हेटौंडा-७ लगातार दोस्रो पटक मेयर कप च्याम्पियन

हेटौंडा–१४ लाई २–० गोलअन्तरले पराजित गर्दै हेटौंडा–७ पुनः च्याम्पियन बनेको हो ।

असार १३, २०८३

सुवास विडारी

Hetauda-7 wins Mayor's Cup for the second consecutive time

मकवानपुर — उत्कृष्ट टिमवर्क र प्रभावशाली प्रदर्शनसहित हेटौंडा–७ ले लगातार दोस्रो पटक छैटौं मेयर कप फुटबल प्रतियोगिता–२०८३ को उपाधि हात पारेको छ। 

शनिबार हेटौंडा–१३ स्थित पदमपोखरी रंगशालामा भएको फाइनलमा हेटौंडा–१४ लाई २–० गोलअन्तरले पराजित गर्दै हेटौंडा–७ पुनः च्याम्पियन बनेको हो ।

प्रतिस्पर्धात्मक खेलको ३२औं मिनेटमा सुशान्त दोङले गोल गर्दै हेटौंडा–७ लाई अग्रता दिलाएका थिए। त्यसपछि ६४औं मिनेटमा जीवन लामाले अर्को गोल थपेपछि हेटौंडा–७ ले सहज जित निकाल्दै उपाधि सुरक्षित गर्‍यो ।

हेटौंडा–१३ को आयोजनामा असार ५ गतेदेखि सञ्चालन भएको प्रतियोगिताको विजेता हेटौंडा–७ ले ट्रफीसहित २ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ। उपविजेता हेटौंडा–१४ ले १ लाख रुपैयाँमा चित्त बुझायो ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी हेटौंडा–७ का सुजन लामाले २५ हजार रुपैयाँ नगद पुरस्कार पाए । यस्तै, उत्कृष्ट गोलरक्षकमा हेटौंडा–७ का विजय खड्का, उत्कृष्ट डिफेन्डरमा सुजल श्रेष्ठ (हेटौंडा–७), उत्कृष्ट मिडफिल्डरमा सुनिल गोल (हेटौंडा–७), उत्कृष्ट फरवार्डमा अनुप राना (हेटौंडा–१४) तथा उत्कृष्ट प्रशिक्षकमा नैतिक थापा (हेटौंडा–७) घोषित भए। उनीहरूले पुरस्कारबापत जनही १० हजार रुपैयाँ प्राप्त गरे।

अनुशासित खेलाडीको पुरस्कार हेटौंडा–७ का राजु लामा र हेटौंडा–१४ का प्रीतम गोङ्बा भए । उनीहरूले जनही २५ हजार रुपैयाँ नगद हात पारे।

सुवास विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Link copied successfully