ५१ हजार, दोस्रोले १ लाख २५ हजार र तेस्रोले ५० हजार पुरस्कार प्राप्त गर्नेछ ।
क्यानको तालिका अनुकूल नहुँदा कोशी प्राइड लिग बेलैमा गर्न नपाएको केपीएल ग्रुपले क्रिकेट खेलको निरन्तरताका लागि नेपाल–भारत दुई देशीय आमन्त्रित टी/२० क्रिकेट प्रतियोगिताको आयोजना गरेको केपीएल ग्रुपले जनाएको छ ।
