फ्रान्सेली पूर्व प्रशिक्षक ट्राउसियरले जापानको हालको प्रगति प्रशंसा गर्दै ब्राजिलसँगको नकआउट खेलमा जित्न सक्ने आत्मविश्वास व्यक्त गरेका छन्।
What you should know
टोकियो —
जापानलाई के विश्वास रहने छ भने विश्वकपको अन्तिम ३२ मा ब्राजिलको सामना गर्दा उसलाई हराउन सकिनेछ ।
जापानका पूर्व प्रशिक्षक फिलिप ट्राउसियर (तस्बिरमा) के मान्छन् भने यो देशले फुटबलमा पछिल्लो समय गरेको विकासका लागि ब्राजिललाई हराउनु पुरस्कार जस्तै हुनेछ । फ्रान्सेली प्रशिक्षक ट्राउसियरकै नेतृत्वमा जापानले सन् २००२ को विश्वकप खेलेको थियो । जतिबेला जापानले दक्षिण कोरियासँग मिलेर संयुक्त रूपमा प्रतियोगिता आयोजना गरेको थियो । त्यतिबेला जापान अन्तिम १६ को चरणसम्म पुगेको थियो । यो जापानको विश्वकपमा दोस्रो सहभागिता मात्रै थियो ।
त्यसयता जापानले विश्वकपको कुनै पनि संस्करण गुमाएको छैन । यसपल्ट त जापानले खुलेर नै विश्वकप जित्न सक्ने दाबी गरेको थियो । यही जापानले सोमबार ह्युस्टनमा हुने नकआउट चरणको खेलमा ब्राजिलको सामना गर्नेछ । ट्राउसियरलाई के लाग्छ भने जापानले पाँचपल्टको कीर्तिमानी विजेताको सामना गर्दा चिन्तित हुनुपर्ने कुनै कारण छैन बरू, उल्टै आत्मविश्वासी भए हुन्छ ।
यी ७१ वर्षीय प्रशिक्षक भन्छन्, ‘फुटबलमा जे पनि सम्भव हुन्छ । जापान अहिले निकै आत्मविश्वासी देखिन्छ । यो टिममा प्रतिभाको कुनै कमी छैन । पछिल्लो केही वर्षमा जापानले प्राविधिक रूपमा धेरै प्रगति गरेको छ । अहिले जापानी खेलाडी पनि माथिल्लो स्तरमा निकै अनुभवी भएका छन् । ती खेलाडीले युरोपका ठूला क्लबबाट लगातार खेलिरहेका छन् । ब्राजिल अहिले कागजमै मात्र बलियो रहनेछ ।’
उनका अनुसार ब्राजिली टिममा अझै पनि धेरै कमजोरी छ । जापानले यसको फाइदा उठाउन सक्छ । जापानले सन् २००२ को विश्वकपका बेला ट्राउसियरलाई नियुक्त गरेको थियो । त्यतिबेला घरमै विश्वकप खेलिरहेको भएता पनि जापानी टोलीलाई कमजोर टिम मानिन्थ्यो । सन् १९९३ मा जे लिगको स्थापना गरिएको थियो । त्यो विश्वकपमा खेलेका खेलाडी सबै त्यही घरेलु प्रतियोगिताबाट उत्पादित थिए ।
ट्राउसियर रहेकै बेला युवा प्रतिभा मानिएको हिडेतोसी नाकाता र सिन्जी ओनोले विदेशमा गएर व्यावसायिक फुटबल खेल्ने मौका पाएका थिए । पछिल्लो दुई दशकमा यो प्रवत्ति ह्वात्तै बढेको छ । अहिलेको जापानी टिमका तीन खेलाडीबाहेक अरू सबै युरोपमा खेल्ने गर्छन्, विशेषतः इंग्ल्यान्ड, स्पेन र जर्मनीका क्लबका लागि । ट्राउसियरलाई जापानी प्रशिक्षक रहेकै बेला के लागेको थियो भने जापानी खेलाडीले भविष्यमा असाध्यै प्रगति गर्न सक्छन् ।
उनी भन्छन्, ‘मेरो अनुभवमा युरोप र अफ्रिकाका युवा खेलाडी जति प्रतिभाशाली छन्, जापानी खेलाडी त्यसको अगाडि कम्तीका छैनन् । सबैभन्दा ठूलो जापानी खेलाडी अनुशासित हुन्छन् । प्राविधिक रूपमा उनीहरू चनाखो पनि छन् । त्यतिबेला एउटै समस्या भनेको अनुभवको कमी थियो । अब त अनुभवको पनि समस्या रहेन ।’
उत्तरी अमेरिकामा चलिरहेको विश्वकपमा सबथोक जापानले सोचेजस्तो पनि भएको छैन । शुक्रबारकै खेलमा पनि जापान स्विडेनसँग १–१ को बराबरीमा रोकिएको थियो । जापान यसपल्ट किन पनि आत्मविश्वासी रहेको छ भने पछिल्लो अक्टोबरमा टोकियोमा सम्पन्न मैत्रीपूर्ण खेलमा ब्राजिललाई हराउन सफल भएको थियो । यो नै ब्राजिलमाथि जापानको पहिलो जित थियो ।
